+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सत्ता चलखेलमा एमालेले गुमायो तीन पद, लाभान्वित भए कांग्रेसका कृष्णप्रसाद

सत्ताको चलखेल गर्दा मधेशमा एक महिनाभित्र एमालेले प्रदेश प्रमुख, समाभुख र मुख्यमन्त्री गरी तीन पद गुमाएको छ । एमालेको चलखेलको विपक्षमा उभिँदा कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्न सफल भएका छन् । 

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर १९ गते २०:१०

१९ मंसिर, जनकपुरधाम  । २९ असोज साँझ ५ बजेतिर मधेश प्रदेश प्रमुख कार्यालयको अवस्था तनावग्रस्त थियो । नेपाली कांग्रेससहित एमालेका नेता कार्यकर्ताले कृष्णप्रसाद यादवलाई नियुक्ति दिनुपर्ने माग गरेका थिए ।

६ दलीय गठबन्धनबाट लोसपाका नेता जितेन्द्र सोनल पनि मुख्यमन्त्रीका लागि खडा भएका थिए । त्यसदिन कृष्ण यादव पुरानो मितिमा जनमतले दिएको समर्थनसहित ५७ सांसदको दाबी लिएर गएका थिए । ६ दलीय मोर्चाबाट सोनलले जनमत पार्टीको ताजा समर्थनसहित ५६ सांसदको पत्र लिएर गएका थिए । तर प्रदेश प्रमुख सावित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री बनाइन् ।

कृष्ण यादवको मुख्यमन्त्री बन्ने योजना त्यसबेला सफल भएन । त्यही प्रदेश प्रमुख कार्यालयमा झन्डै २ महिनापछि शुक्रबार साँझ ५ बजेको अवस्था फरक थियो । कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त गरेपछि ६ दलका सांसद र नेताकार्यकर्तासमेत उत्सहित थिए । कृष्ण यादव जिन्दावाद, सातदलीय गठबन्धन जिन्दावादको नारा लगाइरहेका थिए ।

साढे दुई महिना अघि सोनललाई मुख्यमन्त्री बनाउन सघाएका ६ दल आज कृष्णप्रसाद यादवलाई पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न ४ बजेतिर मुख्यमन्त्री कार्यालय नै पुगेका थिए ।

कांग्रेसका अलावा जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसदको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । एक सिटे नागरिक उन्मुक्तिको समर्थन भए पनि सांसद अनुपस्थित थिएनन् ।

मुख्यमन्त्री बन्ने यो अवसर एमालेले ठूलो दलका आडमा गरेको चलखेल र कांग्रेसले गठबन्धन फेर्दा जुटेको छ । २२ कात्तिकमा सोनलले विश्वासको मत लिने/दिनसम्म कांग्रेस एमाले सँगसँगै थिए ।

सत्ता गठबन्धनका ६ दल मध्ये जनमतका पूर्वमुख्यमन्त्री सतिश सिंह र त्रिभुवन साह अनुपस्थित र माओवादीका सांसदद्वय रहबर अन्सारी र माला कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने अडान लिएका थिए ।

अंसारी र कर्णलाई मनाउन सोनलसहितका नेताहरू लागिरहेका थिए । यता सभामुख रामचन्द्र मण्डलले सदन सुरु गर्दै विभाजन घण्टी बनाए ।

कांग्रेस र एमालेका सांसद विपक्षमा हस्ताक्षर गर्न थाले । सोनलले एकछिन रोक्न भने तर एमाले र कांग्रेसका सांसदले प्रक्रिया अघि बढाउन दबाब दिएका थिए । बाध्य भएर सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

एमालेले ठूलो दलको हैसियतमा २३ कात्तिकमा चलखेल गर्न थाल्यो । सभामुख र प्रदेश प्रमुखले धारा १६८ को ३ जाने लागेर कांग्रेस ६ दलीय गठबन्धनमा जोडियो । संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन हुनुपर्ने माग राखेर अगाडि बढे । आज त्यसकै साइत कांग्रेसलाई जुरेको छ ।

