+
+
Shares

बाढीले क्षति पुर्‍याएका हाइड्रोपावरमा सर्वसाधारणको लगानी सुरक्षित छ ?

बैंकमा कम्पनीको अर्बौं ऋण बाँकी छ, तर आयोजना नै छैन, फेरि ऋण लिएर आयोजना बनाउनुपर्ने अवस्था छ । अरु थुप्रै वर्ष यसअघिको ऋणको ब्याज तिर्दै जानुपर्ने बाध्यता छ ।

कमल नेपाल कमल नेपाल
२०८३ असोज ४ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १० भदौको बाढीले क्षति पुर्‍याएका १३ जलविद्युत् आयोजनामध्ये ६ सूचीकृत कम्पनीको सेयर मूल्य ३०.४८ प्रतिशतसम्म घटेको छ।
  • रसुवागढी, चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेर बाँध, सुरुङ, विद्युत् गृह, उपकरण र प्रसारण लाइन पूर्ण क्षतिग्रस्त भएका छन्।
  • बीमा दाबी, पुनर्निर्माण, ब्याज भुक्तानी र लाइसेन्स अवधि घट्ने जोखिमका कारण प्रभावित जलविद्युत् कम्पनीहरू जटिल अवस्थामा पुगेका छन्।

४ असोज, काठमाडौं । १० भदौको बाढीका कारण क्षति पुगेका १३ जलविद्युत् आयोजनामध्ये ६ आयोजनाका कम्पनी दोस्रो बजारमा सूचीकृत छन्, अर्थात् क्षति भएका ६ आयोजनामा सर्वसाधारणको लगानी छ ।

ती कम्पनी हुन्-  रसुवागढी हाइड्रोपावर कम्पनी (१११ मेगावाट), चिलिमे जलविद्युत् कम्पनी (२२ मेगावाट), त्रिशूली जलविद्युत् कम्पनी (३७ मेगावाट), मैलुङखोला जलविद्युत् कम्पनी (५ मेगावाट), माथिल्लो मैलुङखोला (१४.८ मेगावाट) र साञ्जेन जलविद्युत् कम्पनी (४२.५ र १४.८ मेगावाट) ।

यी कम्पनीका आयोजनामा क्षति पुगेकै कारण बाढीपछि सेयर बजारमा तिनै कम्पनी सबैभन्दा धेरै प्रभावित भए । यीमध्ये पनि रसुवागढी, चिलिमे र त्रिशूली जलविद्युत् कम्पनीका आयोजनामा सबैभन्दा ठूलो क्षति भएको छ । आयोजनाका बाँध, सुरुङ, विद्युत् गृह, मेसिनरी उपकरण, प्रसारण लाइनमा पूर्ण क्षति पुगेको छ ।

आयोजनामा भएको यही क्षतिका कारण बाढीयता हालसम्म यी कम्पनीको सेयर मूल्य ३०.४८ प्रतिशतसम्म घटेको छ ।

कुन कम्पनीको मूल्य कति घट्यो ?

कम्पनी भदौ ९ मूल्य हालको मूल्य गिरावट दर %
रसुवागढी २४१.४० १७६ –२७.०९
चिलिमे ४७५.१० ३६९.७० –२२.१८
त्रिशूली ४४८.८० ३१२ –३०.४८
मैलुङखोला ४१४.४० ३२० –२२.७८
माथिल्लो मैलुङखोला ४२४ ३६४.५० –१४.०३
साञ्जेन जलविद्युत् कम्पनी २६१.१० २५० –४.२५

सेयर मूल्य घट्दा यी कम्पनीका सर्वसाधारण लगानीकर्ताले नोक्सानी त ब्यहोरे नै, अब आयोजना फेरि सञ्चालन हुने विषय झन् जटिल बनेको छ ।

बैंकमा कम्पनीको अर्बौं ऋण बाँकी छ, तर आयोजना नै छैन, फेरि ऋण लिएर आयोजना बनाउनुपर्ने अवस्था छ । अरु थुप्रै वर्ष यसअघिको ऋणको ब्याज तिर्दै जानुपर्ने बाध्यता छ । फेरि आयोजना बनाउँदा ऋण अझ थपिन जानेछ, उत्पादन भने अरु केही वर्ष शून्य अवस्थामै रहनेछ ।

