Comments Add Comment

पाँच दिनमा १३ सय घट्यो सुनको भाउ

Photo Credit : फाइल फाेटाे

१९ फागुन, काठमाडौं । पछिल्लो पाँच दिनमा सुनको भाउ एक हजार ३ सय रुपैयाँ घटेको छ । १४ फागुनमा प्रतितोला ६२ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आइतबार ६१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शनिबार सुनको भाउ प्रतिऔंस झण्डै २० डलर घटेपछि त्यसको प्रभावले नेपालमा पनि घटेको हो ।

१५ फागुनमा ६२ हजार ६ सय रहेको सुनको भाउ त्यसको भोलिपल्ट १६ फागुनमा दुई सय रुपैयाँ घट्दै ६२ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै १७ फागुनमा एकैदिन ४ सय रुपैयाँ घटेर प्रतितोला ६२ हजारमा कारोबार भयो । शनिबार एकैदिन थप पाँच सय रुपैयाँ घट्दै सुनको भाउ प्रतितोला ६१ हजार ५ सयमा आइपुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शनिबार १९.१४ डलर घट्दै आइतबार सुन प्रतिऔंस एक हजार २ सय ९३ डलरमा कारोबार भइरहेको छ । अमेरिका र चीनबीचको व्यापारिक तनाव हल हुने संकेतपछि त्यसको सोझो प्रभाव सुन बजारमा परेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

आइतबार तेजाबी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ६१ हजार ७ सय रहेको तेजाबी सुनको भाउ शनिबार ५ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी शुक्रबार ७ सय ७० रुपैयाँ प्रतितोला रहेकोमा १० रुपैयाँ घटेर आइतबार ७ सय ६० मा किनबेच भइरहेको छ ।

नेपाली बजारमा दैनिक १८ देखि २० किलो सुन किनबेच हुने गरेको छ । तर, सुन महंगो हुँदा बिक्री बढ्न नसकेको व्यवसायी बताउँछन् ।

सिजनमा समेत सुनको मूल्य वृद्धि हुँदा कारोबार घटेको व्यवसायी मणिकरत्न शाक्य बताउँछन् । विवाहको लगन सकिँदै गएकाले पनि अब सुनको बिक्री झन् घट्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment