+
+
Shares

बँदेललाई थापेको विद्युतीय धरापमा परेर युवकको मृत्यु, शव गाड्ने ५ जना पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७६ वैशाख ११ गते १४:१६

११ वैशाख, बुटवल । बँदेल मार्न एकसाथ गएका साथीको विद्युतीय धरापमा परेर ज्यान गएपछि घटना लुकाउन शब गाड्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुन रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तिलोत्तमा नगरपालिका११ भुपु सैनिक टोलका ४० वर्षका मीनबहादुर गौतम १० दिनदेखि वेपत्ता भएकामा बुधबार बिहान प्रहरीले गौतमको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लगाएको थियो ।

प्रहरीका अनुसार गत वैशाख १ गते राति गौतमसहित स्थानीय ५–६ जनाको समुह गाउँ छेउको जंगलमा बँदेल मार्न भन्दै विद्युतीय धराप थाप्न हिंडेका थिए । तर गौतम हराएपछि परिवार र प्रहरीले खोजतलास गर्दै जाँदा बँदेललाई मार्न राखिएको विद्युतीय धरापमा परी मृत्यु भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए ।

विद्युतीय धरापमा परी गौतमको वैशाख १ गते राति २ बजेतिर मृत्यु भएपछि संगै गएका साथीहरुले घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा जंगलमा रगतको दाग देखिएको र गौतमसंगै गएका युवाहरुलाई सोधपुछ गर्दै जाँदा गौतमको विद्युतीय धरापमा परी मृत्यु भएको पछि २ गते राति जंगलमा खाडल खनी पुरेको स्वीकार गरेका मल्लले बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले मंगलबार ५ जनालाई पक्राउ गरेकोे जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिहरुसंगको सोधपुछ पछि बुधवार विहान मृतकको शव उत्खनन् गरिएको र उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको डीएसपी मल्लले बताए । गौतमको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको मल्लले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?