+
+

नमुनाको मृत्यु रहस्यमय : जाहेरी नलिएको भन्दै प्रहरी कार्यालय घेराउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते २०:२०

३ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमामा गत साउन २८ गते भएको महिलाको मृत्यु रहस्यमय बनेको छ । साउन २८ गते तिलोत्तमा १५ कोटीहवामा आफ्नै घरको पंखामा झुण्डिएको अवस्थामा प्रहरीले २४ बर्षकी नमुना लम्सालको शव फेला पारेको थियो ।

घटनाको अर्काे दिन २९ गते नमुनाका माइती पक्षले मृत्यु शंकास्पद भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिए । तर प्रहरीले नमुनाका बुबा सैनामैना नगरपालिका गोविन्दप्रसाद लम्सालको जाहेरी दर्ता गर्न मानेन ।

घटनाबारे प्रहरीले चासो नै नदिएको भन्दै आइतबार करिब २ सयको संख्यामा मृतकका आफन्तजन र माइतीपक्ष इलाका प्रहरी कार्यालय बुटवल घेराउ गर्न पुगेका थिए ।

नमुनाको विहे गत साल माघ २४ गते तिलोत्तमा कोटीहवाका धिरज घिमिरे -धुर्ब) संग भएको थियो । उनको पाठेघरको अपरेसन भएकाले राम्रोसँग हिँडडुल गर्न पनि सक्दिनथिन् ।

‘छोरी माइतबाट फर्केको ८ दिनका दिन यस्तो घटना भयो, नानुले श्रीमान्ले जबर्जस्ती यौन उत्पीडन दिने,हिंसा गर्ने गरेको सुनाउथिन्,सायद कारण यही होला’ बाबु गोविन्दप्रसाद लम्सालले भने ।

उनले घटनास्थल प्रकृति मुचुल्का र शवको जाँच प्रकृति मुचुल्का र पोस्टमार्टम रिर्पोट हेर्न पाउने माग गरे । ‘प्रहरीले किटानी जाहेरी दर्ता गरोस् अनि सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरोस् लम्सालले भने ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले घटनाबारे सुुक्ष्म अनुसन्धान भएको र नमुनाका आफन्तजनलाई २ दिनको म्याद दिएको बताए ।

‘घटनाप्रति हामी पनि गम्भिर छौं तर आत्महत्या भएको अवस्थामा नै प्रहरीले उनको शब फेला पारेर मुचुल्का उठाएको छ’ उनले भने ”मृतकका बुबाले किटानी दिनुभएको छ,यदि ज्यान मुद्दा नै भए हामीले नै सुक्ष्म अनुसन्धान गरी कारबाही गर्छौं ।’

प्रहरीले घटना दर्ता गर्नका लागि २ दिनको म्याद दिएपछि नमुनाका आफन्तजनले केहीबेर नाराबाजी गरेर घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?