Comments Add Comment

लमजुङको पुस्तुनदेखि लैनचौरको डाँडोसम्म !

स्थानः लैनचौर ।

समयः साँझ ।

यस्तो लाग्छ, मौसमले घुम्टो ओढ्दैछ । धर्तीमा अध्याँरो पोखिँदैछ । पश्चिमी आकाशबाट घाम अलप भइसकेको छ ।

बाहिर सिमसिम पानी परिरहेको छ । आँप, धुपी, अम्बाका बुट्यानले घेरिएको बगैंचामा रंगविरंगी फूलहरु हावाको झोंकासँगै बयेली खेलिरहेका छन् ।

घरआँगनमा उत्सव छ । टेन्ट टाँगिएको छ । चहलपहल छ । अघिल्तिर सयवटा दियो बालिएको छ । त्यही दियोको एकमुष्ठ ज्योतिमा धपक्कै बलेको छ, राष्ट्रकवि माधवप्रसाद घिमिरेको अनुहार ।

गलामा सय थुँगा फूलको माला पहिर्‍याएपछि राष्ट्रकविको अनुहारको आभा अरु बढी विस्तारित भएको छ । उमेरले सय बर्ष टेकेका उनीसँग खुसी साट्न पुगेका छन्, सिस्नुपानी नेपालका कलाकर्मी मनोज गजुरेल, टंकप्रसाद आचार्य, लक्ष्मण गाम्नागे । र, अरु पनि । भनौं, त्यहाँ हास्य कलाकारको मेला लागेको छ ।

सय बर्ष पुगेको मेसोमा ‘जन्मोत्सव’ मनाइरहेका राष्ट्रकवि सम्भवतः शनिबार बिहानैदेखि नै बेफुसर्दिला थिए । साँझसम्म उनलाई केही आराम दियो सिस्नुपानी नेपालको व्यङ्ग कविताले । कविता सुनाउनेमा थिए, लक्ष्मण गाम्नागे र मनोज गजुरेल ।

यतिबेलासम्म सिस्नुपानीकै कलाकर्मीले बाँसुरी र तबलामा ‘फूलको थुँगा बहेर गयो, गंगाको पानीमा’ धुन सुनाए । आफैंले रचेको गीत सुनेर राष्ट्रकविको आँखाको डिलमा आँशु रसायो । अघिल्तिर प्रज्वलित दीपको प्रकाशमा त्यो आँशु विहानीपख देखिने शीतको थोपाझैं टल्किए ।

यही श्रृंखलामा शिशिर योगीको आवाजमा मधुर गीत गुञ्जियो, ‘सारंगी त रेटे पनि बोल्छ मिठै धून ।’ यो पनि उनै राष्ट्रकविको हातले खिपेको गीत थियो । सुनेर राष्ट्रकवि दम्पती थप भावुक भए ।

अब पालो आयो, मोमिलाको । त्यसपछि रामप्रसाद ज्ञवालीको । त्यसपछि मल्लिका खतिवडाको । उनीहरुले पालै-पालो कविता बाचन गरे ।

सिस्नुपानी नेपालका तर्फबाट राष्ट्रकविलाई उपहार पनि ल्याइएको रहेछ । उपहारको झोला हात पर्नासाथ राष्ट्रकविले धैर्य गर्न सकेनन् । उनले ठट्यौली पारामा भने, ‘झोलाभित्र के छ भनेर हेरौं भने लोभी रहेछ भन्लान् । तर, मलाई चाहिँ भित्र के छ भनेर जान्न मन लाग्यो ।’

सबैले सहर्ष ‘हुन्छ’ भनेपछि राष्ट्रकविले उपहारको झोला खोले । ऊनीको स्वेटर रहेछ । देखेर राष्ट्रकवि दंग परे । भिडबाट सिस्नुपानीका आचार्य बोले, ‘अब यो स्वेटर नफाटेसम्म हजुरले लगाउनुपर्छ ।’

दीर्घायुको शुभकामना दिने यो बडो कलात्मक वाक्य थियो । सुनेर राष्ट्रकवि फुरुङ्ग भए । मनोज गजुरेलले राष्ट्रकविको मुस्कान हराउन दिएनन् । यसो भन्दै, ‘ज्येष्ठ नागरिक आफैंमा सम्मानयोग्य हुन्छन् । मानिसका लागि एक शताब्दी जिउनु तीर्थ समान हुन्छ । राष्ट्रले मानेको, देशले जानेको र जनताले चिनेको राष्ट्रकविलाई एक सयौं जन्मदिनको शुभकामना दिन पाउनु हाम्रो पनि सौभाग्य हो ।’

