+
+

को बन्दैछ प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकार ?

पत्रकार महासंघका पूर्वसभापतिसहित पौने दर्जन आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २६ गते १०:४६

२५ जेठ, काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नै लागेका बेला एकजना बरिष्ठ पत्रकारले देउवाको प्रशंसामा लेख लेखेको विषयले कांग्रेसी पत्रकार दीर्घामा खैलाबैला मच्चियो ।’बाबैले प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न मिडियामा लेख लेखेरै दरखास्त हाले’ थापागाउँस्थित प्रेस युनियनको कार्यालयमा पत्रकार महासंघका एक पूर्वसभापतिले यस्तो भने ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै कांग्रेसको कठोर आलोचना गर्दै आएका ती बरिष्ठ पत्रकार पछिल्लो समय कांग्रेसमा क्रियाशील हुन थालेका छन् । उनी रमेश लेखक नेतृत्वको स्थानीय निर्वाचन प्रचार-प्रसार समितिको सदस्यसमेत छन् ।

देउवा प्रधानमन्त्री भएपछि उनको नाम प्रेस सल्लाहकारमा एकाएक चर्चामा आएको छ । तर, बरिष्ठलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न त्यति सहजचाहिँ देखिएको छैन । किनभने नेपाल पत्रकार महासंघका कम्तिमा तीनजना पूर्वसभापति सहित करीव पौने दर्जन कांग्रेस पत्रकारहरु प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न लबिङ गरिरहेका छन् ।

कोको छन् चर्चामा ?

देउवाको प्रेस सल्लाहकारको चर्चामा पत्रकार महासंघका पूर्वअध्यक्षहरु किशोर नेपाल, शुरेश आचार्य र तारानाथ दाहालको नाम छ ।

त्यस्तै नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल विगत २० वर्षदेखि देउवाको सुख दुःखमा साथ दिएको भन्दै आफ्नो सशक्त दावी पेश गरिरहेका छन् । देउवापत्नी आरजुको समर्थन पनि सिग्देलमाथि छ ।

देउवाको प्रेस सल्लाहकारमा तरुण साप्ताहिकका प्रधान सम्पादक परशु घिमिरेको विकल्प थिएन । तर, आइजीपी नियुक्ति प्रकरणमा उनले आफ्नो पत्रिकाबाट नवराज सिलवालको पक्षमा समाचार सम्प्रेषण गरेपछि घिमिरे विरुद्ध देउवा निकटहरुले कुरा लगाएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न गोरखापत्रका नवौं तहका कर्मचारी बसन्तप्रकाश उपाध्याय र रेडियो नेपालका पूर्व कर्मचारी कृष्ण केसीले पनि लविङ गरिरहेका छन् । रेडियो नेपालका समिरजंग शाह, अन्नपूर्ण पोष्टका गोविन्द परियार पनि प्रधानमन्त्रीको सल्लाहकारको चर्चामा छन् ।

समिरजंग शाहले आफू पत्रकार महासंघको अध्यक्ष उम्मेदवार बन्नका लागि पनि बद्री सिग्देललाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार बनाउन लबिङ गरिरहेको युनियनका एक नेताले बताए । प्रेस सल्लाहकारका आकांक्षीहरुमध्ये केहीलाई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान, पब्लिक सर्भिस ब्रोडकास्टिङ, पत्रकार महासंघ लगायतका बिभिन्न ठाउँमा प्याकेजमै मिलाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाका अधिकांश निर्णयहरु विधि विधान र संस्थागत परिपाटीभन्दा पनि शक्तिकेन्द्रबाट निर्धारण भए अनुसार हुने गरेकाले अहिले चर्चामा भएकाहरु कोही पनि आश्वस्त हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?