शहरमा अहिले नाटकको रंग चढ्न थालेको छ । सिनेमा घर सुस्ताउँदै गर्दै रंगमञ्चमा भने बहार छाउँदै छ ।
करिब आधा दर्जन नाटकघरले केही समययता विश्राम पाएका छैनन् । एकपछि अर्को नाटकको शृंखला जारी छ । यसैबीच ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु हुँदैछ, आगामी सोमबारदेखि ।
अहिले भने लागौं, सर्वनामतर्फ । कालिकास्थानस्थित यस नाटकघरमा ‘रुपाकृ’ मञ्चन भइरहेको छ । नाटक कस्तो छ ? प्रस्तुती, कथावाचन, अभिनय कति रसिक छ ? यावत् उत्सुकता मेट्नुअघि नाटकको पृष्टभूमी बुझौं ।
संभवत नेपाली शब्द भण्डारमा ‘रुपाकृ’ को अर्थ भेटिदैन । रुपा र कृष्णको नामलाई समायोजन गरेर नाटकको शीर्षक राखिएको हो ।
वास्तविक पात्रमाथि कथा
रुपा र कृष्ण वास्तविक पात्र हुन् । रुपा मगर र कृष्ण वली केही समयदेखि यूट्यूबमा ‘भाइरल’ छन् ।
विद्युत प्राविधिक कृष्ण र रुपा मगरबीच अन्तरजातीय विवाह भएको थियो । एक फिल्मको छायांकनका क्रममा देखभेट भइरहँदा कृष्ण र रुपाको मन साटियो । उनीहरुले बिहे गरे । तर, राम्ररी दाम्पत्य सुखभोग गर्न नपाउँदै कृष्ण वली जीवन–मरणको दोसाँधमा पुगे, विद्युतीय झट्का लागेर ।
अनेक उपचारपछि उनको प्राण जोगियो । तर, दुई हात र एउटा खुट्टा जोगिएन । उनी शारीरिक रुपले अशक्त भए । यहि मोडमा आइपुगेपछि हो, रुपा र कृष्णवीचको स्वच्छ माया–प्रेम दुनियासामू पुगेको ।
अशक्त श्रीमानप्रति रुपाको त्याग र समर्पण वास्तवमै अनुकरणीय थियो । उनीहरुको प्रेम–गाथा सर्वत्र फैलियो । अन्ततः देश–विदेशका मनकारी नेपालीले कृष्ण र रुपाको अनुहारमा खुसी देख्न चाहे । उनीहरुले स्वतस्फूर्त आर्थिक सहयोग जुटाइदिए । अहिले यो जोडीको अनुहारमा मुस्कान पर्किएको छ । कृष्ण कृत्रिम हात खुट्टाको सहारामा जीवन बाँच्ने आशामा छन् ।
हो, यही कथालाई दुरुस्त उतारिएको छ, रंगमञ्चमा । अत्यन्तै कलात्मक शैलीमा । नाटक हेरिरहँदा कुनै धमाकेदार लभस्टोरी फिल्म हेरिरहेको अनुभूति हुन्छ ।
हो, नाटकलाई केही फिल्मी लेपन दिइएको छ । संभवत रुपा र कृष्ण दुबै फिल्मका सौखिन भएर हुनसक्छ । वा उनीहरुको चिनापर्ची फिल्मको छायांकन हेर्ने क्रममा भएर पनि हुनसक्छ । र, त्यो भन्दा पनि बढी संभावना चाहि, नविन अवाल जोडिएर हुनसक्छ ।
नविन अवाल । खासमा उनले अहिलेसम्म एउटा चलचित्र निर्देशन गरेका छन्, बिजुली मेसिन । तर, यही फिल्मले उनलाई अब्बल निर्देशक भनी चिनाएको छ । नविन यही नाटकमार्फत रंगमञ्च छिरेका छन् । नाटकको स्क्रिप्टदेखि प्रस्तुतीसम्ममा उनको खास हस्तक्षेप देखिन्छ ।
नाटकको निर्देशक चाहिँ रेनुका कार्की हुन् । नविन प्रस्तुतकर्ता । दुबैको सराबरी मेहनत देखिन्छ, रुपाकृमा ।
रुपाकृको सेरोफेरो
नाटक त्यही विन्दुबाट सुरु हुन्छ, जहाँ कृष्ण र रुपाको देखभेट भयो । कथा उनीहरुको प्रेम–रोमान्स हुँदै अगाडि बढ्छ । दुबैको विवाह हुन्छ । वैवाहिक जीवन हासीखुसी वितेको छ । भनिन्छ नि, हासो–खुसी जीवनका क्षणिक पाहुना हुन् । सधै रहँदैन । रुपा–कृष्णको खुसीको आयु पनि लामो समय टिक्दैन ।
