२६ असोज, डोटी । राष्ट्रपति बिद्यादेवी भण्डारीले डोटी सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको दर्शन गरेकी छन ।
देशका बिभिन्न स्थानहरुको भ्रमण गर्ने क्रममा जुम्ला हुँदै बुधवार सुदूरपश्चिम पृतना मुख्यालय दिपायल पुगेकी राष्ट्रपति भण्डारीले बिहीबार शैलेश्वरी दर्शन गरेकी हुन ।
कडा सुरक्षा व्यवस्था सहित मन्दिर क्षेत्रमा पुगेकी भण्डारीले शैलेश्वरी मन्दिरमा पुजा अर्चना गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं मन्दिरका पुजारी प्रेमशंकर भट्टले जानकारी दिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले शैलेश्वरी क्षेत्रमा हालै निर्माण भएको खानेपानीको धाराको पनि उद्घाटन गरेकी छन ।
समितिले आफ्नै लगानीबाट मुहान खरीद गरि ल्याइएको धारामा सधैंभरी पानी आईरहने समितिका अध्यक्ष भट्टले बताए ।
शैलेश्वरी मन्दिर पुग्नु अघि राष्ट्रपति भण्डारी प्रसिद्ध पर्यटकीय एवं धार्मिक स्थल खप्तड पुगेकी थिइन् ।
खप्तड क्षेत्रका त्रिवेणी धाम, खप्तड बाबाको आश्रम, सशस्त्रलिङ्ग लगायतका क्षेत्रको भण्डारीले दर्शन गरेकी थिइन् ।
राजधानीको माग गर्दै ज्ञापन पत्र
राष्ट्रपति भण्डारीको डोटी भ्रमणको अवसर पारी प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग गर्दै डोटीको दिपायल सिलगढी नगरपालिकाले ज्ञापन पत्र बुझाएको छ ।
शैलेश्वरी मन्दिर क्षेत्रमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा नगरपालिकाका प्रमुख मञ्जु मलासीले राष्ट्रपति भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा राणाकालीन ससमयमा चार गौंणा मध्ये पश्चिम गौणाको प्रशासनिक केन्द्र डोटीमा रहेको र साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि डोटीमै भएका कारण ऐतिहासिक रुपमा डोटी नै राजधानी हुनु पर्ने माग गरिएको छ । ‘भौगोलिक रुपमा प्रदेश नं. ७ का नौ जिल्लाको केन्द्र बिन्दु डोटी नै हो’ ज्ञापन पत्रमा भनिएको छ ‘खप्तड क्षेत्रको प्रमुख प्रवेशद्वार, पश्चिम सेती परियोजनाको केन्द्र पनि डोटी नै भएका कारण राजधानीका लागि डोटी नै उपयुक्त हो ।’
ज्ञापन पत्रमा सरकारी जमीन र सरकारी भौतिक संरचनाहरु डोटीमै बनेका र उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेशस्तरीय कार्यालय र प्रहरीको प्रदेशस्तरीय कार्यालय डोटीमै स्थापना भईसकेकाले डोटी राजधानीका लागि भूमिका निर्वाह गरिदिन हुन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।
राष्ट्रपति हेर्न महिलाको भुइचो
गणतन्त्रको स्थापनापनि पहिलो पटक राष्ट्र प्रमुख आफ्नै जिल्लामा आउने भएपछि स्थानीयवासीहरु राष्ट्रपति हेर्न ओईरिएका थिए ।
कडा सुरक्षा घेरामा स्थानीय टुँडिलेखबाट मन्दिर परिसरसम्म आउजाउँ गर्दा स्थानीयहरुले टाढैबाट भण्डारीको स्वागतका लागि हात हल्लाउँदै ताली बजाएका थिए । जवाफमा राष्ट्रपति भण्डारीले पनि हात हल्लाएकी थिइन ।
महिला राष्ट्रपति भएका कारण होला पुरुष भन्दा महिलाहरुको संख्या उल्लेख्य रहेको थियो ।