+
+

४६ वर्षअघि पत्ता लागेको पेट्रोल खानी अझै उत्खनन भएन

नाकावन्दीका बेला चर्चा भयो तर काम भएन

पाण्डव शर्मा पाण्डव शर्मा
२०७४ माघ ११ गते १७:११
खानी उत्खनन् गर्नका लागि निर्माण गरिएको भवन ।

११ माघ, दाङ । ०२८ सालमा दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा पेट्रोल खानी भेटियो । खानी भेटिएपछि त्यसको संरक्षण र उत्खनन गर्ने तयारी समेत गरियो ।

खानी उत्खनन गर्ने भएपछि  स्थानीय बासिन्दा भुपाल बस्नेतलार्इ २०२८ सालमै गोदाम प्रमुख तोकियो । भुपालले अाफ्नो जीवनकालभर उत्खनन्का लागि सरोकारवाला निकायहरूसँग कयाैं पटक छलफल पनि गरे । तर, उनको जीवन कालमा खानी उत्खनन् हुन सकेन । भुपालको दुर्इ वर्ष अघि नै मृत्यु भइसकेको छ ।

४५ वर्ष पछि खानीको उत्खनन्का गर्ने भन्दै गत वर्ष भारतीय नाकावन्दीका बेला खुब चर्चा चल्यो तर कुनै काम सुरु हुन सकेन् ।

स्थानीय हरिभक्त भण्डारीका अनुसार ०२८ सालमा राष्ट्रिय भूगर्भ विभागले बरिखयामा पेट्रोल खानी रहेको प्रमाणित गरेको थियो ।’आफ्नै ठाउँमा पेट्रोल खानी भेटिएपछि हामी निकै खुशी भएका थियौं,’ उनले भने, ‘४६ वर्ष भइसक्यो अहिलेसम्म हाम्रो चाहना पूरा भएको छैन ।’

खानी बारे अनुसन्धान गर्दा भण्डारीसमेत भूगर्भ विभागको टोलीमा सहभागी थिए । पेट्रोल खानी रहेको ठाउँमा काम गर्नका लागि ०२८ सालमै भवन निर्माण गरिएको थियो । उक्त भवन अहिले जीर्ण अवस्थामा छ ।

बखरियावासी पत्रकार देवीराम कुसारीले पेट्रोल उत्खनन्का लागि आफूहरुले निरन्तर पहल गरिरहेको भएपनि काम सुरु हुन नसकेको बताए । ‘नाकाबन्दीका बेला सञ्चार माध्यममा पनि यो विषयमा निकै चर्चा परिचर्चा भयो,’ उनले भने, ‘अहिले सुनसान भएको छ ।’

खानी रहेको जग्गा बबई नदीको किनारमा छ । नदी किनारमा भएकोले यसको उचित संरक्षणसमेत हुन सकेको छैन । ‘बबई नदीले वर्षेणी कटान गरिरहेको छ, सरकारी निकायमा टतबन्धनका लागि हामीले पहल गर्दै आएका छौं,’ कुसारीले भने, ‘पेट्रोल खानी रहेको भनिएको जग्गा वरिपरी अहिले वस्ती विकास भइरहेको छ । ‘

राज्यले उक्त खानी उत्खनन् गर्न सकेमा नेपालमा ऊर्जा संकट न्यून गर्न थप सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

तुलसीपुर बजारदेखि झन्डै १२ किमिको दक्षिणस्थित बबई किनारमा रहेको उक्त खानीको संरक्षणमा सम्बन्धित पक्षको ध्यान नगएको समेत स्थानीयहरुको गुनासो छ ।

तत्कालीन समयमा खानीबाट निस्केको पानीले जमिन र हरियो घाँसमा खन्याउँदा घाँस डढ्ने गरेको स्थानीयवासीहरु बताउँछन् ।

भारतीय नाकाबन्दीको क्रममा उत्खनन्का लागि केही चासो देखाए पनि अहिले त्यसतर्फ कसैले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?