Comments Add Comment

गल्ली-गल्लीमा खसीबजारः उचाल्यो, किन्यो, घिस्यायो

३० असोज, काठमाडौं । दशैं लागेसँगै राजधानीका सडक तथा गल्लीमा मानिसहरुको उपस्थिति न्यून छ । बरु मुल सडकका छेउछाउदेखि गल्लीसम्म खसीबोका भेटिन्छन् ।

काठमाडौं शंखमूलका केदार पोखरेलले बबरमहल क्षेत्रमा १९ हजारको खसी किने । शंखमुलका स्थानीय उनी लामा-लामा कान भएको खसी डोर्‍याएर घर र्फकँदै गर्दा भेटिए । ‘हेर्दा राम्रै लाग्यो, उचालेर हुण्डीमुण्डीमा किनेँ, उनले अनलाइनखबरसँग भने ।

थापाथलीका मनोज न्यौपाने बिजुलीबजारको सडकछेउमा खसी देखेपछि लम्किँदै आए । केही बेरको मोलमोलाइपछि साढे १२ हजारमा २० किलोको खसी घिस्याउँदै घरतर्फ लागे ।

‘नजिकै पाएपछि किन जानू टाढा’ उनी भन्दै थिए ।


काभ्रेको महाभारत गाउँपालिका-२ डाँडापारीका दानबहादुर मोक्तानले तीन दिन हिँडाएर ११५ वटा खसीबोका काठमाडौं ल्याएका थिए । उनीसँग अब १० वटा खसीमात्रै बाँकी छन् ।

खसीबोकाका पेशेवर व्यवसायी मोक्तान यसपाली त्यति नाफा नभएको भन्दै दुःख दर्शाउँदै थिए । गाडीमा ल्याउँदा महंगो भाडा पर्ने र मुनाफा निकाल्न पनि गाह्रो पर्ने ठानेर हिँडाएर ल्याएको उनले बताए ।

सडक छेउ भेटिएका उनको बस्ने-खाने ठाउँ पनि त्यहीँनेर भएको छ । उनले खसीबोका रेखदेख गर्न श्रीमती र गाउँका दुई जना भाइलाई साथै ल्याएको रहेछन् ।

काभ्रेकै रोशी गाउँपालिका-१० का प्रलाद सापकोटाले १०५ खसीबोका मध्ये ९१ वटा बेचिसकेका छन् । बाँकी १४ वटा पनि भोलिपर्सिसम्म बिक्ने उनको आँकलन छ ।
काठमाडौंमा जति खसीबोका ल्याए पनि खपत हुने उनको बुझाई छ । ‘बिक्रि त भइहाल्छ, नभए काटेर पनि बेचिन्छ’ उनले भने ।

दशैंको बेला केही आम्दानी गर्ने उद्देश्यले गाउँका केही साथी मिलेर खसीबोका काठमाडौं ल्याएको उनले बताए ।

उदयपुर गाइघाटका उद्धिम श्रेष्ठले ल्याएका २०० खसीबोका मध्ये २० वटा जति बाँकी छन् । ओखलढुंगाबाट खसीबोका ओसारेका उनी बिजुलीबजार बन्दै गरेको आर्कबि्रज छेउमा ग्राहक पर्खिरहेका छन् ।

बचेका २० वटा सकेर फेरि ल्याउने उनको योजना छ ।

चलनचल्तीकै मूल्य

सडकछेउमा खसीबोका बेचिरहेका व्यवसायीले बोका ५९० रुपैयाँ प्रतिकिलो र खसी ५४० रुपैयाँ प्रतिकिलोमा दिइरहेका छन् । कसै-कसैले खसी ५८० रुपैयाँ पनि भन्दै थिए । तर, मोलमोलाइ गर्दा ५५० मै र्झन तयार भए । जिउँदै जोखेर वा हुण्डीमुण्डीमा दिन तयार भए ।

चौपायाँ खरिदबिक्री संघका अनुसार यो प्रचलित मूल्य नै हो । तौलको अन्दाज नहुनेले हुण्डीमुण्डीमा किन्दा ठगिने सम्भावना हुन्छ । उचालेर अन्दाज लगाउन सक्ने कतिपय उपभोक्ता घर पुगेपछि मासुको अपेक्षित परिमाण नआउँदा पछुताउनु पर्ने अवस्था आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment