+
+
Shares

विमानस्थलको गिट्टी-बालुवा आपूर्तिमा फेरि अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते ११:३१

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि गिटटी-बालुवाको आपूर्तिमा फेरि अवरोध भएको छ । यसले गर्दा विमानस्थलको निकै संवेदनशील काम प्रभावित हुने जोखिम बढेको छ ।

ललितपुरको देवीचौरका स्थानीयले गिट्टी बालुवा आपूर्तिमा अवरोध पुर्‍याएका हुन् । क्रसरहरुले जथाभावी गिट्टी बालुवा निकालेको भन्दै देवीचौरमा स्थानीयले अवरोध गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम यस्ता समस्या आएपनि समाधान गरिने बताउँछन् । यसअघि काभ्रेबाट यो कामका लागि गिट्टी बालुवा आपूर्ति गरिन्थ्यो । तर, त्यहाँ पनि स्थानीयले अवरोध गरेका थिए ।

आफ्नो बालीनाली र बसोबास क्षेत्रमा नै क्षति पुग्ने गरी गिट्टी बालुवा निकाल्न नदिने पक्षमा स्थानीय उभिएका छन् ।

‘हामीले यो समस्या प्रधानमन्त्री कार्यासम्म पनि अवगत गराएका छौं । समाधानका लागि उचित पहल हुन्छ भन्ने अपेक्षा छ,’ गौतले भने,’हामी यो काम प्रभावित हुन नदिने गरी आवश्यक निर्माण सामाग्रीको आपूर्ति व्यवस्थापन गर्छौं ।’

गौतम यो काम निकै चुनौतिपूर्ण भएकाले कुनै किसिमबाट प्रभावित हुन नहुने बताउँछन् ।  चिनियाँ कम्पनीले यो काम निकै संवेदनशील भएर गरिरहेको छ ।

सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको छ । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे हुनेछ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम गर्दैछ ।

नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार चैत १८बाट सुरु भएको यो काम बढीमा ९० दिनभित्र सकाउने लक्ष्य छ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषर्ायाम लागेपछि निकै बढ्छ ।

चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेरिँदैछ ।

यो स्तरोन्नतिको काम पछि धाँजा फाट्ने समस्यालाई हट्ने दावी प्राधिरकणको छ । हाल रन-वेलाई भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइँदैछ ।

यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइनेछ । यो रिहृयाबको काम गरे विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ ।

धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्रे) जिरो टु बाट सुरु भएको छ । विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत सुरू गरिएको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?