२९ मंसिर, गोरखा । दुई वर्षअघिको विनासकारी भूकम्पबाट भत्किएका घरहरु पुनर्निर्माण गर्न नपाउनुको असर होमस्टेमा देखिएको छ ।
गोरखा नगरपालिका–५ पस्लाङमा ०६९ सालमा होमस्टे निर्माण गरियो । उद्योग वाणिज्य संघको अगुवाइमा निर्मित उक्त होमस्टे ०७० सालदेखि सञ्चालनमा आएको हो ।
पाहुना आउने क्रम बढ्दै थियो । स्थानीय बासिन्दासँगै बाह्य पर्यटकमाझ पनि उक्त होमस्टे लोकप्रिय बन्दै थियो । तर, पहिचान बनाउन नपाउँदै भूकम्पको धक्काले स्थानीय बासिन्दाको आम्दानीको स्रोत सुक्यो । सबै घर भत्किएपछि अहिलेसम्म व्युँतिन सकेको छैन, उक्त होमस्टे ।
घर बनाउन नसक्दा पुनः होमस्टे सञ्चालन गर्ने योजना सपनामै सीमित बनेको छ
मगर बस्ती रहेको उक्त ठाउँमा १५ घरधुरीमा होमस्टे सञ्चालन गरिएको थियो । ‘आम्दानी पनि राम्रै हुन थालेको थियो,’ स्थानीय युक्तबहादुर रानाले भने, ‘तर, भूकम्पले घर भत्कियो, पाहुना राख्ने ठाउँ पनि भएन, आउने पर्यटकलाई फर्काउन बाध्य छौं ।’
तीन वर्ष बित्न लाग्दासमेत पस्लाङ नाम्रुङका भत्किएका घरहरु पुनर्निर्माण हुन सकेका छैनन् । आर्थिक अभावका कारण घर बनाउन नसकेको धेरै पीडितको गुनासो छ । घर बनाउन नसक्दा पुनः होमस्टे सञ्चालन गर्ने योजना सपनामै सीमित बनेको सञ्चालक समितिका सचिव पूर्णबहादुर आले मगरले बताए ।
अधिकांश पीडितले पहिलो किस्ता वापत ५० हजार रुपैयाँ बुझेका छन् । तर, उक्त रकमले भग्नावशेष पन्छाउनसमेत पुग्दैन ।
ऋण खोजेर भए पनि घर बनाउने तयारीमा जुटेका छन्, स्थानीयवासी । एक वर्षभित्र सबै घर तयार भए पुनः सेवा शुरु गरिने सञ्चालक समितिका अध्यक्ष मानबहादुर राना मगरले बताए ।
उद्योग वाणिज्य संघबाट पनि कुनै सहयोग उपलब्ध नभएको स्थानीय बासिन्दाको गुनासो छ ।
स्थानीयवासी जुट्दै
सबैतिरबाट बेवास्ता भएपछि स्थानीय बासिन्दा होमस्टे पुनः सञ्चालनका लागि जुटेका छन् । घरहरु पुनर्निर्माण हुने क्रम शुरु भएको छ ।
हरेक घरधुरीमा दुईदेखि चार वटा खाटको व्यवस्था गरिएको थियो । एक घरमा चार पाहुना अटाउँथे । गाउँमै पाउने अर्गानिक खानाका परिकारबाट पाहुनालाई स्वागत गरिन्थ्यो ।
‘खानामा दाल, भात, तरकारी, लोकल कुखुराको मासु, ढिँडो, खाजामा मकै भटमास र गुन्द्रुकको स्वाद पाहुनाले चाख्न पाउँथे । ‘अरु पाहुनाको इच्छाअनुसार हुन्थ्यो,’ अध्यक्ष मगरले भने ।
मगर समुदायको संस्कृति पाउदुरे, मारुनीलगायत नाचसँगै साँझ सांस्कृतिक कार्यक्रम हुने गथ्र्याे । पाहुनालाई हिमालसँगै कोटदेवी, पश्चिमकाली, नाम्रुङ मन्दिरलगायत अवलोकन गराइन्थ्यो ।