Comments Add Comment

‘गोरेटो गोरखा’ले भूकम्पपीडितलाई झुक्कायो

३ असोज, गोरखा । जिल्लामा रहेको गोरेटो गोरखा नामक गैरसरकारी संस्थाले सौरपानीका भूकम्प पीडितलाई जस्तापाता वितरण गर्छु भन्ने आश्वासन दिएर झुक्काएको पीडितहरुले गुनासो गरेका छन् । जस्तापाता बाँड्ने आश्वासन दिएको दुई वर्ष बितिसक्दा समेत वितरण नहुँदा पीडितहरु अन्यौलमा परेका छन् ।

भूकम्प गएको वर्ष अक्सफार्म नामक आइएजीओसँगको सहकार्यमा गोरेटो गोरखाले सौरपानीका सबै भूकम्प पीडितहरुलाई प्रतिघरधुरी १८ थान जस्तापाता दिने आश्वासन दिएको थियो । तर अहिलेसम्म सबै पीडितले जस्तापाता पाएका छैनन् ।

जस्तापाता वितरणमा पक्षपात

साविकको सौरपानी गाविसमा रहेको ९ वटै वडाका भूकम्प पीडितलाई जस्तापाता बाँड्ने भनेपनि गोरेटो गोरखाले पीडितहरुलाई पक्षपात गरेको छ । अन्य वडाका पीडितलाई जस्तापात वितरण गरेपनि वडा नम्वर ४, ५ र ६ का पीडितहरुलाई भने गोरेटोले वितरण गरेको छैन । ‘भूकम्प गएकै वर्ष गोरेटो गोरखाले सबै वडाका पीडितहरुलाई जस्तापाता बाँड्छु भन्यो,’ साविकको वडा नम्वर ६ का स्थानीय धन कुमार तामाङले भने, ‘तर वडा नम्वर ४, ५ र ६ का पीडितहरुलाई भने अहिले सम्म बाँडेको छैन ।’

वडा नम्वर ४ मा केहीले जस्तापाता पाएपनि अधिकांश पीडितले नपाएको उनले बताए । ‘वितरण गरेको ठाउँमा पनि पहिले १८ वटा जस्तापाता दिन्छु भनेको थियो तर कुनैलाई १४ वटा कुनैलाई १६ वटा बाँडेको छ,’ तामाङले भने ।

गोरेटो गोरखाको मनोमानीका कारण उक्त क्षेत्रका करिव चार सय पीडित घरधुरी जस्तापाता पाउनबाट बन्चित छन् । ‘पहिले समान रुपले सबैलाई बाँड्छु भनेर आश देखायो तर हामीले अहिलेसम्म पाएका छैनौं,’ साविकको वडा नम्वर ६ का पूर्व वडा संयोजक सुक बहादुर तामाङले भने, ‘किन नबाँडेको भनेर सोध्यो भने यो वर्ष भएन अर्काे वर्ष भन्दै टार्दै आएको छ ।’ पहुँचको आधारमा जस्तापाता वितरण भएको उनको आरोप छ ।

जस्तापाता वितरण गर्ने आश्वासन दिएको गोरेटो गोरखालाई जस्तापाता वितरण गर्न बारम्वार आग्रह गरेपनि बेवास्ता गरेको पीडितको गुनासो छ ।

‘भूकम्पपीडितलाई सहयोग गर्ने बहाना बनाएर ल्याएको पैसा पनि पुरै खर्च गरेको छैन,’ स्थानीय निरुता तामाङले भनिन्, ‘पहिले सबैलाई बाँड्छु भनेर रकम ल्याउने अनि अहिले कुनै वडामा बाँड्ने कुनैमा नबाँड्ने गरेर पक्षपात गर्न मिल्छ ?’ सबै पीडितलाई समान व्यवहार गर्न उनले आग्रह गरिन् ।

गोरेटो गोरखाका कार्यक्रम संयोजक पुरुषोत्तम ढकालले भने सौरपानीको माथिल्लो बेल्टबाट जस्तापाता वितरण गर्न शुरु गरेको र सबै ठाउँमा दिन नसकेको बताए । अक्सफार्म नामक आइएनजीओले भने बाख्रा वितरण गरेको पीडितलाई मात्र जस्तापाता वितरण गर्ने योजना अनुसार काम गरेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment