+
+

कविता–छिमेकी

निरज दाहाल निरज दाहाल
२०७४ असोज २८ गते १३:११

साँधको निहुँमा झगडा परेको थियो
त्यसपछि
मेरो छिमेकी छिमेकी कहिल्यै भएन

मेरो सिमानामा उम्रिएको
अम्बाको हाँगा
उसको सिमानालाई छुदा
मेरो छिमेकी खुकुरी बोकेर आयो

मेरो सुकेको खेतलाई पानी चाहियो
उसको खेतको समाबाट पानी चुहियो
तर म कोदालो बोकेर पुगे
किनकि,त्यो पानी मलाई मन परेन

उसले र मैले सधैं
झगडाको गुण खोजिरहयौ
त्यसैले त
तल्लो घर र माथ्लो घर कहिल्यै नजिक भएन

मेरो छिमेकी गाउँ भरीकै अब्बल
मादल बजाउन
त्यसैले त
एकादशीमा मेरो घरमा हुने किर्तनमा
कयौ बर्षदेखी मादल बिनाभजन बज्दछ

अनि म गाउँ भरीकै अब्बल
ताली बजाउन
त्यसैले त
प्रत्येक मङ्गलबार उसको घरमा हुने किर्तनमा
कयौ बर्षदेखि तालीबिना भजन बज्दछ

झगडा परेको दिन
मेरो छोरा पढ्ने स्कुलबाट
मेरो छिमेकीले
उसको छोराको नाम हटाइदियो

मेरी छोरी र छिमेकीकी छोरी
सगै बजार गएनन्

मेरो छोरा र छिमेकीको छोरा
सगै देउसी खेलेनन्

मेरी श्रीमती र छिमेकीकी श्रीमती
सगै मेलापात गएनन्

म हेर्दै थिए
अलि परबाट कोही आयो
छिमेकीको घरमा पस्यो

पुनः मेरो घर आयो र भन्यो
दाइ पैसा भए सापट पाउन
मैले पैसा भए पनि
छैन भनेर फर्काइदिए
किनकि

सर्वप्रथम
मेरो छिमेकीको घरमा पसेको थियो

उसको छोराको बिहे छ
छिमेकमा बिहेको रमझम छ
बारी भरी घाँस भए पनि
म घाँस लिन जङ्गल गए

छिमेकीले मलाई सायद
छि: मेरो छिमेकी भन्यो होला

आ भने भनोस
पोहोर साल
उसकी छोरीले सर्प देखेर कहालिदा
मैले गएर सर्प मारे
बेलुका उ घर फर्किएर पछि थाहा पायो
बरु उल्टै छोरी कुट्यो
बरु त मरेको भए बेस भन्दै
त्यही बचनले मलाई
माथ्लो घरको बिहेमा पुग्न अँह मन भएन

आकाश खस्यो
म माथि बज्रपात पर्यो
मनमा पहिरो गयो
संसारकै दुखी म भए
एक्लिए म
जब
मेरी श्रीमतीले यो संसार भन्दा स्वर्ग प्यारो मानिन्

आर्यघाटमा
मैले मेरो छिमेकीलाई पनि देखे
तब मैले मनमनै भने
वाह ! मेरो छिमेकी ।।

(बुद्धशान्ति गाउँपालिकाझापा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?