+
+

सम्भ्रान्त र हुनेखानेले नै खाँदैनन् हात्तीपाइलेविरुद्ध औषधि

रासस  रासस 
२०७३ चैत १९ गते ११:१४


१९ चैत, धनगढी । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ ।हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ ।

“साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्”, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले भने, “जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिन सक्छ ।”

ग्रामीण क्षेत्रका बासिन्दाले औषधि खानेदर सहरी क्षेत्रको तुलनामा बढी रहेको छ । दुई वर्ष उमेरमाथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु–कलेजो रोगी, मिर्गाैला र छारे रोगीबाहेकका सबैले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि शिक्षित सम्पन्न र हुनेखानेले नै औषधि नखाने गरेको बताइएको छ ।

चार वर्षअघिको तथ्याङ्कअनुसार कैलाली जिल्लाको कुल जनसङ्ख्यामध्ये झन्डै छ प्रतिशतमा रोगको सङ्क्रमण छ । अपाङ्गताका प्रमुख दुई कारणमध्ये दोस्रो कारण हात्तीपाइले रोग नै रहेको बताइन्छ ।

नेपालमा सन् २०२०(विसं २०७६तिर) सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्यअनुरुप रोगविरुद्धको औषधि खुवाउने अभियान सरकारले चलाउँदै आएको छ । जिल्लामा यस वर्ष यही चैत ५, ६ र ७ गते सञ्चालन भएको हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानअन्तर्गत आठ लाख १८ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएकामा बढीमा ७० प्रतिशतले मात्रै औषधि खाएको अनुमान छ ।

“गत वर्ष ६४ प्रतिशतले मात्रै यो औषधि खाएका थिए”, भट्टले भने, “यस वर्ष ७० प्रतिशतले मात्रै खाएको अनुमान गरिएको छ ।” कतिले औषधि खाएको भन्ने यकिन विवरण भने आउन बाँकी छ । हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?