११ वैशाख, बाँके । प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार सकिएको छ । नेपालगञ्ज रंगशालामा आयोजित समापन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरे ।
समापन कार्यक्रममा बोल्दै उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कमी कमजोरी नवौं प्रतियोगितामा नदोहोर्याउन सुझाव दिए । आफ्नै प्रदेशमा भएको आठौं खेलकुदले सबैलाई एक बनाएको भन्दै गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता झनै भब्य हुने उनले कामना गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ सालको फागुन २० देखि २७ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्ले निर्णय गरिसकेको छ ।
उनले भने, “विशेषगरी बाँके र दाङमा भएको यो आठौं राष्ट्रिय खेलकुदले सबैलाई एक बनाएको छ । यहाँबाट प्रतिभावान खेलाडीको जन्म पनि भएको छ । म बधाई दिन चाहन्छु राष्ट्रिय कीर्तिमान बनाउने खेलाडी तथा पदक विजेतालाई ।”
उपराष्ट्रपति पुनले आफू राष्ट्रिय प्रतियोगितामा सानोमा छनोट हुन नपाउँदा एकदमै दुख लागेको सुनाउँदै खेलाडीलाई झनै हौसलाको साथ खेल्न आग्रह गरे । उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुने आशा पनि व्यक्त गरे । उनले भने, “म विश्वस्त बनाउन चाहन्छु कि नेपालमा हुने १३औं साग तोकिएकै समयमा हुनेछ । अब त्यसको तयारीमा लाग्नुहोस् ।”
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता यही डिसेम्बरमा काठमाडौं र पोखरामा हुदैछ ।