विवाह गरेको केही समय बित्न नपाई उनीहरु दुःखद मोडमा पुग्छन् । तर, दुःख पनि त सधै रहँदैन नि ।
जीवन जब दुःख र पीडाको भूँमरीमा फस्न पुग्छ, त्यहाँबाट उम्कनका लागि धैर्यता, साहस र दृढताको खाँचो हुन्छ । खासमा ‘रुपाकृ’ धैर्यता, साहस र दृढताकै कथा हो । आवरणमा यसले प्रेम र समर्पणको कथा भन्छ । यसको गुदी भने धैर्यता र दृढता नै हो । यसले बोक्ने सन्देश भनेको, प्रेम र प्रेरणा हो । अटुट प्रेम र प्रेरणाले जीवनमा सधै उत्साहको दियो बालिरहन्छ ।
संयोगान्त मोडमा टुंगिने नाटक तुलनात्मक रुपमा छोटो छ । नाटक हेर्दाहेर्दै अनायसै ‘ह्याप्पी इन्डिङ’ हुँदा दर्शकलाई कुर्सीबाट उठिहाल्न मन लाग्दैन ।
सवल पक्ष
कृष्ण र रुपाको नाट्य रुपान्तरण घतलाग्दो छ । हुन त यो एक सपाट प्रेमकथा हो । तर, यसलाई निकै बान्की मिलाएर प्रस्तुत गरिएको छ ।
रुपा र कृष्ण भेट भएको, माया प्रेम बसेको, विहे गरेको, नोकझोंक गरेको, दुर्घटना भएको, फेरि प्रेममय जीवनमा फर्किएको । यी सबै दृश्यलाई फिल्मको पर्दामा झै देख्न सकिन्छ । कहिले भावुक बनाउँछ, कहिले रोमान्टिक । मनलाई स्थिर हुन दिँदैन ।
मूल पात्र कृष्ण र रुपा हुन् । कथा पनि उनीहरुको जीवनभन्दा बाहिर छैन । तर, दुई पात्रलाई मात्र उभ्याउँदा त्यति रोमान्चक नहुन सक्थ्यो, जति पृष्ठभूमिमा पात्रहरु पेश गरिएको छ ।
रुपाको भूमिकामा सुनिशा बजगाई र कृष्णको भूमिकामा सुदिपजंग कार्कीको अभिनय औसत छ । कतिपय ठाउँमा अलि नाटकीय लाग्छ ।
यो प्रेमिल नाटकलाई प्राण दिने अर्को तत्व भनेको पाश्र्व ध्वनी हो । उत्सव बुढाथोकीले पाश्र्व ध्वनीमा एकदम मेहनत गरेका छन् । प्रकाश परिकल्पना सुनिल पोख्रेलको हो । प्रकाश परिचालन कृष्ण खड्काले गरेका हुन् ।
खासमा रंगमञ्चमा कथा, पात्र, अभिनय, प्रस्तुतीले जति महत्व राख्छ, त्यसलाई अरु जोडदार बनाउने काम ध्वनी र प्रकाशले गर्छ । नाटक ‘रुपाकृ’ को प्रकाश संयोजन ध्वनी जस्तो जोडदार छैन ।
कमजोर पक्ष
नाटकले चल्तीको कथा उठान गरेको छ । ‘भाइरल’ भइसकेको कथालाई नाट्य रुपान्तरण गरेको छ, त्यसैले आयतित कथा नभए पनि यो दमदार भने होइन ।
यसैले कथाको रहस्यले दर्शकलाई बाँधेर राख्दैन । रुपाकृको चुनौती पनि यही हो । नाटक सुरु भएपछि त्यसपछिका घटनाक्रम कसरी आउँछ, जान्छ सबै दर्शकलाई पहिल्यै थाहा हुन्छ ।
यद्यपि नाटकलाई कथाले मात्र पनि डोहो¥याउने होइन, त्यसको शिल्पले बाँध्ने हो । यस हिसाबले चाहि नाटक ‘रुपाकृ’ हेर्नलायक छ ।
नाटक–रुपाकृ
निर्देशक–रेनुका राई
कलाकार– सुनिशा बजगाई, सुदिपजंग कार्की, सुमन कुईकेल, लकेश राई, मयराम ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, रनिव जोशी, परि शाक्य ।
प्रकाश परिकल्पना– सुनिल पोख्रेल
प्रकाश परिचालन– कृष्ण खड्का
संगीत परिकल्पना– उत्सव बुढाथोकी
कोरियोग्राफर– अर्जुन वि.सि.
मन्च परिकल्पना– नेनि सुनुवार, विपुल थापा मगर
मन्च व्यवस्थापन– सुनिशा बजगाई