२७ पुस, ताप्लेजुङ । अदुवाको उचित मूल्य नपाउँदा ताप्लेजुङसहित पूर्व पहाडका किसानहरु मर्कामा परेका छन् । अघिल्लो वर्ष प्रतिकिलो चालिसदेखि पचास रुपैयाँमा बिक्रि भएको अदुवा अहिले प्रतिकिलो २० रुपैयाँमा बेच्न पनि मुस्किल परेको पाँचथर अमरपुरका कृषक भक्ति प्रसाद वाग्लेले बताए ।
अदुवाको मूल्यमा गिरावट आएपछि ताप्लेजुङ र पाँचथरका धेरै कृषकले अदुवा खनेका नै छैनन् भने कतिले सस्तोमा बेचिरहेका छन् । प्रतिकिलो ६० रुपैयाँमा बिउ खरिद गरी सबै खेत बारीमा अदुवा लगाए पनि विभिन्न रोगका कारण उत्पादनमा समेत गीरावट आएको र केही उत्पादन भएको अदुवाले समेत भाउ नपाउँदा आफूहरु खेती परिवर्तन गर्ने मनस्थितिमा पुगेको वाग्लेको भनाई छ ।
ताप्लेजुङको नाङ्खोल्याङ, थेचम्बु, पाँचथरको पञ्चमी र भालुचोकमा पानी पर्याप्त नहुँदा सुख्खा क्षेत्रमा कृषकले अदुवा खेती गर्दै आएका छन् । यहाँ अदुवाको खेती राम्रो हुने भएपछि जिल्ला कृषि विकास कार्यालयले केही वर्षअघि प्राविधिक र बिउमा लगानी गरे पनि पछिल्लो समय बेवास्था गरेको कृषकहरुको गुनासो छ ।
अदुवा भारतीय बजारमा निकासी हुने गरेको भए पनि यसपटक भारतबाट माग कम भएकाले बजार पाउन नसकेको स्थानीय व्यापारीको भनाइ छ । मूल्य नै नआउने भएपछि निर्यात गर्न नै समस्या परेको व्यवसायी बताउँछन् ।
प्रतिक्रिया 4