Comments Add Comment

सडक बत्तिमै अनुहार चिन्ने जासुसी क्यामरा जडान गर्ने सिंगापुरको तयारी


सिंगापुरको सरकारले सडक बत्तिमा मानिसहरुको अनुहार चिन्ने जासुसी क्यामरा जडान गर्ने योजना अघि सारेको छ ।

तर, सुरक्षा विज्ञ तथा अधिकारवादी समुहहरुले यसबाट व्यक्तिको गोपनीयतासम्बन्धी हक उल्लंघन हुने चिन्ता व्यक्त गरेका छन् ।

‘ल्याम्प पोस्ट एज अ प्लेटर्फम’ नामक पाइलट प्रोजेक्ट आउँदो वर्ष सुरु हुने अपेक्षा गरिएको छ जसलाई सिंगापुरको सरकारी निकाय ‘गभटेक’ ले सञ्चालन गर्न लागेको हो । यसले कम्पनीहरुलाई नेटवर्कका लागि निवेदन दिन आउँदो मेसम्मको समय दिएको छ ।

‘ट्रायलको रुपमा हामी सडक बत्तिहरुमा धेरै प्रकारका सेन्सरहरु परिक्षण गरिरहेका छौं, जसले अनुहार पहिचान गर्ने क्षमतालाई पनि सपोर्ट गर्छ,’ गभ टेकका एक प्रवक्ताले भनेका छन् ।

अनुहार पहिचान गर्ने क्षमताले आतंकवादी घटनामा अनुसन्धान गर्नलाई सघाउने उनको दावी छ ।

यसबाट मानिसको गोपनीयता हनन हुन सक्ने चिन्तालाई उच्च अधिकारीहरुले खण्डन गरेका छन् । प्रधानमन्त्री ली सियन लुङले गत साता भनेका थिए कि ‘स्मार्ट देश’ को वृहद अवधारणामा यो प्रोजेक्ट अघि सारिएको हो र यसले मानिसहरुको जीवनमा सुधार गर्नेछ ।

गभ टेकका प्रवक्ता भन्छन्, ‘यो परियोजनाको प्राविधिक कार्यान्वयन गर्दा व्यक्तिगत तथ्यांक र गोपनियताको सुरक्षालाई हामी ध्यानमा राख्नेछौं ।’

सरकारले हावाको गुणस्तर र पानीको तह मापन गर्न तथा सार्वजनिक स्थानमा विद्युतीय स्कुटरहरु गणना गर्न सडक वत्तिमा अन्य सेन्सरहरु पनि प्रयोग गर्ने योजना बनाएको छ ।

प्रारम्भिक पाइलट प्रोजेक्टमा कतिवटा ल्याम्प पोस्टहरु प्रयोग गरिनेछन् भनेर गभ टेकले खुलाएको छैन । तर, सिंगापुरको जनसेवा पूर्वप्रमुख पिटर ओङले देशमा रहेका सबै एक लाख १० हजार ल्याम्प पोस्टहरुलाई सेन्सर नेटवर्कमा ल्याइने गत वर्ष बताएका थिए ।

अधिकारवादी समुह इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनका वरिष्ठ वकिल एडम स्च्वार्ट्जले सिंगापुर र अन्य सरकारहरुर्लाइ अनुहार पहिचान गर्ने जासुसी प्रणाली अनुशरण नगर्न अनुरोध गरेका छन् ।

यस्तो प्रविधिले राजनीतिक विरोधीहरुलाई उत्तेजित तुल्याउने वा शान्तिपूर्ण आन्दोलनलाई निरुत्साहित गर्न सक्ने उनको विचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment