Comments Add Comment

आफ्नै पोष्टमा गोल हानेर खुशी मनाएको क्षण


त्यो रगताम्य नाक ।

म गोलकिपरको रुपमा खुम्चिएको यसै कारणले हो । बीचमा धेरै कुरा भए । तर सुरुवात त्यही हो । एउटा रगताम्य नाक ।

म १० वर्षको हुँदाको कुरा हो । त्यहाँ नै युथ टिम ‘मोन्चेनग्लाडबच’मा खेल्न गएँको थिएँ । त्यहाँ अरु पनि थिए । सधैँ उनीहरुसँगै हुन्थेँ । एकजना गोलकिपर साथी थियो । खेलको दौरान उसको नाकमा बलले लाग्यो र रगत बग्यो ।

त्यसपछि प्रशिक्षकलाई गोल लाइन सम्हाल्ने एकजना चाहिएको थियो । कोही पनि गोलकिपरका लागि तयार भएनन्, यसैले म गएँ ।

फुटबल खेल्न सुरु गर्दा म फरवार्ड थिएँ । मलाई गोल हान्न रमाइलो लाग्थ्यो । म फुटबल खेल्ने भनेकै गोल हान्नकै लागि थियो । म खुशी हुने कुरा त्यही थियो ।

अँ… त्यसपछि म गएँ र किपर बनेर खेलेँ । अनि, म यही भूमिकामा रमाउन थालेँ । जति जति बेला म गोलकिपर बन्थेँ मलाई एकदम आरामदायक महसुश हुन्थ्यो । टिमका साथीहरु र मेरो अभिभावक मैले कति राम्रो गरिरहेको छु भनेर सुनाउँथे ।

यो सबै हुँदा हुँदै पनि मलाई अझै गोल बचाउँदाको भन्दा गोल गर्दाको आनन्द मनपथ्र्यो ।

गोल । जे कुराले मलाई खुशी बनाउँछ । जे कुरा गर्ने इच्छा लाग्छ । त्यही गोल हो, जसले गर्दा मलाई फुटबलमा प्रेम बस्यो ।

०००

हाम्रो घरअघि एउटा सानो बगैँचा थियो । त्यहाँ बल हान्ने छुट थिएन । यसैले म र मेरो दाइ हाम्रै बुवाहरुको ग्यारेजमा खेल्थ्यौँ । मैले बल सट हान्दा दाइ किपर बसेको हुन्थ्यो । त्यहाँ हामी पुरानो बाक्सा राखेर, वा सट र भुँइमा जे भेटिन्छ त्यसकै पोस्ट बनाउथ्यौँ ।

म चार वर्षजतिको हुँदा हो । मेरो हजुरबुवा जसलाई हामी जर्मनीमा ओपा भन्छौँ उहाँले मेरो लागि लोकल युथ क्लब ‘ब्रोसिया मोन्चेनग्लाडबच’ मा खेल्ने कुरा गरिदिने हुनुभयो । हामीलाई मद्धत गरिदिन सक्ने त्यहाँको कोहीलाई हजुरबुवाले चिन्नुभएको थियो । यसैले हामी त्यहाँ गयौँ ।

म टिमका लागि छानिएँ । तर म ब्रोसिया जस्तो टिमका लागि खेल्नुको महत्व बुझ्न सक्ने भएको थिइनँ । पहिलो अभ्यासकै बेला एक्कासी मैले धेरै सिक्नुपर्ने भयो । मैले पहिले पनि भनेँ कि, यसअघि मैले हाम्रो त्यही सानो ग्यारेजमा दाइसँग मात्र खेलेको थिएँ ।

त्यो बेला भित्तामा बल हान्दा हामीले खेल्ने भनेको एउटा दिशामा मात्र थियो । पोस्ट एउटा मात्रै त हो । जहिले एकैतिर मात्र बल हानिन्थ्यो । अनि भित्ताको पोस्टमा हानेको बल फर्केर सधैँ आफूतिरै आउँथ्यो । फुटबलमा दुई दिशातिरै खेलिन्छ, मैदानको दुबैतिर जानुपर्छ भन्ने मलाई कुनै जानकारी थिएन ।

