२७ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बासकोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गल्ती गरेको पाइए कारबाही हुने बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले शेर्पामाथि लागेका आरोपबारे सरकारले छानबिन सुरु गरेको जानकारी दिए । ‘उहाँबारे आएका विषयमा सरकार जानकार छ । आरोपबारे बुझ्न परराष्ट्र मन्त्रालयमार्फत नै नेपाल बोलाइएको छ’,सरकारको प्रवक्तासमेत रहेका बास्कोटाले भने, ‘आरोप पुष्टि भए कारबाही हुन्छ ।’
राजदूत शेर्पालाई आफ्नै सवारी चालक वाङ्छु शेर्पाले राजदूत शेर्पा र उनका श्रीमान वाङ्छु नमाङसोनाम शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया पुर्याएको आरोप लगाएका थिए ।
तर, अष्ट्रेलियाली नेपाली दूतावासले विज्ञप्ती निकालेर त्यसको विरोध गरिसकेको छ । दूतावासको विज्ञप्तीमा वाङछु शेर्पा बहुमुल्य सामानहरु चोरी गरेर भागेको र यसबारे अष्ट्रेलियाको परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायलाई जानकारी गराएको उल्लेख गरिएको थियो ।
तर, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा धेरै प्रश्नहरु उठिरहेका बेला सञ्चारमन्त्री बास्कोटाले शेर्पालाई लगाइएका आरोपहरुबारे अनुसन्धान भइरहेको बताएका हुन् । गत बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विज्ञप्ति निकालेर राजदूत शेर्पामाथि छानबिन गर्न माग गरेको थियो ।