+
+

परराष्ट्रमन्त्री ज्ञवालीको सम्वोधनः छिमेक सम्बन्धमा सन्तुलनबाहेक अर्को बाटो छैन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २ गते २१:३६


२ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले दुबै छिमेकीलाई राम्रो र सन्तुलित सम्बन्धका लागि आश्वस्त तुल्याउनुपर्ने बताएका छन् ।

शीतलनिवासमा अरु १० मन्त्रीसँगै सपथ लिएका मन्त्री ज्ञवालीले शुक्रबार साँझ सिंहदरबार पुगेर परराष्ट्र मनत्रकिा रुपमा पदभार ग्रहण गरेका छन् ।

नेकपा एमालेका सचिवसमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको राष्ट्रियता नेपालको हित भएको बताए । नेपालले छिमेकीविरुद्ध कुभलो चिताउन नसक्ने भन्दै उनले भने, हाम्रो राष्ट्रिय स्वार्थ छन्, त्यसलाई सेवा गर्ने कुरा नै हाम्रो राष्ट्रियता हो । बाहृय सम्वन्ध र छिमेक सम्बन्धको कोर चिज पनि त्यही हो ।’

नेपाल ‘कहिले कतातिर ढल्यो, कहिले कतातिर ढल्क्यो’ भन्ने सुन्ने गरिएको भन्दै उनले भने कहीँ कतै सन्तुलित हुन सकेनौं कि भनेर पुनरावलोकन गर्ने बताए । उनले अघि भने, ‘जस्तोखालको भूराजनीतिक अवस्थितिमा छौं, सन्तुलनबाहेक हाम्रो वर्तमान र भविश्यको यात्राको कुनै बाटो छ जस्तो लाग्दैन ।’

दुबै छिमेकीलाई राम्रो सम्वन्ध रहन्छ भनेर आश्वस्त बनाउनुपर्ने भन्दै उनले भने, ‘तपाईहरुले एउटा छिमेकीसँग राम्रो सम्वन्धलाई लिएर कुनै सन्देश पाल्न जरुरी छैन ।’

राजनीतिक स्थायित्व र तीव्र आर्थिक विकासमार्फत सम्वृद्धि हासिल गर्ने सरकारको उच्च प्राथमिकता रहेको भन्दै मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयले चाल्ने कदम, बनाउने नीति र कार्ययोजनालाई पनि त्यसले निर्देशित गर्ने बताए ।

तीव्र आर्थिक विकासका सरकारले केही बेञ्चमार्क तोकेको भन्दै उनले भने, ‘यसका लागि ठूलो अन्तराष्ट्रिय सहयोग जरुरी पर्छ, त्यसमा हामी केन्द्रित हुनेछौं ।’

परराष्ट्रमन्त्री ज्ञवालीले सार्कसहितका क्षेत्रीय संगठनहरुलाई प्रभावकारी बनाइने पनि बताए ।

११ वर्षपछि सिंहदरबारमा कमब्याक

एमालेका वौद्धिक नेता मानिने ज्ञवाली माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्यमा राम्रो भूमिका खेलेका नेता हुन् । मिलनसार एवं सरल जीवनशैलीका नेता ज्ञवाली सिंहदरबारमा ११ वर्षपछि कमब्याक भएका हुन् । यसअघि उनी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित अन्तरिम सरकारमा एमालेका तर्फबाट पर्यटन मन्त्री बनेका थिए ।

गुल्मीको बलेटक्सारमा विसं २०१९ सालमा जन्मेका ज्ञवाली ०२८ सालदेखि वाम राजीनीतिमा लागेका हुन् । ज्ञवालीका दुई छोरा र एक छोरी छन् ।

उनी पहिलो संविधानसभमा पनि गुल्मीबाट प्रत्यक्ष निर्वाचित सांसद थिए ।

यसपटक पनि गुल्मीबाटै निर्वाचित सांसद ज्ञवालीले परराष्ट्र मन्त्रालयको नयाँ चुनौतीपूर्ण जिम्मेवारी पाएका छन् ।

यसअघि केपी ओलीको अघिल्लो सरकारमा ज्ञवालीले प्रधानमन्त्रीको दूतका रुपमा भारतको भ्रमण गरेर दुईदेशको सम्बन्धलाई सहज बनाउन भूमिकासमेत खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?