Comments Add Comment

महोत्तरीको बर्दिबासमा स्नातकमा कृषिको पढाइ सुरु

१ चैत, महोत्तरी । महोत्तरीको बर्दिवासमा स्नातक तहमा कृषि विषयको पढाइ सुरु भएको छ ।

कृषि तथा वन विज्ञान विश्व विद्यालयले बर्दिवासमा आंगिक कलेज स्थापना गरी कृषि विषयको स्नातक तहको पढाइ सुरु गरेको हो ।

पठनपाठन झन्डै एक महिना ढिलो गरी सरु भएको हो । कृषि तथा वन विज्ञान विश्व विद्यालयले बर्दिवास नगरपालिका ६ स्थित प्राकृतिक स्रोत ब्यवस्थापन कलेज स्थापना गरेसँगै पठनपाठन सुरु भएको हो । कृषि स्नातक तह प्रथम सत्रको कक्षा एक समारोहबीच उदघाटन भएको छ ।

कलेजले नव विद्यार्थीहरुलाई बर्दिवास नगरपालिकाका नगरप्रमुख विदुरकुमार कार्की र कृषि तथा वन बिज्ञान विश्व विद्यालयका डीन डा.जयप्रकाश दत्तले फूलमाला अबिर लगाएर स्वागत गरेका थिए । हाल ५४ जना विद्यार्थीहरुको पठनपाठन हुने कलेजले जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्व विद्यालयले आंगिक कलेजको रूपमा बर्दिवास नगरपालिका ६ स्थित कृष्णपुरमा प्राकृतिक स्रोत ब्यवस्थापन कलेज २०७५ कात्तिक १९ गते स्थापना गरेको हो । हाल कलेजको भवन नभएको कारण कृष्णपुर स्थित जनजागृति माद्यामिक विद्यालयमा पठनपाठन हुने विश्वविद्यालयका डीन दत्तले जानकारी दिए ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीले बर्दिवास नगर क्षेत्रलाई प्रदेश नम्बर २ को शैक्षिक हवको रूपमा विकास गर्न कृषि कलेजले ठुलो योगदान पुगेको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन डा.जयप्रकाश दत्तले प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा केही दिनभित्रै प्रधानाध्यापक नियुक्त गर्ने बताए ।

कलेज स्थापनाको लागि बर्दिवास नगरपालिका ६ का किसानले ६ विघा २ कठ्ठा जमिन न्युनतम मुल्यमा उपलब्ध गराएका हुन् । कलेज स्थापनाको लागि बर्दिवास नगरपालिकाले १३ लाखमा जग्गा खरिद गरिदिएको हो ।

अपुग जमिन समेतको व्यवस्थापनमा नगरपालिकाले पहल थाल्ने बर्दिवास नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment