रातको झन्डै दश बजिसकेको थियो । छोरी ज्याकी र आमा जुलिया मलाई लाजिम्पाटस्थित होटल साँग्रिलाको बाहिरी ढोकासम्म पुर्याउन आए । छुटि्नुअघि मैले जुलियालाई नेपाल अनुभव लेख्नु है भनें ।
त्यसअघि त्यही दिन दिउँसो ३ बजेतिर बुद्धिस्ट संगीत र मन्त्रको संयुक्त ध्वनिले बौद्धस्तुपाको उत्तरपटि्टको मुख्य गुम्बाको वातावरण अनौठो थियो । एकसाथ चर्को र मधुरो गरी बजिरहेको ध्वनिको गहिराइमा आगन्तुकहरु हराइरहेका थिए । कोही उदासी भरिएको अनुहार लिएर मौन उभिएका थिए । कोही आँखाभरी आँशु पारिरहेका थिए ।
एक छिनलाई मैले केही दिनदेखि मसँग नेपाल घुमिरहेका डच दम्पतिलाई मात्र बिर्सिनँ, गाइडको रुपमा त्यहाँ आइपुगेको भन्ने पनि बिर्सें । म पनि त्यहाँ अरु असँख्य अपरिचित झै एक भएको थिएँ । तिनै अपरिचितहरुमाझ मैले अनायास ती जर्मन आमाछोरीलाई देखेको थिएँ ।
त्यहाँ धुन र ध्वनि, सुर र संगीत जे बजिरहेको थियो, उनीहरु त्यसैमा लहराइरहेका थिए । आँखा चिम्लेर उनीहरु कुन दुनियाँमा पुगिरहेका थिए ? म भन्न सक्दिन । तर, म भनेे त्यहाँको समग्रताभन्दा उनीहरुतिर केन्दि्रत भइसकेको थिएँ ।
अपरिचित उनीहरुलाई त्यहीँ छाडेर हामी (म र मेरा डच गेस्ट) बौद्धस्तुपा परिक्रमा गर्नतिर लाग्यौं । तर, मेरो मन भने ती जर्मन आमाछोरीकै परिक्रमा गरिरहेको थियो ।
खैरो रंगको पातलो चप्पल र रातो कुर्ता सुरुवाल लगाएका उनीहरुले टाउकोलाई नीलो सलले छोपेको थिए । गुम्बाभित्रको मधुरो उज्यालोमा उनीहरुको अनुहार अझ गाढा उज्यालो देखिएको थियो । आमाभन्दा छोरी उज्याली थिई । छोरीभन्दा आमा झन् उज्याली थिई । अनि फेरि आमाभन्दा … । यसरी यो क्रम दोहोराइरहन मिल्ने उज्याला थिए उनीहरु । उनीहरुलाई जहाँ देखेको थिएँ, त्यहीँ छाडेर हिंडेपछि त्यही उज्यालोले मलाई भित्रभित्रै पछ्याइरहेको थियो ।
एक छिनमा हामी स्तुपाको दक्षिणपट्टी रहेको गोल्डेन आइ रेस्टुरेन्टको छतको टेवलमा पुग्यौं । पहेंलिन सुरु भएको घामको उज्यालोमा बडेमानको स्तुपा निकै मोहक देखिएको थियो । उत्तरपटि्ट पहाडहरु अनेक रंगका देखिएका थिए । सबैभन्दा नजिकका पहाड हरिया, अलि पर नीला, त्यसभन्दा पर काला र सबभन्दा पछाडि सेता हिमालहरु देखिएका थिए ।
तर, हिमालभन्दा पनि सुन्दर क्षण देखें अनायास । जर्मन आमाछोरी संयोगबस् छेउको अर्को टेबलमा आइसकेछन् । त्यसपछि मेरो स्वर एकाएक अलि चर्को हुन थाल्यो । डच दम्पतिसँग मैले प्रकृति, अध्यात्म र जीवनबारे निकै गहिरा कुरा गर्न थालें । उनीहरु त माध्यम मात्र थिए । खासमा म मेरो स्वर ती आमाछोरीलाई सुनाउँदै थिएँ । स्वरमात्र होइन, शब्दहरु । शब्दमात्र होइन, सन्देश पनि ।
उनीहरुलाई मेरो सन्देश थियो, ‘म तिमीहरुसँग निकै आकषिर्त भइसकेको छु । म तिमीहरुसँग बोल्न चाहन्छु । तिमीहरुसँग बोल्न नपाएर मलाई असाध्यै छटपटी भइसकेको छ ।’
म डच दम्पतिलाई भन्दै थिएँ, ‘जीवन संयोगहरुको जमघट हो । तिमीहरु नेपाल आयौ । यो एउटा संयोग हो । मलाई भेट्यौ । यो पनि त्यस्तै अर्कै संयोग हो ।’
डच दम्पति निकै रुचिपूर्वक मेरा कुरा सुन्दै थिए । उनीहरुले रुचिपूर्वक सुनेको वा नसुनेकोमा मलाई कुनै रुचि थिएन । मेरो रुचि त जर्मन आमाछोरीप्रति थियो ।
मेरो प्रयास काम लाग्न थालिसकेछ । मैले उनीहरु बसेको टेबलमा हेरें । उनीहरु मलाई नै हेरिरहेका रहेछन् । म मुसुक्क हाँसिदिएँ । छोरी ज्याकी पनि फिस्स हाँसी । मैले हाई नभनी सुरुमै हात उठाएँ ।
‘हेलो’, हाँसेरै उसले हेलो मात्र भनिन, आफ्नो नाम पनि बताई ।
‘आई एम अशोक’, मैले हतारिएर भनें ।
‘सी इज माई मदर जुलिया’, उसले आफ्नी आमातिर देखाउँदै भनी ।
त्यसपछि मैले उनीहरु आमाछोरी हुन् भनेर थाहा पाएको हुँ । त्यसअघि उनीहरु दिदीबहिनी होलान् भन्ने सोचेको थिएँ ।
‘अघि भन्दै थिएँ नि, जीवन संयोगहरुको जमघट हो’, मैले उनीहरुसँग कुरा अगाडि बढाउने बहाना गरें ।
‘हो, हो । हामी तिम्रो कुरा सुन्दै थियौं । निकै घत लागेको थियो’, जुलियाले भनी ।
‘मेरो स्वर पनि त ठूलै थियो । त्यसैले सुन्यौ । नत्र … ‘, म पनि कुरो अघि बढाउँदै थिएँ ।
‘हो, तिम्रो स्वर ठूलो थियो । तर, त्यसभन्दा बढी शान्ति थियो यहाँ । र, अर्को कुरा तिम्रो कुरा पनि त्यस्तै थियो, जस्तो मलाई मन पर्छ’, जुलिया तत्कालै निकै खुली ।
त्यसपछि हामीले दुईटा टेवललाई जोड्यौं । टेवल जोड्ने अनुमति मात्र होइन, आग्रह गर्ने डच दम्पतिसँगै अब जर्मन आमाछोरी पनि मिसिए । हामीले सँगै कफी पियौं ।
मेरो मन नाचिरहेको थियो ।
उनीहरु तेह्र दिन अगाडि नेपाल आएका रहेछन् । भोलिपल्ट साँझ उनीहरु जर्मनी र्फकदै रहेछन् । विभिन्न देशका अरु थुप्रै मानिस उनीहरुको यो पटकको नेपाल यात्राका सहयात्री रहेछन् ।
‘यसपटक सोचे जस्तो भएन’, उसले थपी, ‘यात्रामा हामी चौध जना छौं । अरु बाह्र जना एक खालका र हामी दुई अर्कै खालका छौं । सायद उनीहरु हामीलाई मन पराउँदैनन् । त्यसभन्दा बढी हामी उनीहरुलाई मन पराउँदैनौं । उनीहरु होटलबाट घुम्ने ठाउँ जान्छन् र केही रहेनछ भन्दै तत्कालै होटल र्फकन्छन् ।’
आमा जुलियाको एक-एक कुरामा सही थापिरहेकी छोरी ज्याकीले थपी, ‘आज हामी दिउँसो चौधै जना भक्तपुर गएका थियौं । आधा घन्टा पनि उनीहरु त्यहाँ अड्न सकेनन् । होटल र्फकने जिद्धी गरे । र, त्यहाँ केही पनि नहेरी हामी सबै होटल फक्र्यौं ।’
‘यो त आजको कुरा भयो । यात्राका सबै दिन झन्डैझन्डै त्यसरी नै समाप्त भयो । पोखरामा त्यस्तै भयो । चितवनमा त्यस्तै भयो । लुम्बिनीमा त्यस्तै भयो’, निराश भए झैं जुलियाले भनी ।
