५ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुदमा स्वर्णिम युगको शुरुवात भएको बताएका छन् ।
अखिल नेपाल फुटवल संघ (एन्फा)ले शनिबार पोखरामा आयोजना गरेको ‘एन्फाको कार्यनिती, ग्रास रुट, विधान र नियमावली’ विषयक प्रदेश स्तरीय अन्र्तक्रिया तथा गोष्ठीमा मुख्यमन्त्री गुरुङले खेलकुदमा नयाँ युग शुरु भएको बताएका हुन् ।
एन्फा नेतृत्वलाई खेलकुदमा स्वर्णिम युगको प्रारम्भ भएको हिसाबले काम गर्न निर्देशन दिदै उनले भने, ‘खेलकुदमा नयाँ युग शुरु भएको छ, यो स्वणिर्म युगको प्रारम्भ हो, तपाईहरुले पनि स्वणिर्मको प्रारम्भ भयो भन्ने हिसाबले काम गर्नुस् ।’
व्यक्ति हावी हुँदा विधि र पद्धतीले काम नगर्ने भन्दै उनदे त्यसको उदाहरण गणेश थापाको कार्यकाल भएको बताए ।
‘खेलकुदको विकास गर्न, टुर्नामेन्ट गर्न, खेलाडी उत्पादन गर्न विधी, विधान र पद्धती चाहिन्छ, तर व्यक्ति हावी भयो भने विधी, विधान र पद्धतीले काम गर्दैन, त्यसैले खेलकुदको सही विकासका लागि विधी पद्धतीको विकास गर्नुपर्छ’ उनले भने ।
उनले नेपालमा खेलकुद र त्यसमा पनि फुटवल राज्यबाट हेपिएको र त्यसैका कारण ओझेलमा परेको बताए ।
मुख्यमन्त्री गुरुङले ५ वर्षे कार्यकालमा ८५ वटै स्थानिय तहमा फुटवल मैदान बनाउने बताए । ‘गण्डकीमा अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर दशरथ रंगशाला भन्दा पनि राम्रो बहुउद्धेश्यीय रंगशाला बनाउँछौं’ उनले भने, ‘सके आफै बनाउँछौं नभए विदेशीको सहयोगमा भएपनि बनाएरै छाड्छौं ।’
कार्यक्रममा एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले कास्कीमा फुटवल प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्घोष गरे । ६० जना खेल्न सक्ने क्षमताको प्रशिक्षण केन्द्र स्थापना गर्ने बताउदै यो आगामी वर्षदेखी नै शुरु हुने बताए । कास्की फुटवल खेल र खेलाडीको उर्वर भुमी भएको बताउँदै उनले यो योजना २० वर्षअघि नै आउनुपर्ने भएपनि खेलकुदको नेतृत्वका कारण ढिलाई भएको बताए ।
एन्फामा आर्थिक नियमावली नहुँदा आर्थिक अनियमितता भएको दाबी गर्दै आगामी दिनमा आर्थिक नियमावली बनाएर जिल्लादेखि नै अनियमितता हटाउने दाबी गरे ।
शेर्पाले ६ देखि १२ बर्ष उमेर समूहका खेलाडीहरुलाई ४५ जिल्लामा प्रशिक्षण दिने तयारी गरिएको बताए । भदौ २७ गते वाल दिवसको अवसरमा प्रशिक्षणका लागि वालकहरु छनौट गर्ने तयारी भइरहेको उनले सुनाए ।
मेसी र नेयमारजस्ता खेलाडी उत्पादन गर्न ग्रासरुटबाटै काम गर्नुपर्ने भन्दै उनले भने, ‘दीर्घकालीन योजनाका साथ अघि बढेका छौं, यसमा स्थानीय, प्रदेश र संघीय सरकारले सघाउनुपर्छ ।’
कार्यक्रममा फुटवल खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान दिएको भन्दै पुर्व खेलाडी खेम गुरुङ र फुटवल प्रशिक्षक शम्भु केसीलाई सम्मान गरिएको थियो ।