खेल्दा मेरो खुट्टामा बल आयो । म बलसँगै अगाडि बढेँ । त्यसबेला मैले मेरो आमा र हजुरबा-हजुरआमाले चिच्याउँदै हुटिङ गरेको सुनेँ । मैले मेरो पहिलो खेलमै निकै राम्रो गरिरहेको छु भन्ने भान पर्‍यो । म मच्चिएर खेल्दै थिएँ । उहाँहरु हुटिङ गर्दै हुनुहुन्थ्यो ।

मैले गोल गरेँ । तर, गोलपोस्टकै अगाडि बसेको एकजनाले मलाई भन्यो कि मैले उल्टोतिर गोल हानेँ । त्यो पहिलो गोल सही गोल हुन सकेन ।

त्यो क्षण सम्झँदा अहिले म हाँसिरहेको हुन्छु । लाजमर्दो भएको थियो त ? हुनै सक्दैन । म गोल गरेँ भनेर खुब खुशी भएको थिएँ ।

विस्तारै मैले मैदानको दुवै दिशाबारे बुझ्दै गएँ । अँ… मैले यतातिर बल लानुपर्छ । हान्ने यता हो भनेर मलाई थाहा भयो । सबै बुझेँ ।

हजुरबुवा के सोच्नुहुन्थ्यो मलाई ठ्याक्कै थाहा छैन । तर उहाँ म ‘ब्रोसिया मोन्चेनग्लाडबच’ मा खेलिरहेको छु भनेर खुशी हुनुहुन्थ्यो । आमा र हजुरआमा पनि त्यसमै खुशी हुनुहुन्थ्यो ।

मेरो बुवालाई फुटबल उति मन पर्दैन थियो । तर हजुरबुवा मेरो क्लबको ठूलो समर्थक हुनुहुन्थ्यो । यसैले मैले त्यहाँ खेल्न थालेदेखि उहाँ सधैँ मलाई छाड्न जानुहुन्थ्यो । उहाँको कार राम्रो थियो । कुन ब्राण्ड र मोडलको कुरा होइन । जे होस् दोषरहित थियो । हजुबुवा पुलिसबाट अवकाशप्राप्त हुनुहुन्थ्यो ।

०००

म ठूलो हुँदै गर्दा हजुरबुवासँग धेरै नजिक थिएँ । क्लबमा अभ्यास गर्न जानुअघि उहाँ मलाई बेकरीबाट केक ल्याएर दिनुहुन्थ्यो । म क्लबमा पुग्नुअघि त्यो केक खाइसक्थेँ । त्यो कति चिसो छ भन्ने मलाई वास्ता हुँदैन थियो ।

पानी परिरहेको दिन त मैले अभ्यास गरिरहँदा उहाँ सधैँ मैदानमै बसिरहनुहुन्थ्यो । कहिलेकाहीँ आमा र हजुरआमा पनि सँगै हुनुहुन्थ्यो ।

म प्रतियोगिताहरुमा खेलिरहेका बेला जतिसुकै टाढा होस् हजुरबुवा र हजुरआमा आउनुहुन्थ्यो । मेरो लागि मात्र होइन टिमका सबै साथीको लागि खानेकुरा ल्याउनुहुन्थ्यो । त्यो सुन्तलाको केस्रा जस्तो भने होइन ।

हजुरबुवा कहिलेकाँही आफै खानेकुरा पकाएर ल्याउनुहुन्थ्यो । प्रायजस्तो सबैका लागि पुग्ने तरकारी, फलफूल र घरमै बनाएको पाउरोटीहरु हुन्थ्यो ।

म ठूलो हुँदै जाँदा हजुरबुवा, हजुरआमा र आमा मैदानमा आउँदा भने झ्याउ लाग्थ्यो । लाजमर्दो हुन्थेँ म । आफ्नो अभिभावक नजिक हुँदा सोझो देखिन खोज्दा धेरै गाह्रो हुने । अनि कतिपय बेला त्यसमा मिल्दो नहुँदा नरमाइलो हुन्थ्यो ।

