+
+

कार्यालय सहयोगीको संलग्नतामा नक्कली नागरिकता बिक्री, चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १८:३४

२८ मंसिर, जनकपुरधाम । धनुषामा जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगीको संलग्नतामा नक्कली नागरिकता बिक्री गर्ने गरेको पाइएको छ ।

कार्यालयका सहयोगीसहित नक्कली नागरिकता बिक्री गर्ने गिरोहका चारजना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा जनकपु उपमहानगरपालिका-२० देवपुरा रुपैठा बस्ने ३९ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका-५ का ४९ वर्षीय गंगा साह, रौतहटको दुर्गा भगवती गाउँपालिका-४ घर भइ जनकपुर उपमहानगरपालिका- ४ बस्ने हेमन्तकुमार पाण्डे र जनकपुर उपमहानगरपालिका-४ बस्ने जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डल रहेका छन् ।

रोशनकुमार चौधरीको डेरामा विभिन्न व्यक्तिहरुको नक्कली नागरिकता, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसाइसराइँको प्रमाण बनाउने कार्य गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए ।

रोशनको कोठामा खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको नामको नेपाली नागरिकताको प्रमाणपत्र, सादा नाम नभरेको नेपाली नागकिरताको प्रमाण पत्रहरु, जिल्ला प्रशासन कार्यालय धनुषाको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाध्यक्षको छाप, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्तासहितको प्रमाण पत्रहरुको ठेली, नागरिकता फारमको ठेली, नेपाली नागरिकतामा टाँस हुने होलोग्राम र नगद एक लाख ५३ हजार बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूबाट बरामद गरिएको कागजात ।

पक्राउ परेकाहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली नागरिकता मात्र नभइ राहदानी, मृत्यु दर्ता, जन्म दर्ता र बसाइसराइँको प्रमाणपत्र बनाउने गरेको पाइएको छ ।

डीएसपी शाहीले धनुषा जिल्ला अदालतबाट सरकारी दस्तखतको छाप कीर्ते र नागरिकता मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेकोले बताए ।

प्रशासनकै कतिपय कर्मचारीको मिलोमतो रहेको आशंका व्यक्त गर्दै डीएसपी शाहीले कर्मचारीहरुमाथि समेत छानबिन गरी कारवाही प्रक्रिया थालिने बताए ।

यता प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंणेलले पनि नक्कली नागरिकता बनाउने टोलीको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?