+
+

पर्सा मालपोतका लेखापढी कानुन व्यवसायीद्वारा काम बन्द

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३ गते १५:१६

३ फागुन, वीरगञ्ज । पर्साको मालपोत कार्यालयका लेखापढी कानुन व्यवसायीले शुक्रबार काम बन्द गरेका छन् । कार्यालय प्रमुख गमबहादुर विकले लेखापढी कानुन व्यवसायीविरुद्ध अपमानजक शब्द प्रयोग गरेको भन्दै ‘पेन डाउन’ गरेका हुन् ।

उनीहरुले कार्यालय प्रमुखको विरोधमा नाराबाजी गर्दै लेखापढीको कामकाज ठप्प पारेका छन् । लेखापढी कानुन व्यवसायी एशोसियसन पर्साका अध्यक्ष रामाधार साह कलवारले प्रमुख मालपोत अधिकृतले स्थानीय सञ्चार माध्यममा लोखापढी कानुन व्यवसायीहरुको मान मर्दन हुने भाषा प्रयोग गरेकोले विरोध गर्नुपरेको बताए । ‘लेखापढी कानुन व्यवसायीहरुको मानमर्दन हुने गरी भाषा सञ्चारमाध्यम बोल्नुभएछ । त्यसैको विरोधमा हामीले कलम डाउन गरेका छौं’ उनले भने ।

कार्यालय प्रमुख विकले भने लेखापढी कानुन व्यवसायीको विरोधमा आफूले कतै केहि नबोलेको दावी गरेका छन् । ‘मैले लेखापढी कानुन व्यवसायीको बारेमा कतै केही भनेको छैन, कसैलाई अन्र्तवार्ता दिएको पनि छैन ।’ उनले भने ‘हल्लै हल्लाको भारमा उहाँहरु प्रदर्शनमा उत्रनु भएको छ, आउनुस् कुरा गरौं भनेको उहाँहरु मान्नुभएको छैन ।’

लेखापढी कानुन व्यवसायी एशोसिएश पर्सामा ३ सय ७२ जना लेखापढी कानुन व्यवसायीहरु आन्दोलित छन् ।

विरोधको बाहना

मालपोत कार्यालयको हातामै कामकाज गर्दै आएका लेखापढी कानुन व्यवसायीलाई पछिल्लो समयमा हटाइएको छ । कार्यालय भित्र छिर्दा परिचयपत्र भिरेर जानुपर्ने व्यवस्था छ । पछिल्लो समयमा कार्यालय हाता भित्र बैंक राखेको विषयमा समेत उनीहरु असन्तुष्ट थिए ।

लेखापढी कानुन व्यवसायी एशोसिएशन पर्साका अध्यक्ष कलवारले बैंक स्थापना गर्दा आफूहरुले गरेको आग्रहलाई प्रमुख मालपोत अधिकृतले अस्वीकार गरेको बताए । ‘भित्र काम गरिरहेका थियौं, बाहिर जान भन्नुभयो, बाहिर आयौं, आईडी कार्ड बनाएर भित्र पस्न भन्यौं, त्यो पनि ग¥यौं’ उनले भने ‘‘एशोसिएसनले घाम पानीबाट जोगिनका लागि टिनको छाना भएको सेड बनाएका थियौं, अहिले त्यहीँ बैंक सञ्चालन गर्न खोज्दै हुनुहुन्छ । हामीले भित्र राख्नुस भनेर आग्रह गरेको मान्नुभएन ।’

प्रमुख मालपोत अधिकृत विकले भने बैंक राख्दा विवाद गरे पनि पछि सम्झाउँदा सहमत भएरै गएको बताए । मालपोत कार्यालयको तामेली शाखा रहेको कोठामा वाणिज्य बैंक राख्ने तयारी भइरहेको छ । नेपाल राष्ट्र बैंकसँग त्यसका लागि सहमति भइसकेको छ ।

तामेली कोठासँगै जोडिएको टिनको छाना भएको सेडमा तामेलीलाई सारेर बैंकलाई तामेली रहेको कोठामा राख्न खोजिएको प्रमुख मालपोत अधिकृत विक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?