लामोसमयदेखि मुख्यमन्त्री बन्ने दाउमा रहेका कांग्रेस संसदीय दलका नेता कृष्ण यादवको चाहना अन्ततः पूरा भएको छ । उनले आइतबार शपथ लिनेछन् ।

मुख्यमन्त्री बन्नका लागि विगतमा उनले पटक पटक कोसिस गरेका थिए । तर पार्टी केन्द्रको संकेत नपाएका कारण उनी अघि बढ्न सकेका थिएनन् ।

बिहीबार र शुक्रबार पनि सातदलीय गठबन्धनमा मुख्यमन्त्रीका लागि लामो रस्साकस्सी चलेको थियो । यादव र सोनल आफ्नै अडानमा थिए ।

उत्ता एमाले संसदीय दलका नेता सरोजकुमार यादवले अब बन्ने कुनै पनि दलको नेतृत्वमा सरकार बने पनि विश्वासको मत दिने पासा फालेका थिए । यसले कांग्रेसलाई बल पुगेको थियो । यादवलाई नदिए गठबन्धन फुटेर अर्को समीकरण बन्ने डर थियो । र अन्ततः सात दलयीय गठबन्धनलाई मनाएर यादवलाई नै मुख्यमन्त्री बनाउन सहमत भएको एक सांसदले बताए ।

‘जसरी पनि सातलीय गठबन्धन बचाउनु थियो । कांग्रेस बाहिरिँदा अर्को समीकरण बन्ने डर थियो । त्यस कारण अन्ततः कांग्रेसका नेता यादवलाई नै मुख्यमन्त्री बनाउन सबै सहमत भयो’ उनले भने ।

मन्त्रालयको भागबन्डा भने बाँकी छ । मुख्यमन्त्री यादवले भोलि पद तथा गोपनीयताको सपथ लिने जनाइएको छ ।

नियुक्तिपछि मुख्यमन्त्री यादवले सातदलीय गठबन्धन भित्र समन्वय सहकार्य कायम राख्दै  भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो भूमिका रहने बताए ।

‘दलहरुको समन्वय सहकार्य गर्दै सुशासन कायम गर्छु । आर्थिक गतिविधि बढाउँछौं । प्रदेश गरिब छ,’ उनले भने, ‘कृषि क्षेत्रमा समस्या छ । शिक्षा स्वास्थ्यमा पनि काम गर्छौं ।’

को हुन् कृष्णप्रसाद यादव ?

२०७९ सालको प्रदेशसभा निर्वाचनमा रौतहट क्षेत्र नं. १ ‘ख’ बाट निर्वाचित यादव कांग्रेसका मधेश प्रदेश सभापति समेत छन् । रौतहटको गढीमाई नगरपालिका–८ स्थित बरियारपुरमा ९ भदौ २०२४ मा जन्मिएका यादव कृषिमा स्नातक गरेका हुन् ।

दोस्रो कार्यकालमा सुरुमै जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बन्दा कृष्णप्रसाद भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । यादव संस्थापन पक्षका नेता हुन् । उनी कांग्रेस सहमहामन्त्री महाहन्त्री महेन्द्र यादवका सम्धी पनि छन् ।

२०४६ सालको आन्दोलनपछि नै कांग्रेसको सक्रिय राजनीतिमा लागेका कृष्णप्रसाद २०६४ सालको पहिलो संविधानसभा सदस्य चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनी २०६७ सालदेखि लगातार दुई पटक पार्टीको रौतहट जिल्ला सभापति समेत भइसकेका छन् ।

बुवा रामचन्द्र यादवको राजनीतिकर्मी भएको प्रेरणाले कृष्ण प्रसादले पनि राजनीतिमा चासो राख्न थालेका थिए । उनका बुबा रामचन्द्रले २०५४ सालमा कांग्रेसबाट बरियारपुर गाविस अध्यक्ष जितेका थिए ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?