+
+

रुपन्देहीमा ३१ दल दर्ता, साढे ४ लाख मतदाता

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २३ गते १५:३०

२३ माघ, बुटवल । सरकारले निर्वाचनको तयारी गरिरहँदा रुपन्देहीमा ३१ दल दर्ताको सूचीमा परेका छन् ।

सात निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ४ लाख ५० हजारको हाराहारीमा मतदाता छन् । ४ लाख ७५ हजार फोटो सहितको मतदाता नामावलीमा संकलन गरिएकोमा १६ बर्ष उमेर पुगेका नागरिक साढे ४ लाख छन् ।

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा राजनीतिक दल दर्ता गर्ने कार्यतालिका अनुसार रुपन्देहीमा ३१ वटा दल दर्ता भएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा एक नम्बरमा ठूलो पार्टी नेपाली कांग्रेसले दल दर्ता गराएको छ । दोस्रो दल नेकपा एमालेले नौं र तेस्रो दल नेकपा माओवादी केन्द्रले पाँचौ नम्बरमा दल दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकृत हुमनाथ गौतमले बताए । उनले जनाए अनुसार दोस्रोमा राष्ट्रिय जनमोर्चा, तेस्रोमा नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक र चौथोमा सदभावना पार्टीले दल दर्ता गराएका छन् ।

जिल्लामा दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्म दल दर्ताको समय थियो ।

राप्रपाले दुई पार्टी एक भएकाले अधिवेशनपछि नामावली विवरण पठाउने भनी निवेदन दिएको छ ।

अधिकांश दलहरु दर्ता भए पनि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीले भने दल दर्ता गराएका छैनन् ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्ने बित्तिकै निर्वाचन गर्नुपर्ने भएकाले निर्वाचन आयोगले प्रक्रियागत काम थालेको जनाएको छ ।

नेपालमै धेरै दल दर्ता हुनेमध्ये रुपन्देही पनि अग्रभागमा आएको हो । तराईको जिल्ला भएकाले मधेस केन्दि्रत र केही क्षेत्रिय दलहरुका कारण दल दर्ता अन्य जिल्लाको तुलनामा बढी देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा मार्क्सवादीको दर्तामा विवाद

रुपन्देहीमा ३१ वटा मध्ये नेकपा मार्क्सवादीको नाममा छुट्टाछुट्टै कार्यसमिति विवरणसहित दल दर्ता भएकाले विवादित रहेको निर्वाचन अधिकृत गौतमले बताए ।

रुपन्देहीमा देशभक्त समाज, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नयाँ शक्ति नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल जनता पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल समावेसी पार्टी दर्ता भएका छन् ।

यसैगरी, नेकपा संयुक्त, नेकपा मार्क्सवादी, नेकपा माले, बहुजन शक्ति पार्टी, विवेकशिल नेपाली, शान्ति पार्टी, यूनाईटेड ग्रिन अर्गनाइजेशन, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल, पनि रुपन्देहीमा दर्ता भएका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, हाम्रो पार्टी, नेपाल लोकतान्त्रिक जनता कांग्रेस र नेकपा माले समाजवादीले दल दर्ता गराएका छन् ।

आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम दर्ता भएका राजनीतिक दलको जिल्लागत विवरण लिने क्रममा जिल्लामा दल दर्ता गर्न सूचना प्रकाशन गरेको थियो । जिल्लामा दर्ता भएका राजनीतिक पार्टीहरुले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् ।

केन्द्रमा दल दर्ता भएको प्रमाणपत्र र जिल्लाको कार्यसमितिको विवरण सहित राजनीतिक दल दर्ताका लागि आयोगले सूचना निकालेको थियो ।

राजनीतिक दल दर्तामा सबैभन्दा बढी काठमाडौंमा ४५ र सबैभन्दा कम मनाङमा छ वटा दल मात्रै दर्ता भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?