अहिले आएर त्यो सोच्दा भने मलाई भाग्यमानी महसुश हुन्छ । उहाँहरु मैसँग हुनुहुन्थ्यो । मेरो रेखदेख गर्नुहुन्थ्यो । मलाई सहयोग गर्नुहुन्थ्यो । अनि मलाई कहिल्यै केही गर भनेर दबाब दिनु हुँदैन थियो ।

त्यो समय सम्झँदा म अलि भावुक पनि हुन्छु । हजुरबा र हजुरआमा कति राम्ररी मेरो ख्याल राख्नुहुन्थ्यो । उहाँहरु हामी बस्नेभन्दा १५ मिनेट जति पर बस्नुहुन्थ्यो ।

म उहाँहरुको घरमा बस्ने गरी जाँदा मलाई अति रमाइलो लाग्थ्यो । हजुरआमा मेरो लागि बिहानै पाउरोटी र अरु खानेकुराहरु दिनुहुन्थ्यो । अति मीठो हुन्थ्यो त्यो खानेकुरा । मलाई उहाँहरुको एकदमै याद आउँछ ।

म सानो छँदा हजुरबाको काखमा हुन्थेँ । उहाँ मलाई परिवारको पुरानो तस्बिर देखाउनुहुन्थ्यो । कहिलेकाँही पुरानो सिनेमा पनि देखाउनुहुन्थ्यो । उहाँ मलाई धेरै कुरा सिकाउनुहुन्थ्यो । गुन बैगुनका कुरा, जीवनको उद्देश्यका कुरा ।

तर उहाँ फुटबलबारेको कुरा भने सिकाउनु हुँदैन थियो । मलाई उहाँसँग गर्न मन नलाग्ने त्यही एउटा कुरा थियो । मैले खेल्ने समय पाइनँ भने पनि हजुरबा र हजुरआमा प्रशिक्षकसँग कुरा गरिदिने गर्नु हुन्न थियो । अनि मलाई कसैले तँ यसरी खेल भनेको मन पर्दैन थियो । हजुरबालाई मेरो बानी थाहा थियो । यसैले उहाँ मसँग फुटबलको कुरा गर्नु हुन्न थियो ।

कहिलेकाँही अरु गोलकिपरले के गर्छन् भनेर चाहीँ उहाँ भन्नुहुन्थ्यो । ‘तिमी त्यो अभ्यास गर न’ भन्नुहुन्थ्यो । तर म सुन्दैन थिएँ । मेरो प्रशिक्षकले मलाई दिएको कति अन्तिम चेतावनीबारे पनि म उहाँलाई भन्दैन थिएँ ।

०००

मैले उल्लेख गरेजस्तै, हाम्रो किपरको नाकबाट रगत बगेपछि मैले गोलकिपरमा खेलेको हो । नत्र मलाई फरवार्ड नै खेल्न मन पथ्र्यो । तर म जसरी खेल्थेँ, त्यसले प्रशिक्षक मलाई अगाडि खेलाउन चाहँदैन थिए ।

कतिपय बेला प्रशिक्षकले सोचेजस्तो म अगाडि दौडेर जाँदैन थिएँ । ‘तिमी दौडँदा जसरी गोडा उचालिनु पर्ने हो त्यसरी उचालेर दौडदैनौँ’ म १० वर्षको हुँदा उनीहरुले मलाई भनेका थिए । ‘तिमी हाम्रो टिममा कि त किपर खेल कि त अब अर्को टिमको लागि खेल्न जाउ ।’

मैले त्योबारे केही सोच्नुपर्ने नै थिएन । मैले धेरै अघि निर्णय लिइसकेको थिएँ । त्यो बेला अरु क्लब पनि मलाई राख्न तयार थिए । उनीहरु मलाई फरवार्ड नै खेलाउन पनि तयार थिए । तर मलाई त्यो मतलब थिएन । त्यसबखत गोल हान्नु मेरा लागि उस्तो केही थिएन । ‘मोन्चेनग्लाडबच’मै रहनु मेरो लागि मतलबको कुरा थियो । त्यसको पछाडि एउटै कारण छ, त्यहाँ मेरो घर थियो ।

