+
+

कमल थापामाथि पशुपतिका ६ आरोप, राप्रपाको मूलधार राप्रपा प्रजातान्त्रिक भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २३ गते १९:१७

२३, साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले आफू नै राप्रपाको मूलधार भएको दाबी गरेको छ ।

राप्रपाका नेता पशुपतिशम्शेर राणाले आइतबार आफ्नो नेतृत्वमा राप्रपा प्रजातन्त्रिक गठन गरेका थिए । राप्रपा अध्यक्ष कमल थापाले स्वच्छाचारी ढंगले पार्टी चलाएकाले नयाँ पार्टी गठन गर्नु परेको अध्यक्ष राणाले बताएका छन् ।

‘पार्टी एकीकरण हुँदा कुनै एउटा पार्टी अर्कोमा विलय भएको होइन, एकीकरण भएको हो’ पार्टी एकतावद्ध ढंगबाट अगाडि बढोस् भनेर आफूले सहज रुपले नेतृत्व हस्तान्तरण गरेको भन्दै राणाले भनेका छन्, ‘तर, सहज नेतृत्व हस्तान्तरणलाई कमजोरीका रुपमा लिएर पार्टीलाई विजय भएको जस्तै गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गर्ने धृष्टता गरियो ।’

राणाले थापामाथि ६ आरोप लगाएका छन् । पार्टी सञ्चालन एकीकृत पार्टीका नेता कार्यकर्ताको भावना अनुसार नभएको कमल थापामाथि पहिलो आरोप छ । त्यही कारण स्थानीय चुनवमा अनपेक्षित हार व्यहार्नु परेको भन्दै उनले भनेका छन्, ‘वर्तमान पार्टी नेतृत्वले जनताको विश्वास गुमाइसकेको छ ।’

थापाकै नेतृत्वमा बस्दा प्रदेश र संघको चुनावमा पार्टी झन ध्वस्त हुने भन्दै राणाले राष्ट्रवादी प्रजातान्त्रिक मुलधार समातेको ताजा विचारसँग अघि बढ्नु अनिवार्य भइसकेका दाबी गरेका छन् ।

दोस्रो आरोप छ, व्यक्तिगत लहडलाई प्राथमिकता दिइयो । पार्टी सामुहिक नेतृत्वबाट चल्ने लगायतका सहमपति व्यवहारमा कार्यान्वयन नभएको राणाको आरोप छ । ‘सरकारमा सहभागिता जस्तो महत्वपूर्ण विषयहरुमा निर्णय गर्दा राष्ट्रिय हित र पार्टी हित भन्दा व्यक्तिगत हलड र स्वार्थलाई प्राथमिकता दिने परिपाटी बसालियो’ उनले भने ।

एकीकृत पार्टीको चुनाव चिन्ह हलो राख्ने अनौपचारिक सहमतिलाई वलपूर्वक लत्याएको राणाको तेस्रो आरोप छ । मधेसको मुद्दालाई सत्ता स्वार्थसँग जोडेर प्रस्तुत गरिएको अर्को आरोप छ । उनले भनेका छन्, ‘अब हामी मधेसका जनता र कार्यकर्तासँग काँघमा काँध मिलाएर मधेसी जनताका समस्या समाधान गर्न अघि बढ्छौं ।’

पार्टी विधान अनुसार निर्देशक समिति नबनाएको राणाको आरोप छ । पटक पटक आग्रह गर्दा पनि पार्टी स्वच्छाचारी ढंगले चलाउने नियतले नै निर्देशक समिति नबनाएको उनको दाबी छ ।

राप्रपा र राप्रपा नेपालको एकता भएपनि विलय झै व्यवहार गरेको र पार्टी स्वेच्छाचारी ढंगले चलाएको कमल थापामाथि राणाको छैटौं आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?