+
+

गण्डकी प्रदेशको फोटो प्रतियोगितामा माछापुच्छ्रे र ब्राका गाउँको फोटो प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ९ गते १९:१५

९ साउन, पोखरा । गण्डकी प्रदेशले गरेको फोटो प्रतियोगिताको पर्यटकीय गतिविधी विधामा माछापुच्छ्रे हिमालको फोटो प्रथम भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक आयोजना गरेको गण्डकी प्रदेश स्तरीय पर्यटन सम्बन्धी अनलाइन फोटो प्रतियोगितामा काठमाडौंका मेरिट महर्जनले खिचेको कुमारी हिमाल माछापुच्छ्रेको फोटो प्रथम भएको हो । प्रथम हुने महर्जनले नगद ३० हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

११९ जनाले सहभागिता जनाएको सो प्रतियोगितामा काठमाडौंकै देव डंगोलले धम्पुसमा खिचेको आकाश हेर्दै गरेको फोटो द्वितीय, पोखराका आदित्य चन्दले मुस्ताङमा खिचेको घोडचडीको फोटो तृतीय, काठमाडौंका देव डंगोलले खिचेको हिमचुली हिमालको फोटो चौथो र हाल लण्डन बस्दै आएका गोलमान गुरुङ पर्वतको दुर्लुङमा खिचेको क्यानोनिङ गर्दै गरेको फोटो पाचौं भएको छ ।

द्वितीय हुने डंगोलले २० हजार र प्रमाण पत्र, तृतीय हुने चन्दले १५ हजार र प्रमाण पत्र, चौथो हुने डंगोलले १० हजार र प्रमाण पत्र तथा पाचौं हुने गुरुङले प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै सोही प्रतियोगिताको पर्यटकीय गन्तव्य विधामा मनाङको ब्राका गाउँको फोटो प्रथम भएको छ । काठमाडौंका प्रकाश बुढाले खिचेको उक्त फोटो प्रथम हुँदै नगद ३० हजारसहित प्रमाणपत्र जित्न सफल भएको हो ।

३ सय ३९ जनाले सहभागिता जनाएको सो प्रतिस्पर्धामा ललितपुरका उमिद शाक्यले खिचेको मुस्ताङ झारकोटको फोटो द्वितीय, पोखराका गहेन्द्र गुरुङले खिचेको कास्की मादी गाउँपालिकास्थित कोरीगाउँको फोटो तृतीय, काठमाडौंका सिरिश बिसीले खिचेको मनाङ फू गाउँको फोटो चौथो र पोखराका रोहित गिरीले पोखरा शान्ती स्तूपाको फोटोले पाचौं स्थान प्राप्त गरे ।

द्वितीय हुने शाक्यले नगद २० हजार र प्रमाण पत्र, तृतीय हुने गुरुङले नगद १५ हजार र प्रमाण पत्र, चौथो हुने बिसीले नगद १० हजार र प्रमाण पत्र तथा पाचौं हुने गिरीले प्रमाण पत्र प्राप्त गरे ।

बिजेताहरुलाई साउन भित्रमा फोटो प्रदर्शनी गरेर पुरस्कार वितरण गरिने बताए । फोटो प्रदर्शनीमा पुरस्कृत फोटोसहित दुवै बिधाका उत्कृष्ट २५/२५ गरी कुल ५० वटा फोटो राखिने जनाइएको छ ।

प्रतियोगिताको निर्णायकमा उद्योग, वन तथा वातावरण मन्त्रालयका उपसचिव दिवाकर पौडेल, नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलिया, फोटो पत्रकार क्लव नेपालका अध्यक्ष विकास कार्की, फोटो पत्रकार क्लव नेपालका सदस्य बिजय गजमेर र फोटो पत्रकार समूह पोखराका पूर्व अध्यक्ष कृष्णमणी बराल रहेका थिए ।

पर्यटन प्रवर्द्धनका लागि फोटो कलेक्सन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको गण्की प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्शालले प्रष्ट्याए ।

उनले विदेशमा जाँदा स्थानिय प्रोडक्टको फोटो फ्रेमिङ गरेर दिने चलन रहेको भन्दै अब गण्डकी प्रदेशले पनि स्थानिय प्रोडक्टको फोटो प|mेमिङ गरेर चिनो निर्माण गर्ने । यसले पर्यटन प्रवर्द्धनमा सघाउने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले फोटो प्रतियोगिताले उत्कृष्ट फोटोहरुको कलेक्सन गर्न सघाएको र यसलाई पर्यटन प्रवर्द्धनमा प्रयोग गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?