त्यही क्लब म चार वर्षको हुँदादेखि चिनिरहेको थिएँ । मलाई क्लबले कि किपर बस कि क्लब छोड भनेर दुई रोजाइ दिएको बेला नै मेरो बुवाआमा छुटिँदै हुनुहुन्थ्यो । मेरो परिवार टुक्रिँदै थियो ।

यसैले मेरा लागि फुटबल पहिलेभन्दा धेरै पहिचानको अवसर बनेर गएको थियो । ‘मोन्चेनग्लाडबच’ त्यही एउटा परिचयको आधार थियो ।

यसैले मैले ‘मोन्चेनग्लाडबच’ छाडिनँ । म कुन स्थानमा खेल्दै छु भन्ने मलाई वास्ता भएन । गोल गर्नु मेरा लागि ठूलो कुरो बनेन । ‘मोन्चेनग्लाडबच’ मै रहने चाहना ठूलो थियो । मलाई खेलिरहन मन थियो । यसैले मैले आˆनो उद्देश्य परिवर्तन गर्न सिकेँ । म त्यहीँ बसेँ र गोलकिपर बनेँ ।

मलाई लाग्छ फरवार्ड पनि खेल्ने भएको हुँदा म छुट्टै खालको गोलकिपर बनेको थिएँ । मैले मैदानलाई भिन्न रुपमा नियालेको थिएँ । यसैले एकेडेमीमा भएका अरु गोलकिपर भन्दा म अलि राम्रो भएको थिएँ ।

‘ब्रोसिया मोन्चेनग्लाडबच’ मा खेलाडी जब १४ वर्षजतिको हुन्छन् तब धेरै काटछाँट हुन्थ्यो । त्यो निकै कठीन समय थियो । मेरो मतबल हामी अझै बच्चै थियौँ, त्यस्तोमा कसैले भनिदिन्थ्यो ‘तिमी छनोटमा परेनौँ हामी तिमीलाई राख्न सक्दैनौँ ।’

त्यसबेला म १४ वर्षजतिकै हुँदा हो, खेलपछि प्रशिक्षक मसँग एकदमै रिसाएका थिए । किन हो त मैले बिर्सिएँ, तर उनी धेरै रिसाएका थिए । उनी निकै निराश थिए । म कति नराम्रो छु भन्ने कुरा खेलपछि सबै साथीहरुको अगाडि उनले भनेका थिए । त्यसअघि प्रशिक्षकले मसँग त्यसरी कुरा गरेको मलाई याद थिएन ।

म मेरो आमाको कारमा फर्कदै थिएँ । म धेरै रोएँ । केही दिनपछि मलाई त्यो कुराको अनुभूति भयो । अँ मैले त्यो बेला नराम्रै खेलेको थिएँ । मैले त्यो कुरा स्वीकार्नु पर्छ ।

प्रशिक्षकले वास्तवमै मैले के कमजोरी गरेँ के सुधार गर्नुपर्छ भनेर बुझेका थिए । मलाई कोही मानिस चाहिन्थ्यो जसले मेरो कमजोरी बुझेर सुधार गर्ने कुरा भनिदेओस् । राम्रो खेलाडी बन्न त्यो आवश्यक पनि थियो ।

मलाई लाग्छ त्यही बेलादेखि मैले खेलमा राम्ररी बुझेर ध्यान दिन थालेँ । म आफैसँग निकै सम्हालिएर बुझेर अघि बढ्न थालेको थिएँ । म मेरो आमा र हजुरबासँग फुटबलबारे कुरा गर्न चाहँदैन थिएँ । म सबै कुरा आफ्नै बलबुतामा सुधार्न चाहन्थेँ । म अझै आत्मनिर्भर बनेको थिएँ ।

