+
+

मोबाइल अपरेटिङ सिस्टम बन्द गर्दै माइक्रोसफ्ट, विन्डोज १० प्रमुखले समेत एन्ड्रोइड फोन बोक्न थाले

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २४ गते १२:२१

माइक्रोसफ्ट कम्पनीले आफ्नो स्मार्टफोन अपरेटिङ सिस्टमको महत्वकांक्षा त्याग्ने निर्णय गरेको छ ।

कम्पनीको विन्डोज १० अपरेटिङ सिस्टमका प्रमुखले एक ट्विटमार्फत यस अपरेटिङ सिस्टमको मोबाइल संस्करणका लागि नयाँ फिचर र हार्डवेयर विकास गर्ने कार्यमा अब केन्द्रित नहुने प्रष्ट पारेका छन् ।

विन्डोज १० प्रमुख जोए बेलफायोरले आफूले समेत एन्ड्रोइड मोबाइल प्रयोग गर्न थालेको खुलासा गरेका छन् ।

विन्डोज १० मोबाइलले कम्प्युटर र फोन दुबैमा चल्ने एउटै विश्वव्यापी एपहरु प्रयोग गर्ने मौका दिएर प्रयोगकर्तालाई आफुतर्फ आकर्षित गर्न खोजेको थियो, तर ऊ सफल हुन सकेन ।

विश्वको स्मार्टफोन अपरेटिङ सिस्टम मार्केटमा विन्डोज अपरेटिङ सिस्टमको हिस्सा अहिले केवल ०.०३ प्रतिशत मात्र रहेको छ । अहिले बजारमा विन्डोज टेनबाट चल्ने खासै धेरै स्मार्टफोन छैनन् । त्यसैले यो अपरेटर्स तथा रिटेलर्सका लागि खासै आकर्षक बन्न नसकेको मार्केट इन्टेलिजेन्स कम्पनी आइडिसीले जनाएको छ । साथै विन्डोज अपरेटिङ सिस्टमले प्रयोगकर्ताका लागि एन्ड्रोइड र आइओएसले जस्तो सुविधा र फिचर समेत उपलब्ध गराउन सकेन ।

विन्डोज १० प्रमुख बेलफिओरले आइतबार देखि चरणबद्ध रुपमा ट्विट गरिरहेका छन् र उनले यसक्रममा एन्ड्रोइड र आइओएसका लागि जारी गरिएको माइक्रोसफ्ट एज वेब ब्राउजरको नयाँ संस्करणका बारेमा चर्चा गरेका छन् ।

विन्डोज १० मोबाइल अपरेटिङ सिस्टमबारेको ट्विटेहरुको प्रश्नको जवाफ दिँदै उनले अहिले विन्डोज अपरेटिङ सिस्टम प्रयोग गरिरहेका प्रयोगकर्तालाई कम्पनीले सेक्योरिटी अपडेट तथा बग फिक्सिङ लगायतमा सहयोग गर्ने भएपनि अब यस अपरेटिङ सिस्टमका लागि नयाँ फिचर र हार्डवेयर उत्पादन गर्ने कुरा कम्पनीको प्राथमिकतामा नपर्ने बताए । साथै उनले हार्डवेयरको विविधताका लागि आफुले एन्ड्रोइड फोन प्रयोग गर्न थालेको खुलासा गरे ।

विन्डोज फोनका लागि विश्वव्यापी एप निर्माण गर्न अन्य कम्पनीहरुलाई सहयोग गर्ने कार्यमा निकै कडा मेहेनत गरिएको र कतिपय अवस्थामा उनीहरुको नाममा सफ्टवेयर समेत लेखिदिएता पनि विन्डोज मोबाइल अपरेटिङ सिस्टमका प्रयोगकर्ता निकै कम भएको उनले उल्लेख गरेका छन् ।

स्मरण रहोस् यसअघि माइक्रोसफ्टका संस्थापक बिल गेट्सले समेत आफुले विन्डोज फोनको साटो एन्ड्रोइड फोन प्रयोग गर्न थालेको बताएका थिए । साथै एचपी कम्पनीले समेत अब विन्डोज १० मोबाइल ह्याण्डसेट उत्पादन नगर्ने घोषणा गरेको थियो ।

उता बेलायतको विलेफक्स र जर्मनीको ट्रेकस्टरले भने विन्डोज १० अपरेटिङ सिस्टमयुक्त नयाँ मोबाइल फोन हालैमात्र सार्वजनिक गरेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?