+
+

अनिश्चितकालीन डोटी बन्द फिर्ता, क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिइने

रामहरी ओझा रामहरी ओझा
२०७४ पुष २४ गते १९:४९

२४ पुस, डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै गत बुधवारदेखि गरिएको अनिश्चितकालिन डोटी बन्द सोमवार साँझबाट फिर्ता लिइएको छ ।

सोमवार साँझ दिपायलको पिपल्लामा बसेको आन्दोलन संयोजन समितिको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको हो । बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने गरी बन्द फिर्ता लिइएको आन्दोलन संयोजन समितिको संयोजक एवं डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

‘सरकारले तत्काल अस्थायी राजधानी तोक्ने छाँट देखिएन’ खड्काले भने ‘लामो समयसम्म बन्द गरेर सर्वसाधारणलाई सास्ती हुनु भन्दा बन्द फिर्ता लिने निर्णय गरेका हौं ।’

खड्काका अनुसार यातायात, बजार, बिद्यालय, सरकारी कार्यालय सवै सञ्चालन हुन दिने निर्णय भएको छ । ‘हामीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छौं, आन्दोलन फिर्ता लिएका होइनौं’ अनलाईन खवरसँग कुरा गर्दै खड्काले भने ‘वन्दका कार्यक्रमहरु फिर्ता भए पनि हाम्रो आन्दोलन जारी छ ।’

उनले भोलीदेखि प्रत्येक दिन क्षेत्रीय प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको वताए ।

खड्काले भने, ‘दिपायल राजधानी कायम नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ, यदि सरकारले हाम्रो माग बिपरित निर्णय गर्‍यो भने आकास्मिक रुपमा बन्द, हड्तालका कार्यक्रमहरु सुरु गर्ने भन्ने निर्णय पनि समितिले गरेको छ ।’

छिमेकी जिल्लाहरुबाट पनि बन्द फिर्ता लिन आग्रह भएको र बिद्यालयमा पनि बन्दका कारण पठनपाठनमा बाधा भएको कुरा ध्यानमा राख्दै आफूहरु बन्द फिर्ता लिने निश्कर्षमा पुगेको खड्काको भनाई छ ।

गत पुष १२ गते देखि सुरु भएको शान्तिपूर्ण आन्दोलन गत मंगलबार सरकारले प्रदेश नं. ७ को राजधानी कैलालीको धनगढी तोक्ने गरी तयारी गरेको खबर बिभिन्न सञ्चारमाध्यममा आएपछि अनिश्चितकालीन बन्दको घोषणा गरिएको थियो । बन्दका कारण जिल्लाका पसल, शिक्षालय, सरकारी कार्यालय, यातायात सवै ठप्प भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?