‘त्यसैले हामी होटलमा उनीहरुलाई छाडेर यहाँको आध्यात्मिक शान्तिलाई महसुस गर्न आएका हौं’, बौद्ध आइपुग्नुको कारण उसले बताई ।
‘अब यसपछि होटल र्फकने हो ?’, मैले सोधें ।
‘हामी पशुपति जान चाहन्छौं । हुन त हामी हिजो नै बौद्ध र पशुपति दुवै आइसकेका थियौं’, उसले भनी ।
‘फेरि किन जानु पर्यो ?’, मैले सोधें ।
‘हिजो पैतालाले मात्र टेक्यौं । आज हामी केही बेर त्यहाँका ती सबै दृश्य हेर्न चाहन्छौं । मान्छे जलाउँदाको त्यो विशेष क्षण हेर्न चाहन्छौं । हाम्रा साथीहरुलाई हिजो त्यहाँ पुग्न नपाई होटल र्फकन हतार थियो’, जुलियाले रिसाएर भनी ।
उनीहरु लाजिम्पाटबाट ट्याक्सीमा आएका रहेछन् । मैले खोजिदिएको अर्को ट्याक्सीमा डच दम्पतिसहितको हाम्रो कारलाई पछ्याउँदै उनीहरु बौद्धबाट पशुपति आइपुगे । हामीलाई त बौद्धपछि पशुपति जानु नै थियो ।
पशुपतिको मुख्य मन्दिरको ठिक पारीपटि्टबाट आर्यघाटका सबै दृश्यहरु हेर्यौं । साँझको आरती हुन थाल्यो । आमा जुलिया भावुक मात्र भइन, उसले आँशु पनि झारी । भावुक त त छोरी ज्याकी पनि भएकी थिई ।
फेरि मैले होटलसम्म र्फकन ट्याक्सी खोजिदिएँ ।
जाँदाजाँदै ट्याक्सीको झ्यालबाट आधा टाउको बाहिर निकाल्दै जुलियाले भनी, ‘आज साँझ हामी होटलमा सँगै डिनर गरौं है ।’
‘हेरौं ? के हुन्छ ?’, मैले आलटाल गर्न खोजें ।
‘होइन, हामीचाहिं तिम्रो बाटो हेरिरहन्छौं । तिमी आउँछौ र हामी सँगै डिनर गर्छौं’, छोरी ज्याकीले हसाउँदै आदेश दिई ।
म ठमेल ओरालोको होटल इनकाउन्टरमा डच दम्पतिलाई छोड्न गएँ । भोलि फेरि उनीहरुसँग घुम्नु त छँदै थियो । त्यसपछि हतार हतार साँग्रिला होटल पुगें । उनीहरु मलाई नै कुरिरहेका रहेछन् ।
स्वागतमा आमाछोरी दुवैले हात मिलाए । र, मलाई दुवैदुवोको बगैचामा लगें । टेवलमा मुधुरो प्रकाश थियो र उनीहरुको अनुहार दिउँसो गुम्बामा झैं यहाँ पनि चम्किएको थियो । आकाशमा ताराहरु थिए । तर, मैले त्यो शीतल साँझ आकाशमा पटकपटक ताराहरु हेरिन ।
उनीहरुले मलाई बियर अफर गरे । मैले ‘हुन्छ’ भनें ।
मैले हुन्छ त भनें तर बियर खाने ममात्रै भएँ । किनभने, उनीहरु दुवै बियर खाँदा रहेनछन् । बियर मात्र होइन, माछामासु पनि खाँदा रहेनछन् ।
उनीहरुले बनाना लस्सी मगाए । लस्सीपछि डिनर पनि खाए । मैले निकै बेर लगाएर दुई बोतल बियर र तीनवटा चुरोट खाएँ । मलाई त्यो दिन घरमै भात खानु थियो । घरको भातमा जति मजा होटलको खानामा कहाँ पाइन्छ ? त्योे दिन घरकै भात खाने मुड दिउँसैदेखि चलेको थियो ।
मलाई हल्का लाग्दै थियो ।
‘अप्रिल २५, २०१५ मा तिम्रो देशमा ठूलो भुकम्प गयो’, जुलियाले भनी ।
‘अब त्यो पूरानो भइसक्यो’, मैले प्रसंगलाई त्यहीँ रोक्न खोजें ।
