फाइल फोटो९ माघ, दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र नैतिकताको पाठ सिकाउन आफूले कुनै लाभको पदमा उम्मेदवारी नदिएको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै ज्ञवालीले पार्टीभित्र सत्ता र पदको लोभ गर्ने प्रवृत्ति बढ्दै गएको बताए । ‘म यसअघि सांसद र मन्त्री भइसकेको छु, फेरि पटक पटक लाभको पद एउटै व्यक्तिले लिनुपर्छ भन्ने मान्यताको म खरो विरोधी हुँ,’ उनले भने, ‘पार्टी भित्र सबैले आलोपालो अवसरको उपभोग गर्नुपर्छ ।’
पार्टीभित्र धनवाद र डनवाद मौलाएको उल्लेख गर्दै ज्ञवालीले यो प्रवृत्तिले पार्टीलाई ठीक ढंगले अघि बढाउन नसक्ने दावी गरे । ‘पार्टीमा इमान्दारहरुको उचित मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘म सत्ता र अवसरको दौड भन्दा बाहिर छु, पार्टीभित्र इमान्दारहरुको उचित सम्मान हुनुपर्छ ।’
सबै पार्टीका नेताहरुले आफ्नो बोली र व्यवहारको तारताम्य मिलाउनुपर्ने ज्ञवालीको सुझाव छ । प्रतिनिधिसभामा उम्मेदवार बन्नको लागि आफूसँग पैसा नभएकाले इच्छा नगरेको उनले जानकारी दिए । ‘अहिलेको खर्चिलो निर्वाचन प्रणालीमा चुनाव लड्ने मेरो हैसियत थिएन,’ ज्ञवालीले भने, ‘म खर्चिलो निर्वाचन प्रणालीको पनि घोर विरोधी हुँ ।’
अहिले पार्टीभित्रको राजनीतिक संस्कार र खर्चिलो निर्वाचन प्रणालीले लोकतन्त्रलाई सही दिशामा लैजान नसक्ने ज्ञवालीको बुझाइ छ । ‘पार्टीभित्रको राजनीतिक संस्कार बदलिनुपर्छ,’ उनले भने, ‘व्यक्तिकेन्द्रित निर्णयलाई सामुहीकरण गर्न सक्नुपर्छ ।’