०००
म १५ वर्षको पुगेपछि मेरो आफ्नै स्कुटर थियो । मैले हजुरबालाई भनेको थिएँ, उहाँले हरेक दिन मलाई क्लबमा पुर्‍याइदिन आवश्यक छैन । म अभ्यासमा पुग्नुअघि बाटोमा एक्लै हुन चाहन्थेँ । हजुरबाको लागि त्यो निकै अप्ठेरो कुरा थियो । तर, उहाँले मेरो कुरा मान्नु भयो ।

तर, त्यसपछि पनि पानी परिरहेको दिनमा अभ्यास सुरु हुनुअघि हजुरबा मलाई फोन गरेर सोध्नुहुन्थ्यो, ‘भन है तिमीलाई पुर्‍याइदिनुपर्छ ?’

म हुन्छ, तपाइँ आउनुभए सजिलो हुन्छ भन्थेँ । त्यो बेला भने पछाडि सिटमा बसेर खान हजुरबाले ल्याइदिएको केक मसँग हुँदैन थियो ।

कस्तो भने ‘ब्रोसिया मोन्चेनग्लाडबच’ को सिनियर टिमको लागि बोलाइँदा समेत त्यहाँ मेरो अभिभावक कोही थिएनन् ।

मलाई थाहा थियो उहाँहरु हुनुभयो भने मेरो ध्यान यता उता हुन्छ । हजुरबा मैले बुझ्ने भएको बेलादेखि मेरै क्लबको समर्थक हुनुहुन्थ्यो । तर मलाई आमालाई सम्झेर डर लाग्थ्यो ।

उहाँहरु आउँदा मैले राम्रो खेल्न सकिनँ र दर्शकले मेरो विरुद्ध हुटिङ लगाए भने मेरो आमालाई धेरै नराम्रो लाग्नेछ भन्ने सोच्थेँ । अहिले सोच्दा पनि मेरो आˆनै सन्तान त्यहाँ छन् भने पनि म त्यो अवस्था हेरिरहन सक्दैन थिएँ हूँला भन्ने लाग्छ ।

म सिनियर टिममा बोलाइँदा जम्मा आठ खेलजति बाँकी थियो । म त्यो सबै खेलमा एक्लै गएँ । त्यो सबै मैले एक्लै अनुभव गर्नु थियो ।

त्यसपछिको सिजन र त्यसपछिको एक सिजन भने हजुरबाले दर्शक दिर्घामा बसेर मेरो खेल हेर्नुभएको थियो । अनि ‘मोन्चेनग्लाडबच’ को मेरो अन्तिम खेलमा म मेरो हजुरबा बिना सोच्न पनि सक्दैन थिएँ । अनि मेरो आमा, मेरो हुनेवाला श्रीमतीको परिवार । म उहाँहरु सबै हुँदा आनन्द महसुश गर्थें । मेरो भरोसा बढ्थ्यो । म अब एक्लै हुन चाहँदैन थिएँ ।

०००

जब म ‘ब्रोसिया मोन्चेनग्लाडबच’ बाट सन् २०१४ मा बार्सिलोना जाँदै थिएँ । त्यो निर्णय मेरा लागि ठूलो थियो । मेरो परिवार र मेरो क्लब मेरा लागि सम्पूर्ण विश्व थियो । म कसरी छाड्न सक्छु ? तर, दुई कारणले गर्दा म बार्सिलोना जान तयार भएँ ।

पहिलो, पक्कै पनि उनीहरुले खेल्ने तरिका देखेर । मलाई कहिलेकाँही सोच आउँदा बार्सिलोना जानको लागि चाँही ‘मोन्चेनग्लाडबच’ छाड्न सक्छु होला भन्ने लाग्थ्यो । उनीहरुको खेल्ने तरिका मन पथ्र्यो । किपरसँग पनि उनीहरु धेरै बल पास खेल्दै मिलाउँथे । मेरो खेल्ने तरिका पनि त्यस्तै थियो ।

अनि दोस्रो कारण चाहीँ पछि बनेको हो । जब मैले एन्डोनी जुबिजारेटासँग भेटेँ ।

मलाई मेरो एजेन्टले भनेको कुरा याद छ, ‘बार्सिलोना तिमीसँग पहिले कुरा गर्न चाहन्छ । उनीहरु पहिले तिम्रो आनिबानी बुझ्न चाहन्छन् । तिमी मान्छे कस्तो छौ भनेर बुझ्न खोजेका छन् ।’

