+
+

सुरक्षाको माग गर्दै एन्बुलेन्स चालकहरु आन्दोलनमा

 कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ पुष ३ गते १५:१८

ambulance-andolan-butwal

३ पुस, बुटवल । अत्यावश्यक सेवाको रुपमा रहेको एम्बुलेन्सलाइ पनि बन्दको क्रममा तोडफोड गरिएको भन्दै बुटवलमा एम्बुलेन्स चालकले सुरक्षाको माग गर्दै एम्बुलेन्ससहित प्रदर्शन गरेका छन् ।

बन्दका क्रममा शनिवार साँझ बुटवलको राजमार्ग चौराहामा एम्बुलेन्समा तोडफोड भएपछि आज एम्बुलेन्स चालकहरुले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

संयुक्त एम्बुलेन्स चालक संघ लुम्बिनी अञ्चल शाखाको आहृवानमा एम्बुलेन्स सञ्चालनका लागि सुरक्षित वातावरण बनाइदिन माग गर्दै आज दिउँसो १२ देखि १ बजेसम्म बुटवलको लुम्बिनी अञ्चल अस्पताल अगाडि एम्बुलेन्ससहित प्रदर्शन भएको हो ।

बिरामी लिन जाने र पुर्‍याउने क्रममा बन्दकर्ताले एम्बुलेन्स चालकमाथि अभद्र व्यबहार गर्ने, हातपात गर्ने तथा एम्बुलेन्स नै तोडफोड गर्ने काम भएपछि एम्बुलेन्स सञ्चालन गर्न समस्या भएको संयुक्त एम्बुलेन्स चालक संघ लुम्बिनीका अध्यक्ष यदुनाथ भण्डारीले बताए ।

बन्दका क्रममा शुक्रबार बुटवलको चाँदबारी चोक र शनिबार राजमार्ग चौराहामा बन्दकर्ताले एम्बुलेन्स तोडफोड र चालक माथि दुव्र्यबहार गरेका थिए ।

‘हामी ज्यानको बाजी राखेर एम्बुलेन्स चलाउन सक्दैनौं, यसको जिम्मेबारी कसले लिन्छ ?’ संयुक्त एम्बुलेन्स चालक संघ नेपालका महासचिव मुक्ति काफ्लेले भने ।

एमाले नेता तथा पूर्व सांसद नेत्र पन्थीले एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गर्ने काम राम्रो नभएको बताउदै तोडफोडमा संलग्न हुने आफ्नै कार्यकर्ता भएपनि कारवाही हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?