+
+

ट्राफिकलाई गृहमन्त्रीको निर्देशन : माइक्रो र टेम्पोमा यात्रु उभिएको देख्नु नपरोस्

मिटर नजोड्ने ट्याक्सीमाथि कारवाही सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते १:००


३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको पालनाका लागि नियमहरुको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएका छन् । उनले ट्राफिक प्रहरीलाई निर्देशन दिँदै अब माइक्रो र टेम्पो एक जना पनि उभिएका यात्रु नदेखिने वातावरण बनाउन भनेका छन् ।

बुधबारको बैठक लगत्तै ट्राफिक नियममा कडाई सुरु भएको छ । काठमाडौं उपत्यकामा अाजबाट नै तीन पाङ्ग्रे टेम्पुहरुमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपाईने व्यवस्था कडाईका साथ लागू गरिएको छ ।

आगामी आईतबारदेखि माईक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाईपूर्वक लागु गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरु गरेको छ ।

मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट आजै ट्राफिक महाशाखाले मगाएको छ । त्यस्ता ट्याक्सीलाई कारवाही गर्ने तयारी महाशाखाले गरेको छ ।

ट्राफिक जरिवाना बढ्दै

ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बिहिबारको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन निर्देशन दिए ।

हाल ट्राफिक नियम उलङ्घन गर्दा पाँच सय देखि एक हजार रुपैयाँसम्म मात्रै जरिवाना रहेकोमा यसलाई बढाएर तीन हजार देखि पााच हजाररुपैयाँ सम्म पुर्‍याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ ।

ट्राफिक नियमलाई कडाई गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहर सहित ट्राफिक जरिवाना बढाउन लागिएको हो ।

सिंहदरबारभित्र निश्चित ठाउँमा मात्रै पार्किङ

सिंहदरबारभित्र जथाभावी सवारी पार्किङका कारण कुरुप देखिएपछि अब निश्चित ठाउँमा मात्रै सवारी पार्किङको व्यवस्था गर्न लागिएको छ ।

यसका लागि सिंहदरबारभित्र पार्किङका लागि उपयुक्त स्थानहरुको खोजी भईरहेको छ । पार्किङ स्थलको पहिचान भए लगत्तै मन्त्री बाहेक अन्यको गाडी पार्किङस्थलमा मात्रै राख्ने गरी आवश्यक तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?