+
+

माछा मार्न पाउनुपर्ने भन्दै नवलपरासीका बोटे समुदाय आन्दोलित

सडक जामदेखि सामुहिक गिरफ्तारीसम्मका कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १७:१७

२७ चैत्र, नवलपरासी । नवलपरासीका निकुञ्ज पीडितहरुले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनीहरुले सडक बन्ददेखि नारायणी नदीमा पाँच सयको संख्यामा गएर सामुहिक माछा मारेर गिरफ्तारी दिनेसम्मका आन्दोलन सार्वजनिक गरेका हुन् ।

गत फागुन महिनामा २ जना बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले आन्दोलनको क्रममा नवलपरासीमा रहेको ७ वटा मध्यवर्ती उपभोक्ता समिति र एउटा मध्यवर्तीबाट सञ्चालिन सहकारीमा तालाबन्दी समेत गरिदिएका छन् ।

निकुञ्जले पक्राउ परेको दुई जनालाई पाँच /पाँच हजार धरौटीमा रिहा गरेको छ भने दुई दिनअघि माछा मार्दै गरेको दुई जना बाबुछोरालाई नियन्त्रणमा लिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिका-३ ब्रम्हस्थान बोटेटोल बस्ने ४७ वर्षीय मेघा बोटे र उनका छोरा २४ वर्षीय रेशम बोटेलाई शनिबार बेलुका नारायणी नदीमा माछा मार्ने क्रममा निकुञ्जले नियन्त्रणमा लिएको हो ।

निकुञ्ज प्रशासनले उनीहरुले तियारी जाल प्रयोग गरेको र गस्तीमा रहेको सेनामाथि अपशब्द प्रयोग गरेका कारण नियन्त्रणमा लिएको जनाएको छ ।

नवलपरासीका निकुञ्ज पीडितहरुले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गरी आफ्ना ९ बुँदे माग अगाडि सार्दै थप आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

उनीहरुले आफ्नो माग सुनुवाई गर्नका लागि स्थानीय तहका अध्यक्ष/प्रमुख, नवलपरासी बर्दघाट सुस्ता पूर्वका सांसदहरु निकुञ्ज वार्डेन, मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुसहितको सामुहिक छलफल हुनु पर्नेमा जोड दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवम् माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले परम्परागत रुपमा जीविकोपार्जन गर्दै आइरहेका माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विना सर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नो, कन्दमुल संकलन र माछा मार्नका लागि सहज वातावरण मिलाउनु पर्ने, माछा मार्ने लाइसेन्समा लिखित वुँदाहरु तुरुन्तै परिमार्जन गर्नु पर्ने, माछा मार्ने पुरानो लाइसेन्सलाई तुरुन्त नविकरण गरी नयाँ लाइसेन्स पनि दिनु पर्ने माग रहेको बताए ।

त्यस्तै उनले आफूहरु बस्दै आएको जग्गाको जग्गा धनी लालपूर्जा दिनु पर्ने र मध्यवर्ती घोषणा हुनु अगाडिदेखि बस्दै आएको क्षेत्रलाई अतिक्रमित क्षेत्रबाट हटाइनु पर्ने लगायतका मागहरु रहेको अध्यक्ष लालबहादुर बोटेले बताए ।

त्यस्तै नेपाल बोटे समाजका केन्द्रीय महासचिव दीपक बोटेले आफूहरुको परम्परागत पेशालाई संरक्षणमा राज्य विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

उनले निकुञ्जको बोटे माझी मुसहर लगायत निकुञ्ज आसपास बसोबास गर्ने निकुञ्ज पीडितहरुले नै सबैभन्दा बढी संरक्षण गरेको भएपनि उल्टै गालीबेइजति गर्ने, गिरफ्तारी दिने गरेको बताए ।

पत्रकार सम्मेलनमा आफूहरुको माग तत्काल पूरा नभए चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा तालाबन्दी गर्ने, माछा मार्ने जाल, डुंगा सडकमै ल्याएर चक्काजाम गर्ने, नारायणी नदीमा सामुहिक रुपमा माछा मारेर सामुुहिक गिरफ्तारी दिनेसम्मका आन्दोलनहरु तय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?