‘तर, भुकम्पकै कारण हामी यहाँ छौं’, ऊ त्यसैमा अड्किई ।
‘कसरी ?’, मैले सोधें ।
‘एउटा अन्तराष्ट्रिय संस्थामार्फत ज्याकीको ड्याडीले त्यति बेला नेपालका भुकम्पपिडितका लागि भनेर ठूलै रकम सहयोग गरेको थियो । धेरै महिनापछि त्यो संस्थाले उपहारस्वरुप उसलाई नेपाल टुर दियो । तर, ऊ उसको रोगका कारण प्लेन चढ्न सक्दैन । सट्टामा उसले मलाई नेपाल घुम्न जाउ भन्यो । र, छोरीलाई पनि सँगै लिएर म नेपाल आएकी हुँ । यो कम्प्लिमेन्ट्री हो । तर, ज्याकी उपहार प्याकेजमा आएकी होइन’, उसले नेपाल यात्राको भुकम्प कनेक्सन स्पस्ट पारी ।
त्यसपछि एक क्षण उनीहरु मौन रहे ।
‘तर, यति सुन्दर देशमा हामीले खासै यात्राको गहिराई नाप्न सकेनौं’, दुखी स्वरमा उसले भनी ।
‘अहिले त्यस्तो लागे पनि फर्केपछि नेपाल यात्रा तिमीहरुलाई मोहक लाग्नेछ । यात्राहरु स्मृतिमा साँच्चै मीठा हुनेछन्’, मैले पनि बियर लागेको सुरमा हल्का दिएँ ।
त्यसपछि रातको दश बजेतिर हामी छुटि्टएका थियौं । छुटि्नुअघि मैले आमा जुलियालाई नेपाल अनुभव लेख्नु है भनेको थिएँ ।
निको पर्सिपल्ट जुलियाले मलाई इमेल पठाई । इमेलमा उसले लेखेकी थिई,’प्रिय ! अशोक शुभसन्ध्या ।
काठमान्डुबाट ३ घन्टा ढिलो गरी उडे पनि हामी सकुशल जर्मनी आइपुग्यौं । नेपाल सुन्दर छ यद्यपि आफ्नो देश फर्किनु अझ सुन्दर कुरा हो । यो समय यहाँ फलफूलका रुखहरु फलले भरिएका छन् । सम्भव भएको भए फूलहरुको वासनाले मोहक बनेको यहाँको वातावरण तिमीलाई पार्सल गर्ने थिएँ । तर, यात्रा अवधिमा मैले मेरो श्रीमान र कुकरलाई धेरै मीस गरेको थिएँ ।
ज्याकी हेडलवर्ग्स्थित उसको विश्वविद्यालय फर्किसकी । आगमी ४ महिनासम्म मैले उसलाई भेट्न पाउने छैन । ऊ र म दुवै तिमीलाई ह्रदयको गहिराइदेखि धन्यवाद दिन चाहन्छौं । तिमीले हामीलाई पशुपति लग्यौ । त्यो एउटा कहिल्यै नबिर्सिइने समय भयो ।
तिम्रो भलो चाहने जुलिया ।’
त्यो उसको निकै संक्षिप्त इमेल थियो । केही दिनपछि फेरि उसले अर्को इमेल पठाई ।
‘तिमी सही रहेछौ । फर्केको केही दिनपछि जब हामीले सुन्दर तस्विर हेर्दै नेपाल यात्रा सम्झ्यौं । त्यसपछि हामीले थाहा पायौं, यात्रा कति मीठो र नेपाल कति विशेष रहेछ । नेपाल असाध्यै सुन्दर देश हो, जो प्राकृतिक सौन्दर्य, अध्यात्म र इतिहासमा धनी छ । हाम्रो दुई हप्ते नेपाल यात्राको एउटा पर्फ]{ट इन्डिङ थियो, भोजनगृहमा हामीले बिताएको अन्तिम साँझ ।