असल पिता, जसका सन्तानले डाँडाकाँडा ढाके

कविको र लेखकको रुपमा अत्यन्त सफल कवि घिमिरे छोराछोरीको नजरमा असल पिता पनि हुन् । उनका ६ छोरी र २ छोरा गरी ८ सन्तान छन् ।

जेठी पत्नी गौरीका तर्फबाट दुई छोरीहरु शान्ति र कान्ति छन् भने कान्छी महाकालीका तर्फबाट मन्जु, उषा, किरण र ज्योती गरी ४ छोरीहरु र दुई छोराहरु इन्दिवर र राजीव घिमिरे छन् ।

सबै छोराछोरी आफ्नो पेशागत जीवनमा सफल छन् । छोरीहरुमा किरण बाहेक अरु पाँचै जना शिक्षण पेशामा छन् । किरण भने चिकित्सक हुन् ।

त्यस्तै छोराहरु दुवै इन्जिनियर । कान्छा छोरा राजीव भन्छन्, ‘बुबा आफैंले शिक्षण पेशा समेत गर्नुभएकाले उहाँ शिक्षण पेशालाई सम्मान गर्नुहुन्छ त्यसैले दिदीहरुलाई शिक्षण पेशामा लाग्न उहाँले नै उत्प्रेरित गर्नुभयो ।

उनका छोराछोरी आफ्नो पेशाबाहेक सिर्जनात्मक क्षेत्रमा पनि छन् । ज्योति पनि साहित्यिक क्षेत्रमा चिनिएको नाम हो । त्यस्तै जेठी छोरी शास्त्रीय संगीतकार हुन् भने कान्ति चित्रकार हुन् । राजीव पनि चित्रकार हुन् । अन्यले पनि फुटकर लेखरचना लेख्ने गरेका छन् ।

राष्ट्रकै अभिभावक राष्ट्रकविको पुत्र हुनुको सौभाग्य विरल घटना भएकोले आफूहरु सौभाग्यशाली रहेको उनका कान्छा छोरा राजीव बताउँछन् ।

उनी आफ्नो पितालाई सफल कवि मात्रै नभई सफल र असल पिताको रुपमा पनि चित्रण गर्छन् । उनी भन्छन्, ‘बुबाले हामीलाई कहिल्यै पनि निर्देशन दिनुभएन, ठूलो स्वरमा कराउनुभएन सँधै हामीलाई स्वतन्त्रता दिनुभयो तर, हामीले के गर्दैछौं त्यसको भने सँधै विचार गर्नुभयो । उहाँको यही सकरात्मक सोच र जीवनवादी दृष्टिकोणको कारणले पनि हामी सबै दाजुभाइ दिदीबहिनी सफल भएका छौं ।’

एकपटक जन्मभूमि टेक्ने रहर

नियमित औषधि सेवन गर्नुपरे पनि उनको स्वास्थ्य स्थिति अहिले राम्रो छ । अझै पनि केही वर्ष बाँच्ने आत्मविश्वास उनमा छ । उनी अझै पनि लेखनमा सक्रिय छन् ।

केही वर्षअगाडिबाट सुरु गरेको महाकाव्य ‘ऋतम्भरा’लाई छिटै पूर्णता दिने तयारीमा छन् । छोरा राजीव भन्छन्, ‘उहाँले अझै पाँच वर्षसम्म गर्ने कामको योजना बनाउनुभएको छ ।

गत वर्ष उनी सिकिस्त बिरामी परे । नेपाल र भारतमा गरी ५ महिना उपचार गराइयो र अहिले स्वास्थ्यमा कुनै समस्या देखिएको छैन् । खानेकुरामा सामान्य दालभात तरकारी मन पराउँछन् ।

उनले आफ्नो जन्मभूमि लमजुङको पुस्तुन टेक्न नपाएको एक दशकभन्दा धेरै भयो । उनलाई एकपटक जन्मस्थान पुस्तुन पुग्ने रहर छ तर, स्वास्थ्य स्थिती र यातायातको असुविधाको कारण सम्भव देखिएको छैन् ।

छोरा राजीव भन्छन्, ‘हेलीकप्टरमा लैजान पनि स्वास्थ्यमा गाह्रो पर्ने देखिएकाले बल गरिएको छैन ।

अहिले पनि उनले सपनामा आफू हुर्केबढेको लमजुङको पुस्तुन वरिपरिकै डाँडापाखा देख्ने गरेको कुरा बताउँछन् । उनलाई आफ्नो गाँउको असाध्यै माया छ ।

लमजुङको गाँउबाट देखिने हिमचुलीको झल्को मेटाउनलाई नै उनले लैनचौरको डाँडोमा उत्तरतर्फ हिमाल र पश्चिमतर्फ स्वयम्भू देखिने उच्च ठाउँमा जग्गा किनेर घर बनाएको राजीव बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment