+
+

कसरी रहने सधै स्वस्थ्य र खुसी ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १६ गते १५:३७


अहिले अधिकांसको घर मेडिकल स्टोर जस्तै भइसकेको छ । घरमा कुनै न कुनै रोगको औषधी भण्डारण गरिएको भेटिन्छ । कसैलाई मधुमेहले गाँजेको छ, कसैलाई उच्च रक्तचापले । कोहि युरिक एसिडको सिकार छन्, कोहि थाइराइडको । सामन्य रोग, बिमार, रुँघा, ज्वरोले कसै न कसैलाई सताएकै छ ।

किन यस्तो भएको छ त ?

यसको खास कारण हाम्रो जीवनशैली नै हो । मीठो मसिनो खानुपर्ने तर, शारीरिक काम गर्न जाँगर नचल्ने । आरमसाथ बस्न मन लाग्ने, मोज मस्ती गर्नुपर्ने हाम्रो बानीले हामीलाई रोगी बनाएको छ । खानपान र जीवनशैलीको कारण हाम्रो शरीर जीर्ण, कमजोर र रोगी हुँदैछ ।

कसरी हुने स्वस्थ्य र तन्दुरुस्त ?

स्वस्थ्य र तन्दुरुस्त हुनका लागि अनुशासित जीवनशैली अपरिहार्य छ । निश्चित समयमा सुत्ने, निश्चित समयमा खाने, निश्चित समयमा उठ्ने जस्ता दिनचर्या पालना गर्नैपर्छ । त्यसबाहेक स्वास्थ्यलाई प्रतिकुल हुने खानेकुरा सेवन गर्नु हुन्न । स्वस्थ्य दिनचर्या, सन्तुलित भोजन र सकारात्मक सोंचले हामीलाई स्वस्थ्य, तन्दुरुस्त र जवान बनाउँछ ।

कस्तो खानपान ?

यस्तो खानपान गर्नुपर्छ, जो स्वस्थ्यकर होस् । मौसमी फल, मौसमी सब्जी, साग, दुध, दही, अंकुरित अन्न, सलाद जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।
यद्यपी राम्रो खानेकुरा भन्दैमा अधिक खानु उचित हुँदैन । किनभने हरेक खानेकुराबाट बेग्लेबेग्लै पोषण तत्व प्राप्त हुने हो । अतः हाम्रो शरीरलाई आवश्यक पोषण तत्व अनुरुप सन्तुलित मात्रामा खानेकुरा सेवन गर्नुपर्छ । भिटामिन, खनिज लवण, फाइबर जस्ता तत्व सामेल हुनुपर्छ ।

नियमित र सन्तुलित

खाना सन्तुलित हुनुपर्छ र खाने तालिका पनि नियमित हुनुपर्छ । एवं हरेक दिन सहि समयमा खानेकुरा सेवन गर्नुपर्छ । एकसाथ धेरै खानेकुरा होइन, पटक पटक सहि मात्रामा सेवन गर्नुपर्छ । एकसाथ धेरै खाानेकुरा सेवन गर्दा पाचन प्रणालीमा असर गर्ने त छँदैछ, यसले मोटोपन बढाउनका साथै कलेजोलाई समेत हानी गर्छ ।

पर्याप्त पानी

पानी एवं तरल पदार्थ, फलको जुस, दुध, दही, कागति पानी, नरिवल पानी पर्याप्त पिउनुपर्छ । यसले शरीरमा पानीको मात्रा कम हुन दिदैन । साथै छालालाई चम्किलो र स्वस्थ्य राख्छ । शरीरको दुर्गन्धलाई बाहिर निकाल्छ ।

नियमित व्यायाम

सूर्योदयभन्दा अघि उठ्नु स्वास्थ्यका हिसावले एकदमै राम्रो मानिन्छ । बिहान उठ्नसाथ मनतातो पानी पिउने, फ्रेस भइसकेपछि व्यायाम गर्ने, मनिङवाक जाने जस्ता क्रियाकलापलाई नियमित बनाउनुपर्छ । योगासन गर्नुपर्छ । प्राणायाम, ध्यान गर्नुपर्छ । यसले शरीरलाई रोग प्रतिरोधात्मक बनाउँछ । लचिलो बनाउँछ । फुर्तिलो बनाउँछ । बलियो बनाउँछ । साथै हामी दिनभर फुर्तिलो महसुष गर्न सक्छौ ।

गहिरो निन्द्रा

शरीर एवं मनलाई स्वस्थ्य राख्नका लागि प्रपितदिन लगभग ७ घण्टाको गहिरो निन्द्रा आवश्यक हुन्छ, वयस्कका लागि । यदि राम्ररी सुत्न पाइएन भने त्यसले दिनभर शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन । यसले रोग समेत निम्याउँछ ।

कसरी पाउने गहिरो निन्द्रा ?

सुत्ने कोठा यस्तो हुनुपर्छ, जहाँ निन्द्रा विथोल्ने कुनै चिज हुनुहुँदैन । कोठामा टिभी, कम्प्युटर राख्नु हुँदैन । सुत्ने कोठा शान्त हुनुपर्छ । हावा खेल्ने हुनुपर्छ । सुत्नुअघि हल्का व्यायाम गर्नुपर्छ । ओछ्यानमा पसेपछि कुनैपनि तनाव लिनुहुँदैन । मनमा कुरा खेलाउनु हुँदैन । बरु केहि समय ध्यान गर्नुपर्छ ।

खाने र सुत्ने तालिका

खाना खानसाथ तुरुन्तै सुत्नु हुँदैन । सकेसम्म साँझ घाम अस्ताउनुअघि नै रातको खाना खाइसक्नुपर्छ । के भनिन्छ भने, घाम अस्ताइसकेपछि खाइने खाना विष समान हुन्छ । साथै रातीकालिन भोजन हल्का र सुपाच्य हुनुपर्छ ।

रातको खाना खाने र सुत्ने समयमा तीन घण्टाको अन्तर हुनुपर्छ । खाना खाइसकेपछि बाहिर टहल्नु राम्रो मानिन्छ ।

बिहान सूर्योदयअघि नै उठ्नुपर्छ । त्यसबेला वायुमण्डलमा चल्ने हावा हाम्रो स्वास्थ्यका लागि निकै लाभदायक हुने बताइन्छ । त्यसबेला चल्ने हावालाई प्राणवायु समेत भनिन्छ ।

सकारात्मक सोंच

खुसी हुनु वा स्वस्थ्य हुनुको साइनो हाम्रो मन र मस्तिष्कसँग पनि जोडिएको छ । त्यसैले स्वस्थ्य जीवनको लागि सकारात्मक सोंच अपरिहार्य हो । सकारात्मक सोंचले मानिसलाई सुखी र खुसी राख्छ ।

त्याग्नुपर्ने कुरा

१. मीठो मसिनो खाने चक्करमा तारेको, भुटेको, मसलेदार खानेकुरा सेवन गर्दा पाचन प्रणालीमा समस्या हुन्छ ।

२. मिठाई, कोल्ड डि्रंक, चिया-कफी, जंक फ्रूड आदि खानेकुरा पचाउन गाह्रो हुने मात्र होइन, त्यसले शरीरमा नकारात्मक प्रभाव पनि पार्छ । यस्ता खानपानले उच्च रक्तचाप, कोलोस्टोर, मधुमेह, मोटोपन, हृदय रोग आदिको खतरा हुन्छ । साथै ग्याष्ट्रिक, एसिडिटी, अल्सर, पखला लाग्ने, कब्जियत हुने समस्या हुन्छ ।

३. सेतो चिज, जो हामी दैनिक उपभोग गरिरहेका हुन्छौ, त्यसलाई मन्दविषको रुपमा लिइन्छ । जस्तो कि, चिनी, मैदा, नुन, रिफाइन्ड चामल स्वास्थ्यमैत्री हुँदैन । यसको अधिक सेवनले मधुमेह, उच्च रक्तचाप, हृदयरोगको संभावना बढाउँछ ।

४. हाम्रो सबैभन्दा ठूलो सत्रु हो, तनाव । तनावले मन खिन्न बनाउँछ, दुखी बनाउँछ । झगडा निम्त्याउँछ, रोग निम्त्याउँछ । सायदै मानिस होलान्, जसलाई तनाव छैन । यद्यपी तनाव छ भन्दैमा त्यसलाई लिने कि नलिने भन्ने कुरा महत्वपूर्ण हो ।

५. तनाव लिनु वा तनावग्रस्त हुनु कुनै समस्याको समाधान होइन । तनाव लिने होइन, आशावादी हुनुपर्छ । सुखी र खुसी रहने उपायहरुको खोजी गर्नुपर्छ ।

६. हामी रमाइलो गर्ने वाहानामा मदिरा पिउँछौ, चुरोटको सर्को तान्छौ । यस्ता नसालु पदार्थ सेवन गरेर मनोरञ्जन लिने बानी त्याग्नुपर्छ । यसले सम्पति त उडाउँछ नै, स्वास्थ्य पनि खराब गर्छ । मदिरा र चुरोटकै कारण शरीरमा भयानक रोग लाग्न सक्छ ।

७. नकारात्मक भावना, इष्र्या, डाहा, अति महत्वकांक्षा आदि त्याग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?