+
+

दलित महिलाको पीडा- डोकोमा दुई महिने छोरो बोकेर चन्दा उठाउँदै

अनिल खत्री अनिल खत्री
२०७४ भदौ २७ गते १७:१२

२७ भदौ, गुल्मी । गुल्मी मदाने गाउँपालिकाकी मनी परियारले दुई महिनाअघि पाचौं सन्तानको रुपमा छोरा जन्माइन् । चार छोरीपछि छोरा पाएको बिपन्न परियार परिवार कम्ता खुसी थिएन । तर दैवले उनीहरुको खुसी धेरै दिन देख्न दिएन । भदौ ७ गते उनका श्रीमान रनबहादुर परियारको मृत्यु भएपछि यो परिवारको बास्तविक दुःखका दिन सुरु भयो ।

परियारको ओत लाग्ने एउटा घर र राम्रो अन्न फले एक महिनालाई खान पुग्ने जमिन छ । ज्याला मजदूरी गरी घर धानेका श्रीमानको मृत्यु भएपछि मनी परियार अहिले २ महिनाको छोरा बोकेर खानेकुराको जोहो गर्न गाउँमा माग्दै हिड्नुपरेको छ ।

‘घरको मुली खाँबो नै ढल्यो,’ मनीले भावुक हुँदै दुःख पोखिन्, ‘यो चिल्ली र बिल्ली कसरी चित्त बुझाउँ ।’ ६ वर्षको अन्तरमा ४ छोरीहरु छन् उनका ।

मिठो मसिनो खाने र आराम गर्ने बेला मनी बच्चा डोकोमा बोकेर गाउँ चहार्नुपरेको छ । ‘मैले नमागे कस्ले माग्ने ? ७५ बर्षे बुढी सासु र चार छोरी कसरी पाल्ने ।’ किरिया उम्केको अर्को दिनबाट उनी बाँच्नकै लागि बच्चा बोकेर गाउँ डुलेकी हुन् ।

सुत्केरी भएपनि घरमा केहि छैन, माग्दा जे दिन्छन् त्यहि खान्छिन । गरिवीको चरम अवस्था व्यहोरेकी उनी सुत्केरी भएको सातापछिबाटै मेलापातमा निस्किएकी थिइन् । जनचेतनाकै अभावका कारण उनलाई धेरै सन्तान जन्माउँदाका बेफाइदाको पत्तो थिएन् ।

गाउँलेले चन्दा उठाएर उनलाई किरियाबाट उम्काएको स्थानीय व्यापारी मोतिलाल केशीले बताए । ‘न गर्ने मान्छे, न फल्ने बारी, श्रीमान पनि मरे,’उनले भने,’त्यो दर्दनाक अवस्था देखेर मैले पनि खाताको पैसा छुट दिएँ ।

चारमध्ये माइली छोरी स्कुल जान थालेकी छन् । तर ६ बषिर्या छोरीले पनि स्कुलको मुख देखेकी छैनन् । ‘जेठी स्कुल गए अरु केटीहरु कस्ले हेर्ने ?’उनले भनिन’ उसले बहिनीहरु हेर्थी, हामी काममा जान्थ्यौं ।’

अहिले त्यो बिपन्न परिवारका लागि समुदाय स्तरबाट सहयोग जुटाउने क्रम चलिरहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट बिष्णु भुसालले बताए । आफ्नो संस्थामा कार्यरत सवै कर्मचारीको तर्फबाट नगद र संस्थाको तर्फबाट परिवारका सवै सदस्यको निशुल्क उपचार गर्ने बारेमा छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?