आयोजना बनाउने हो भने पनि यसअघिको लागतभन्दा बढ्ने ऊर्जा उत्पादक व्यवसायीहरू बताउँछन् । ‘सायद धेरै उपकरण काम नलाग्ने हुन सक्छन्, अहिले ती उपकरण झन् महँगिएका छन्, त्यसले गर्दा अब आयोजना बनाउँदा पहिलेको लागतभन्दा बढी हुन सक्छ’ रसुवागढी हाइड्रोपावरका कम्पनी सचिव नरनाथ न्यौपानेले भने।

एकातिर विद्युत् उत्पादन बन्द रहिरहँदा लाइसेन्स अवधि घट्दै जाने अवस्था छ भने अर्कोतर्फ यसअघिको ऋणकै ब्याज थपिँदै जाने अवस्थाले जलविद्युत् कम्पनी जर्जर बनेका छन् ।

हाल आयोजना बनाउँदा औसतमा प्रतिमेगावाट लागत २० करोडजति लाग्ने गरेको छ । यस्तो लागत क्रमिक रुपमा बढ्दो छ । यद्यपि बीमा भएका आयोजनामा केही रकम बीमाबाट पूर्ति हुनेछ ।

बीमाका लागि सबैभन्दा पहिले आयोजनाहरुको क्षति मूल्याङ्कन गर्न सर्भेयर पठाइने इपानका अध्यक्ष मोहन डाँगीले बताए । ‘सर्भेयरले अध्ययन गरेपछि मात्रै क्षतिको विस्तृत विवरण आउनेछ, कतिपय आयोजनामा अझै सर्भेयर जाने अवस्था समेत बनिसकेको छैन,’ उनले भने । सर्भेयरले एक किसिमको मूल्याङ्कन गरेपछि बल्ल बीमा दाबीका प्रक्रिया अघि बढ्ने छ ।

सामान्यतः आयोजना सम्पन्न भएपछि कुल लागतमा लाइसेन्स अवधि बाँकी रहेको वर्ष अंकले भाग गरेर वार्षिक मूल्यह्रास निकाल्ने गरिन्छ । बीमा भुक्तानी मूल्यह्रास कटाएर हुने गर्दछ ।

बीमाका अलवा अब प्रभावित आयोजनालाई उपकरण ल्याउँदा भन्सार छुट दिने, सस्तो ब्याजमा ऋण प्रदान गर्ने, उत्पादन अनुमतिपत्रमा अवधि थपिदिने जस्ता प्याकेज सरकारले ल्याउनुपर्ने डाँगीले बताए ।

यदि बीमा कम्पनीहरू र सरकारले सहजीकरण गरिदिएमा ऊर्जा उत्पादकलाई पनि काम गर्न हौसला मिल्ने उनले बताए । सरकारले विभिन्न वित्तीय उपकरण जारी गरेर पनि व्यवस्थापन गर्न सक्ने उनले बताए । बाढीका कारण केही आयोजनामा पुग्ने पहुँचमार्ग समेत नरहेको अवस्था छ ।

‘सूचीकृतमध्ये तीन कम्पनीका आयोजना (रसुवागढी, चिलिमे र त्रिशूली ३ बी) मा अत्याधिक क्षति पुगेको देखिएको छ, अब ती आयोजना फेरि बनाउनका लागि सरकारले पनि केही राहतका प्याकेज ल्याइदेला’ एक संस्थापक लगानीकर्ताले भने ‘तर यी तीन आयोजना फेरि बनाउँदा नयाँ लागत समेत थपिने भएकाले लगानीकर्ताका लागि लाभदायी हुँदैन, त्यस्ता आयोजनाबाट विद्युत् उत्पादन होला तर लाभांशको आश हुँदैन किनभने दोहोरो ऋणको ब्याज  र साँवा तिर्न पुगे पनि राम्रो मान्नुपर्ने हुन्छ ।’

