१७ वैशाख, गोरखा । प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा सोमवारबाट १५ औं सवालाख रोट महोत्सव सुरु भएको छ ।
सिद्धाश्रम शक्ति केन्ऽ गोरखाको आयोजनामा भएको महोत्सवको पहिलो दिन गोरखनाथको रथसहित शोभायात्रा गरिएको छ ।
साधक साधिकासहित निकालिएको शोभायात्रा बजार परिक्रमा गर्दै गोरखनाथ गुफा पुगेको थियो । गुरु गोरखनाथलाई सबैभन्दा मनपर्ने खाद्यवस्तु रोट चढाएपछि खुशी हुने र देशमा आउने बिघ्नवाधा अन्त्य हुने धार्मिक विश्वास रहेको छ । ‘देशमा शान्ति र सुख चयनको कामनासहित गुरु गोरखनाथलाई प्रार्थना गर्दै हरके वर्ष रोट महोत्सव गर्दै आएका छौ ।’ सिद्धाश्रम शक्ति केन्द्रका जिल्ला संयोजक किशोर कुमार अकेलाले भने ।
०६० सालदेखि हरेक वर्ष निरन्तर महोत्सव गर्दै आएको उनले बताए । ११ दिनसम्म चल्ने महोेत्सवमा हरेक दिन १ लाख रोट गोरखानाथ बाबालाई चढाइने अकेलाको भनाइ छ ।
नयाँ अन्नको पिठोलाई घ्यूमा पकाएर रोट बनाइ गोरखनाथलाई अपर्ण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानियमा रहेको पुजारी प्रदिपनाथ योगीले बताउँछन् ।
महोत्सवमा सहभागी हुन आउने जिल्ला बाहिरका भक्तजनहरुलाई खाना र आवासको प्रबन्ध गरिएको छ ।
महोत्सवको हरेक दिन साधक साधिकाहरुबाट धार्मिक प्रवचन तथा भजनकृतन समेत हुने केन्द्रका संयोजक रामजी अर्यालले बताए ।
महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् ।
प्रतिक्रिया 4