२८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको अवसर पारेर काठमाडौ डायविटिज एण्ड थाइराइड सेन्टर तथा अल्का अस्पतालले मधुमेहसम्बन्धी वृहत सचेतनामूलक र्याली तथा नि:शुल्क स्वास्थ्य शिविर गरेको छ ।
ललितपुरको जावलाखेलबाट सुरु भएको र्याली कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक, जावलाखेल हुँदै अल्का अस्पतालको प्राङ्गणमा आएर टुङ्गिएको थियो । र्यालीमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए २, काठमाडौ डायविटिज एण्ड थाइराइड सेन्टर, लायन्स क्लब अफ काठमाडौ अल्का, लियो क्लब अफ काठमाडौंका प्रतिनिधिहरु सहभागी थिए ।
सेन्टरले ललितपुर तथा भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको समेत आयोजना गरेको थियो । जसमा पाँच सय जनाभन्दा वढीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरेको थियो । शिविरमा सहभागीहरुको रगतमा चिनीको मात्रासमेत परीक्षण गरिएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।
‘परिवारका कुनै एक सदस्यलाई मधुमेह भएमा परिवारका अन्य सदस्यलाई पनि मधुमेह हुने सम्भावना उच्च हुन्छ । यसको न्युनीकरण तथा नियन्त्रणका लागि समाज र परिवारजनको ठूलो भूमिका रहने भएकोले यस वर्षको मधुमेह दिवसको नारा नै ‘परिवार र मधुमेह’ राखिएको छ’, वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. अंशुमली जोशीले भने ।
विशेषगरी, ५० प्रतिशत मधुमेह रोग वंशाणुगत कारणले हुने भएकोले यसमा विरामी मात्र नभएर परिवार पनि सचेत हुनु पर्ने उनले बताए । भने, ‘५० प्रतिशत मानिसमा यो रोग वंशाणुगत हुने भएकोले यसलाई पारिवारिक रोग पनि भनिन्छ । यसको न्युनीकरणका लागि पनि परिवारका सदस्यको जीवनशैली लगभग एकै किसिमको हुनुपर्छ ।’
प्रतिक्रिया 4