उनीहरुले मलाई भेट्न जुबिजारेटा पठाउने सोचेका थिए । उसलाई भेटेपछि मेरो निर्णयमा कस्तो प्रभाव पर्छ भन्ने मलाई थाहा थिएन । उनी आए । हाम्रो कुरा भयो । हामीबिच एकदमै सामान्य रुपमा कुराकानि भयो ।

उनको स्वभाव प्राकृतिक थियो । उनले मसँग क्लबको इतिहास र आफ्नो अनुभवहरुको बारेमा कुरा गरे । म नयाँ क्लब, नयाँ शहरमा जाँदा कस्तो अनुभव हुन्छ भन्नेबारे सबै कुरा बुझाए । बार्सिलोनाको खेलाडी हुनु भनेको के हो भन्ने कुरा पनि उनले बताए । उनी एकदमै गजवका सामान्य मान्छे हुन् ।

उनकै कुराले म यति प्रभावित भएँ कि बार्सिलोनामा जानै पर्छ भन्ने लाग्यो । मलाई बेला बेला मानिसहरुले भनेको याद हुन्छ, ‘मार्क टेर स्टेगेन ? त्यो त गमक्क पर्ने खालको मान्छे छ ।’ यो कुरा उनीहरुका लागि आंशिक रुपमा सत्य नै हो ।

किनभने म जर्मन हुँ । तर मलाई थाहा छ म कसरी यहाँ पुगेको छु । अनि यो मानिसहरुले मलाई कसरी बुझुन् भन्ने कुरा पनि होइन ।

गर्वका साथ मैले आफूमा बार्सिलोनाको रंग भरेँ । उनीहरुको जर्सी लगाएँ । यो मेरा लागि फुटबल मात्र थिएन । यो शहर, यहाँका समर्थक । यहाँ कहिले पनि लाग्ने छैन कि आफू एक्लै छु । एक्लै हुनै मिल्दैन । यसमा कस्तो प्रभाव हुन्छ भन्ने मात्र होइन । यो भन्दा भिन्न रुपमा तपाइँ जानै सक्नु हुन्न । तपाइँ यसलाई आफसेआफ बुझ्न सक्नु हुन्न ।

०००

म बार्सिलोना आउँदा सुरुमा सबै कुरा आफैले बुझिनँ । म मुस्किलले स्पेनिस बोल्न सक्थेँ ।

मलाई याद छ, पहिलो पटक म चेन्जिङ रुममा जाँदा म एकदमै खुशी भएको थिएँ । त्यसबेला नै मसँगै बार्सिलोनाले इभान र्‍याकेटिकलाई पनि अनुबन्धित गरेको थियो । र्‍याकेटिकलाई जर्मन बोल्न आउँथ्यो अनि सेभिल्लामा खेलिसकेको भएर स्पेनिस पनि राम्रै आउँथ्यो ।

बार्सिलोनामा गएको पहिलो महिना र्‍याकेटिक मेरा लागि अनुवादक नै बनेका थिए । उनी मैले प्रश्न गर्दा बुझाइदिन्थे । प्रशिक्षकले मलाई भनेका कुराहरु पूरै नबुझ्दा पनि सम्झाइदिन्थे ।

अनि राफिन्हाले पनि मलाई धेरै मद्धत गरे । उनी र म दुबै इंग्लिस बोल्थ्यौँ । पछि हामीले स्पेनिस नै बोल्न थाल्यौँ । उनले यहि सिजनको सुरुमा बार्सिलोना छाडे । हामी राम्रो साथी हौँ ।

म स्पेनिस राम्ररी नै बोल्न चाहन्थे । जसले मलाई मेरा साथीहरु राम्ररी बुझ्न मद्धत पुग्थ्यो । उनीहरुबारे अझ धेरै थाहा पाउन सजिलो हुन्थ्यो । त्यसैले मैले आˆनो पहिलो दिनदेखि नै स्पेनिस भाषाको ज्ञान लिन थालेँ ।