रसुवागढी हाइड्रोपावर कम्पनी

बाढीबाट सबैभन्दा बढी क्षति भएको रसुवागढी हाइड्रोपावर १११ मेगावाट क्षमताको हो । यो आयोजना गत वर्षको बाढीले समेत क्षति पुर्‍याएको थियो । त्यसको पुनर्निर्माण समेत पूरा हुन सकेको थिएन । ऋण थपेर पुनर्निर्माण सकिने बेला यो पटकको बाढीले आयोजना नै करिब सम्पूर्ण रुपमा पुरिएको छ ।

‘विद्युत् गृह पुरिएको छ, सुरुङ हिलोमाटोले भरिएको छ, बाहिरी संरचना कुनै बाँकी छैन’ कम्पनीका सचिव न्यौपानेले भने । यद्यपि अहिले आयोजना र आर्थिक पाटोभन्दा पनि मानवीय क्षतिको व्यवस्थापनका लागि कम्पनी जुटिरहेको उनले बताए । गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको दीर्घकालीन ऋण नै १४ अर्ब ७८ करोड छ ।

त्रिशूली जलविद्युत् कम्पनी

३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी सञ्चालन गरेको यो कम्पनीको अवस्था पनि जटिल छ । आयोजना निर्माणाधीन अवस्थामा रहेकै बेला ठूलो क्षति पुगेको छ । उत्पादनबाट आम्दानी सुरु भइसकेको थिएन ।

कम्पनीको ऋण नै ३ अर्ब ७५ करोड रुपैयाँ छ । सो ऋणको भुक्तानी र फेरि आयोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउनु कम्पनीको लागि चुनौती छ ।

चिलिमे जलविद्युत् कम्पनी

२२ मेगावाटको चिलिमे आयोजना बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ । प्रारम्भिक विवरणअनुसार विद्युत् गृह क्षेत्रमा ठूलो क्षति पुगेको छ । चिलिमेकै लगानी रहेको रसुवागढी हाइड्रोपावर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

त्यस्तै चिलिमेको पनि लगानी रहेको अर्को सान्जेन जलविद्युत् आयोजनामा पनि प्रसारणलाइन तर्फ क्षति भएकाले यो कम्पनीको आफ्नो आयोजना मात्रै नभई कम्पनीले लगानी गरेका दुई आयोजनामा समेत क्षति भएकाले सेयरधनीलाई ठूलो धक्का पुगेको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनी

५ मेगावाटको मैलुङ खोलामा विद्युत् गृह, पेनस्टक, स्विचयार्ड लगायतमा क्षति पुगेको प्रारम्भिक विवरण छ । अन्यको तुलनामा यो आयोजनाको क्षति कम छ । क्षतिको प्रारम्भिक अनुमान करिब ५ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।

कम्पनीले बाढीबाट आयोजना क्षतिग्रस्त भएको र विद्युत् उत्पादन प्रभावित भएको सूचना नेप्सेलाई दिएको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी

माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना १४.८ मेगावाट क्षमताको हो । माथिल्लो मैलुङ मुख्य समस्या स्विचयार्ड र प्रसारण लाइनतर्फ देखिएको छ । प्रारम्भिक क्षति अनुमान करिब २ करोड ८६ लाख रुपैयाँ रहेको रिपोर्ट छ ।

साञ्जेन जलविद्युत् कम्पनी

साञ्जेनका १४.८ मेगावाट माथिल्लो साञ्जेन र ४२.५ मेगावाट साञ्जेन आयोजना प्रभावित भएका छन् । इप्पानको प्रारम्भिक विवरणअनुसार यो आयोजनामा खास असर परेको छैन । त्रिशूली–३ बी हबको २२० केभी सबस्टेसन तथा प्रसारण संरचनामा ठूलो क्षति भएकाले मात्रै आयोजनाको बिजुली निकासी प्रभावित भएको छ ।

आयोजना सुरक्षित नै रहे पनि ग्रिड र प्रसारण संरचना कहिले पुनःनिर्माण हुन्छ, यकिन अवस्था नरहेकाले कम्पनीलाई असर परेको छ ।

तस्बिर – नेपाली सेना

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?