+
+

बाघलाई पछार्ने भदै थारुलाई बाघकै माया लाग्न थाल्यो

टाइटानिकका हिरोले चश्मा उपहार दिएपछि मख्ख

रमेश धमला रमेश धमला
२०७३ पुष १९ गते १०:३६

 

bhadai-tharu-bardiya1

१९ पुस, काठमाडौं । बर्दियाको गौरी महिला सामुदायिक वनमा केही व्यक्तिहरु तार बार लगाउन व्यस्त थिए । जंगली जनवारको आक्रमणबाट जोगिन विद्युतीय तारबार लगाउनेहरुको एक छेउमा थिए कालो चस्मा लगाएका भदै थारु ।

झट्ट हेर्दा कालो चश्मामा ठाँटिएर तारबार लगाइरहेका भदै थारु सामान्य व्यक्ति जस्तै देखिन्छन् । तर, भदैको जीवनमा आइलागेको एउटा घटना सुन्दा जो कसैका आङ नै सिरिङ्ग हुन सक्छ ।

भदै थारु तिनै व्यक्ति हुन् जसले १३ वर्षअघि पाटे बाघसँग तीन मिनेट भीडन्त गरे । त्यसक्रममा उनको एउटा आँखा गुम्यो, तर उनी बाघसँग हारेनन् ।

यसरी भयो भिडन्त

बर्दियामा ०६० सालमा गौरी महिला सामुदायिक वन सुरुवात मात्रै भएको थियो । नजिकै रहको भारतीय जंगलबाट केही जंगली जनावर त्यहाँ आउँथे । त्यही वनमा भएका केही जनावरका कारण स्थानीयले गौरी महिला सामुदायिक वनको संरक्षण सुरु गरेका थिए ।

स्थानीयहरु ०६० साल पुस २ गते वनमा खर काट्न पुगे । त्यही टोलीमा थिए भदै थारु । दिउँसो करिब १ बजेको थियो । दायाँ वायाँ त्यति ख्याल नगरी भदै थारु काममै व्यस्त थिए । त्यही क्रममा अकस्मात उनलाई नजिकै लुकेर बसेको बाघले आक्रमण गर्‍यो । भदै थारुसँगै भएका अरु सबैको भागा भाग भयो ।

तेह्र वर्षअघिको त्यो दिन सम्झँदै भदै भन्छन् ‘मैले यादै गरिनँ, बाघले सिधै म माथि आक्रमण गर्‍यो । लोहारको घनले हानेजस्तो मलाई पञ्जाले हान्यो । सुरुमा त ढलें । नर्कमा छु कि स्वर्गमा थाहै भएन । बाघको नङ्राले मेरो आँखामा लाग्यो । लगत्तै म उठें र त्यसैसँग भिड्न थालेँ ।’

भदै भन्छन्- ‘बाघले मलाई लडाउन थाल्यो । मैले पनि मुक्काले हानेंँ । म तल, बाघ माथि थियो । मैले तलैबाट त्यसको छातीमा मुड्कीले ठोकें त्यसपछि बाघ भाग्यो ।’

लडाइँ करिब तीन मिनेटमात्रै चलेको थियो तर, बाघले हार्‍यो । अहिले मेरो एउटा आँखा छैन । तर, मैले नयाँ जीवन पाएँ । अहिले मलाई कुनै गुनासो छैन ।

टाइटानिकका हिरोले भदैलाई भेटे

विश्व वन्यजन्तु कोषले सन् २००८ मा टाइटानिक फिल्मका हिरो लियोनार्दो डी क्यापि्रयोलाई विश्वमा बाघ संरक्षणका लागि सदभाव दुत बनायो । लियो सुरुमै नेपाल आए । बाघको अध्ययन गर्न लियो बर्दिया राष्ट्रिय निकुञ्ज पुगे । त्यहीँ उनले सुने भदै थारुका बारेमा ।

खात गाविसका भदैलाई खोज्दै उनी घरमै पुगेको त्यो क्षण निकै स्मरणीय रहृयो भदै थारुका लागि ।

बाघसँग भिडन्त भएको कहानी सुनेपछि एउटा आँखा गुमाएका भदैलाई अंकमाल गर्दै टाइटानिक हिरोले उनलाई सम्मान गरे । उनी लियोसँगको भेट सम्झँदै भन्छन् ‘तपाई जस्तो महान मान्छे मैले देखेको छैन भन्दै लियोनार्दो डी क्यापि्रयोले आफैंले लगाएको चश्मा निकालेर मलाई लगाइदिनु भयो ।’

भदैले यो चश्मा विषेश ठाउँमा मात्रै लगाउने गरेको बताए ।

लियोको चश्माले भदै थारुलाई मात्रै आकषिर्त गरेन । लियोको चश्मा लगाएको भन्दै थुपै्र युवतीहरुले सँगै फोटो खिचेको प्रसङ्ग सुनाउँदा भदै दंग थिए ।

टाइटानिकको हिरोले मात्रै भदैलाई भेटेनन् । बेलायतको एउटा फिल्म मेकरको टिम नै उनलाई खोज्दै करिब ५ वर्ष अघि बर्दिया पुगेका थिए । बाघ संरक्षणकै बारेमा बनाइएको फिल्ममा भदैले बेलायतकी नायिकासँग १५ मिनेटको भुमिका निर्वाह गरे ।

बाघको आक्रमण, बाघकै संरक्षण

bhadai-tharu-bardiya2

भदै थारुले बाघसँग भिडेको १३ वर्ष भयो । सुरुमा त आफुलाई जंगली जनावरदेखि रीस उठ्ने गरेको भए पनि हिजोआज सबै भन्दा धेरै तिनकै माया लाग्ने गरेको उनी सुनाउँछन् ।

गौरी महिला सामुदायिक वनमा, मयुर, गैंडा, हात्ती, पाटे बाघ जस्ता जनावरहरु छन् । त्यसको संरक्षण गर्नु आफ्नो पहिलो कर्तव्य भएको थारुको बुझाइ छ ।

बाघ संरक्षणमा योगदान गुर्‍याएको भन्दै उनलाई केही पुरस्कारहरु पनि हात परेको छ । भारतको कटियाघाट जंगलसँग जोडिएकाले गौरी महिला सामुदायिक वनका जनावर र उताका जनावरको विशेष सम्बन्ध छ भन्छन् उनी । बाघ तथा जंगली जनावरको संरक्षणका लागि उनले एउटा गीतै रचेका छन् ।

‘खाता क्षेत्र जैविक मार्ग हरियाली बनाऔं है,
वन्यजन्तु हिँड्ने बाटोमा बाधा नपुर्‍याऔं है । ‘

भदैसँग गरिएको कुराकानी हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?