काठमाडौं । स्कूले जीवनदेखि नै गीत गायनमा लागेका पाँचथरका अशोक मुकारुङले साङ्गीतिक सक्रियता त्यसपछि पनि जारी राखे । सिंगापुर पुलिस फोर्समा करिब १८ वर्ष रहँदा पनि उनले सङ्गीत कर्मलाई निरन्तरता दिए ।
उनै मुकारुङले नयाँ गीति एल्बम ‘झुल्केको घाम‘ ल्याएका छन् । यसअघि उनले तीन वटा एल्बम ल्याइसकेका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव गणेश रसिकले लोकार्पण गरे । गायक तथा संगीतकार रसिकले गीतहरु सुनेपछि अशोकलाई आफूले क्षमतावान् गायकका रुपमा पाएको बताए ।
यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा कवि श्रवण मुकारुङले एल्बमका गीतहरूले अशोक साधनाबाट खारिएका प्रतिभा हुन् भन्ने प्रमाणित गरेको बताए ।
यसैगरी, गायक तथा सङ्गीतकार आभासले नेपाली सङ्गीत क्षेत्रमा दुई वटा धार रहेको उल्लेख गर्दै भने, ‘एउटा धार चरम व्यावसायिक र अर्को धार आत्मकेन्द्रित छ । अशोक दोस्रो धारमा पर्छन्, जुन धार मौलिक नेपाली गीत–सङ्गीतको धार हो ।’
कार्यक्रममा नेपाली बाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले पनि गायक तथा एल्बमका बारेमा बोलेका थिए ।
सेवा इन्टरटेन्टमेन्टले बजारमा ल्याएको एल्बममा ‘झुल्केको घाम‘, ‘लैबरी‘, ‘पानी त चिसो लगायत सात गीत समेटिएका छन् । कार्यक्रममा दुई वटा म्युजिक भिडियो देखाइएको थियो ।
एल्बमका गीतहरुमा गंगाराज मुकारुङ, गौरव गुरुङ, वसन्त थाम्सुहाङ र तुलसी बस्नेतका शब्द र वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ र सुमन राईको सङ्गीत छ ।