२७ साउन, काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएका विशिष्ट व्यक्तिहरुको समूहले शुक्रबार रिट्रीटको सिलशिलामा चन्द्रागिरी केबलकारको भ्रमण गरेका छन् ।
अनौपचारिक भ्रमणको क्रममा रहेको समूहलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए ।
अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महारा, भुट्नीज विदेश मन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्री च्वेँ टेँले नेतृत्व गरेका थिए ।
भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीहरुले चन्द्रागिरी आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रिया दिँदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको बताए ।
चन्द्रागिरी भ्रमणबारे प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री महराले चन्द्रागिरी हिल्स लिमिटेडले नेपालको पर्यटकीय विकासमा ठूलो योगदान पुर्याएको बताए ।