लामो समय मैले लेखिनँ । तर, ढिलै भए पनि मैले मेरो वाचा पुरा गरेको छु । तिमीले भनेका थियौं, नेपाल अनभुव लेख्नु है । तर, जब म लेख्न बसें, नेपाल यात्राका अविस्मरणीय अनुभवबारे लेख्नु झन्डैझन्डै असम्भव जस्तै लाग्यो । सन् २०१६ अपि्रलको यो यात्राबारे कहाँबाट सुरु गरुँ ? मसँग यति धेरै सुन्दर स्मृतिहरु छन्, तिनीहरु मध्ये म कुन स्मृतिलाई लेखौं ? नगरकोटको स्वच्छ पहाडी हावा खाँदै हिमालहहरु हेरेको क्षण लेखौं ? पोखराको विन्द्ययावासिनी मन्दिरमा मैले देखेको नेपाली विवाहको साक्षी हुँदाको क्षण लेखौं ? चितवनको सौराहमा हाती चढेर गैंडा हेरेको क्षण लेखौं ? सौराहमा स्थानीयसँगै मैले पनि थारु नाचमा नाचेको क्षण लेखौं ? पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गर्दा चराजस्तै उडेको क्षण लेखौं ? भाग्यवस् तिमीसँग भेट भएको एउटा गहिरो दिनबारे म लेख्न चाहन्छु ।
म र छोरी ज्याकी त्यो दिन एक घन्टा भन्दा पनि कम समयमा भक्तपुर घुमेर होटल फर्केका थियौं । तर, हामी निकै खराब मुडमा काठमान्डु फर्केका थियौं । हामीले अलि बढी समय भक्तपुरमा बिताउन चाहेका थियौं । तर, हाम्रा सहयात्री हाम्रो इच्छा विपरित थिए ।
त्यसपछि हामी ट्याक्सी लिएर होटलबाट सीधै बौद्धनाथ गएका थियौं । बौद्धनाथको विशेष अवलोकन र अनुभुतिपछि हामी एउटा रेस्टुरेन्ट गयौं । हामी छेउैको अर्को टेबलमा तीनजना मानिस दार्शनिक विषयमा गफिदै थिए । उनीहरुका सम्वादले हामीलाई उनीहरुको नजिक खिचिरहेको थियो । उनीहरु तीन जनामध्ये तिमी एक थियौ ।
हामीले कुराकानी सुरु गर्यौं । तिमीले तिम्रो समूहसँगैै मिसिएर पशुपतिनाथ जान निम्त्यायो, जुन हाम्रो नेपाल यात्राको हाइलाइट बन्यो ।
अबेर अपरान्ह गर्मी निकै शिथिल भइसकेको थियो । मन्द हावाले वातावरण निकै आनन्ददायी भइरहेको थियो । हामी छेउछाउका साना-ठूला मन्दिरहरु नियाल्दै सिंढीहरु उक्लिरहेका थियौं । तिमीले पवित्र पशुपतिको विस्तृत जानकारी दिइरहेका थियौ । मानिस यत्रतत्र आफ्नै तर अनेक सुरमा देखिन्थे । कोही काम गरिरहेका थिए । कोही प्रार्थना गरिरहेका थिए । कोही आफैलाई खोजिरहेका देखिन्थे ।
हामीले बागमती नदीको पूर्व किनारको अलि माथिबाट हिन्दु संस्कार अनुसारको अन्त्येस्टी कर्म हेर्यौं । अस्ताउँदो सूर्यको प्रकाशमा पशुपतिको रंग निकै मोहक र चमत्कारिक थियो । हामी पाँचजना सुरुमा शान्त भएर उभियौं र विस्तारै पशुपतिका ती सबै दृश्यहरु देखेर भित्रभित्रै चलायमान भयौं । हामी हुनु वा नहुनुको वोध न हामीले गर्यौं न वातावरणले । मैले महसुस गरें, म त्यही क्षणको लागि नेपाल आएको रहेछु ।
फूलहरुले ढकमक्क बगैंचामा तिमीसँग अनेक गहिरा कुराकानी गरेर हामीले त्यो साँझ बितायौं । हामी हाम्रो असल कर्मलाई धन्यवाद दिन्छौं, जसले हामीलाई जोड्यो ।
नेपाल यात्रामा हामीले मुस्कानहरु देख्यौं । जहाँ पनि हामी गयौं, मुस्कान मिसाएर मानिसहरु हामीले नमस्ते भनेर कराउँथे ।
हामी फेरि आउने छौं । नमस्ते !’
उसले त्यसपछि अरु थुप्रै इमेलहरु पठाई । चाँडै ऊ फेरि नेपाल आउँदै छे ।