हामी आफूलाई एउटा क्लब मात्रै हौइनौँ भन्छौँ । यहाँ म क्लबका लागि एउटा विज्ञापन बन्न खोजेको होइन । तर, यसबारे बुझ्ने एउटै मात्र तरिका छ । यहाँ केही अर्कै छ … एकदमै भिन्न ।

जब मैले सन् २०१६ को च्याम्पियन्स लिगको समूह चरणको खेल तालिका हेरेँ । ब्रोसिया मोन्चेनग्लाडबच र बार्सिलोनाको खेल थियो । मलाई कस्तो-कस्तो, के-के अनुभव भयो । म त्यो कुरामा उति खुशी थिइनँ ।

त्यो घोषणा भएपछि मेरो मिल्ने साथीले म जर्मनी आउने भएँ भनेर म्यासेज पनि पठाएको थियो ।
त्यसपछि मैले सोच्न थालेँ । फेरि एकपटक सबैलाई आफ्नै घरमा भेट्न पाउने यो एउटा अवसर पनि हो । तर, मेरो पुरानो क्लबको प्रतिक्रिया के हुन्छ होला ? समर्थकहरुले के भन्लान् ?

अनि हामी जब त्यहाँ पुग्यौँ, सबै कुरा असाध्यै पारिवारिक थियो । म पाहुना पस्ने गेटबाट पहिलोपटक स्टेडियममा पसेको थिएँ । पहिलोपटक म पाहुना टोलीको कोठामा बसेको थिएँ । मैले आफ्नो सिनियर करिअरमा अनुभव नगरेको फरक कुरा अनुभव गर्दै थिएँ । वार्मअपको लागि मैदानमा जाँदा पनि बिर्सिएर म अर्को साइडमा पुग्दो रहेछु । त्यसलाई सम्झेरै मैले सुधार गर्नु पर्‍यो ।

जब खेल सकियो, मैले यसो दर्शक बस्नेतिर हेरेँ । सबै समर्थक उठेर मेरो लागि तालि बजाउन थाले । यसले मलाई निकै भावुक बनायो । मेरा रौँ ठाडा भएका थिए । अनि मैले मेरो आँसु लुकाउन सकिनँ ।

म ब्रोसिया मोन्चेनग्लाडबचमा बसेको समय । १८ वर्ष । यो निकै लामो समय हो । यो मेरो जीवन नै हो । अनि समर्थक मलाई अझै यति मजाले स्वागत गर्दै थिए त्यसमा मलाई गर्व लाग्यो । त्यो रात मैदान छाड्दा मलाई निकै भिन्न महसुश भएको थियो ।

मोन्चेनग्लाडबच मेरा लागि सधैँ विशेष छ । मोन्चेनग्लाडबचले नै मेरो भविष्य निर्धारण गर्‍यो । हरेक बालकको क्याम्प नाउमा खेल्ने सपना मेरा लागि मोन्चेनग्लाडबचले नै पूरा गरिदियो ।

मलाई थाहा छ, केही मान्छेका लागि म ‘बार्सिलोनाका लागि जर्मन किपर मात्र हुँ ।’ तर अब उनीहरुले मलाई केही राम्ररी बुझे कि भन्ने लाग्छ ।

तपाईंलाई थाहा छ ? अझैसम्म मेरा हजुरबाले क्याम्प नाउमा आएर मेरो खेल हेर्नुभएको छैन नि । म उहाँलाई भनिरहेको हुन्छु तपाइँ आउनुपर्छ । एकदिन हजुरबा आउनुहुनेछ ।

क्याप नाउको अघि आलुको परिकार र केही खानेकुरा बोकेर बसेको बुढो मान्छे देख्नुभयो भने मेरा हजुरबा आउनुभएछ भन्ने तपाइँले पनि थाहा पाउनुहुनेछ ।

(बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले ‘प्लेयर्स टि्रब्युन’मा लेखेको लेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment