Comments Add Comment

इटहरीले कति मान्छे थाम्न सक्ला ?

१० वैशाख, इटहरी । प्रदेश १ को केन्द्रभागमा अवस्थित उदीयमान इटहरी शहर बसाइँसराइको चापका कारण बेलुन जसरी फुलिरहेको छ । यही गतिमा जनसंख्या वृद्धि हुँदै गयो भने इटहरीले कति मान्छे थेग्न सक्ला ? यसको हिसाव-किताब अहिलेसम्म कसैले गरेको छैन ।

जनसंख्या वृद्धिले भविश्यमा पार्ने प्रभावबारे अगि्रम विश्लेषण नभए पनि घरधुरीको नयाँ विवरणचाहिँ इटहरी उपमहानगरपालिकाले संकलन गरिरहेको छ । उपमहानगरपालिले तयार पारेको प्रारम्भिक तथ्यांकलाई हेर्ने हो भने ०६८ सालमा १ लाख ४० हजार ५१७ जनाको बसोबास रहेको इटहरीको जनसंख्या अहिले करिब ३ लाख पुगेको छ ।

उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीका अनुसार इटहरीमा वर्षेनी २ हजारको संख्यामा नयाँ घर थपिने गरेका छन् । उपमहानगरनगरप्रमुख चौधरीले अनलाइनखबरसँग भने, ‘वर्षेनी २ हजार घर नक्शा पास हुन्छन् । २ हजार घर निर्माण हुन्छन् । यो तथ्यांकले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्यधीक छ ।’

सहर मोटायो, संरचना उस्तै !

इटहरी बजारमा अग्ला-अग्ला भवनहरु बनेका बन्यै छन् । ठूल्ठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरुले इटहरीको शोभा बढाएको छ । फुटफाथका पसलमा देखिने भीडभाडले इटहरीमा बिजनेश मौलाइरहेको प्रष्ट हुन्छ । सुन्दर पोखरीको छेउमा रहेको कलात्मक उपमहानरनगरपालिकाको कार्यालय र हरित सिटीका रुपमा विकास भइरहेको इटहरीको मुख्य बजारलाई हेर्दा यो शहर शान्त र मनोरम देखिन्छ । तर, मुख्य शहर वरपर बढिरहेको बजारले यो उपमहानगरपालिका सुन्निएर मोटाउन थालेको पो हो कि भन्ने भान हुन्छ ।

शहरको अव्यवस्थित विकास भएकाले सार्वजनिक स्थलहरु मासिँदै गइरहेको नगर प्रमुख चौधरी बताउँछन् ।

नगरपालिका हुँदा बनेको संरचनामा उहानगरका कर्मचारीहरु नअटाउने भएपछि मेयरको कार्यकक्ष पोखरीको डिलमा एकतले भवनमा बसेको छ । जमीनको अभावले नै हुनुपर्छ, स्व. रामजी चौधरीका परिवारले जग्गा दान दिएर बनाइएको पोखरीभित्र उपमहानगरपालिकाले भौतिक संरचना बनाएको छ । इटहरी उपमहानगरपाकिलाका कार्यकारी प्रमुख बस्ने कार्यकक्ष नगरपाकिलाको पोखरीमै पिल्लर गाढेर बनाइएको छ ।

शहर जति-जति मोटाउँदै छ, पुराना भौतिक संरचनाहरु साँघुरा बनिरहेका छन् । उदाहरणका लागि इटहरी इलाका प्रहरी कार्यालयलाई हेरौं ।

उपमहानगरपालिकाको कार्यालयभन्दा अलि पूर्वपटि्ट मुख्य राजमार्गसँग जोडिएको स्थानमा छ इटहरी इलाका प्रहरी कार्यालय । यो कार्यालय ०३४ सालमा स्थापना भएको हो । सुरुमा यहाँ असईको नेतृत्वमा ६/जना प्रहरी बस्थे । अहिले इटहरीको जनसंख्या बढ्दै जाँदा प्रहरीको दरबन्दी बढेर १६० पुगेको छ । असईको साटो डीएसपीको नेतृत्व छ । तर, ६/ जना बस्ने संरचनामै अहिले डेढ सय प्रहरी फोर्स बसिरहेको छ । यो जमीन पनि पूर्व-पश्चिम राजमार्ग ६ लेनको बनाउने क्रममा आधाजति सडकमा पर्ने जाने इप्रकाका डीएसपी समिर चन्द्र खरेलले अनलाइनखबरलाई बताए ।

डीएसपी खरेलका अनुसार इटहरी इलाका प्रहरी कार्यालय राख्नका लागि उपमहानगरपालिकासँग मिलेर जग्गाको खोजी भइरहे पनि अहिलेसम्म भनेजस्तो जमीन फेला पर्न सकेको छैन ।

इटहरीजस्तै तराईको पूर्वपश्चिम राजमार्ग आसपासमा मौलाइरहेका नेपालका उदीयमान शहरहरुमा देखिने सुरक्षा चुनौती नयाँ किसिमका हुने गरेको डीएसपी खरेल बताउँछन् । जस्तै- विगतमा इटहरीमा गुण्डागर्दी र यौनजन्य अपराधहरु देखिने गरेकोमा अचेल ठगीलगायतका आर्थिक अपराधका घटनाहरु बढी देखिने गरेको डीएसपी खरेलले अनलाइनखबरलाई जानकारी दिए ।


इटहरीका डीएसपीले यहाँ प्रचार गरिएजस्ताे सुरक्षा समस्या नरहेको दाबी गरे । तर, गत साउनमा मारिएका इटहरी–१० का कृष्ण ढकालका हत्यारा पहिचान भएर पनि प्रहरीले अहिलेसम्म समात्न सकेको छैन, जसले इटहरीमा अपराधको ‘लेबल’ कस्तो छ भन्ने स्पष्ट पार्छ ।

इटहरीमा जनसंख्या बढ्दै जाँदा नयाँ किसिमका सुरक्षा चुनौतीहरु देखिएको सुरक्षा अधिकारीहरुले बताउँदै गर्दा यहाँ घर घडेरी जोड्नेहरुको ताँती केही वर्षदेखि लगातार बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्केका पूर्वी पहाड वा तराईका गाउँले बासिन्दाहरुको रोजाई इटहरी नै बन्ने गरेको छ । मोरङ, सुनसरी आसपासका गाउँबाट जग्गाजमीन बेचेर इटहरीमा घडेरी किन्ने अभियान चलिरहेकै छ ।

फैलिन सक्ने ठाउँ

त्यसो त इटहरी उपमहानगरपालिकासँग फैलन सक्ने र थप जनसंख्यालाई पचाउन सक्ने क्षमता नभएको चाहिँ होइन । अहिलेको इटहरी उपमहानगरपालिका भनेको पहिलेको इटहरी नगरपालिको भूगोलमा मात्रै सीमित छैन । इटहरीसँग जोडिएका ४ वटा गाउँपालिका अझै पनि गाउँपालिकाजस्तै स्थितिमा छन् । इटहरी उपहानगरको बजारीकरण समान प्रकारको छ । गाउँ र शहरको दुरी प्रशस्तै छ । साथै नवधनाढ्य र अति विपन्नहरुको दूरी पनि बढिरहेको देखिन्छ । विशेषगरी रैथाने आदिवासीहरु र ‘बाहिरिया’ वीचको दूरी बढेको जानकारहरु बताउँछन् ।

नेपाल सरकारले ०७१ साल मंसिर १६ गतेको निर्णयबाट इटहरी नगरपालिकालाई उपमहानगरपाकिलामा स्तरोन्नति गरेको हो । नगरपालिकालाई उपमहानगरपालिका बनाउँदा इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसासमेत गरी ४ वटा गाउँपालिकाहरु गाभिएका छन् ।

नगरपालिकामा पछि गाभिएका चारैवटा गाउँपालिकाहरुमा बजार विस्तार हुने जमीन प्रशस्तै छ । तर, त्यहाँ पनि बजारीकरणको चाप तीव्ररुपमा भइरहेको देखिन्छ । जमीनको खण्डीकरण भइरहेको छ । कृषियोग्य जमिन मासिँदो छ । आदिवासीहरुको जमीन खुम्चिँदो छ ।

इटहरीमा गाभिएका सुनसरीका ४ गाउँपालिकाका अतिरिक्त इटहरी शहरको फैलावटको चाप बूढीखोला पारि मोरङका दुलारी, सुन्दरपुर, गोठगाउँ, सलकपुर हुँदै विराटचोकसम्मै विस्तारित हुन थालिसकेको छ ।

यो स्थितिलाई हेर्दाखेरि इटहरीको तीव्र शहरीकरणको प्रभाव आसपासका अन्य गाउँ वा नगरपालिकाहरुमा समेत पर्न थालेको महसुस गर्न सकिन्छ । तथापि इटहरीको मुख्य बजारमै घडेरी किनिरहनुभन्दा २०/२५ किलोमिटर टाढै बसेर पनि इटहरीको शहरीकरणबाट लाभ लिन सकिन्छ भन्ने कुरा यहाँ घडेरी किन्नेहरुले सोचेको देखिँदैन । जस्तो कि बेलबारी र सुन्दर हरैंचाका मानिसहरु समेत २० मिनेटमा पुग्न सकिने इटहरी बजारतर्फ नै बसाइँ सरिरहेका भेटिन्छन् ।

इटहरीले तराईका वस्तीहरुलाई मात्रै आफूतिर तानिरहेको छैन, कोशीका पहाडी जिल्लाहरुमा भइरहेको बसाइ सराईको मुख्य गन्तव्य पनि इटहरी नै बनिरहेको छ ।

इटहरीमा घडेरी जोड्ने ट्रेन्ड कतिसम्म मौलाएको छ भन्ने कुरा त प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकै परिवारलाई नै हेर्दा पनि स्पष्ट हुन्छ । मुख्यमन्त्री शेरधन राईका बुबा जागिरमान राईले इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा साढे ८ धुर घडेरी किनेका छन् । राईले २९९४ कित्ता नम्बरको घडेरी ०७२ साल माघमा ६ लाख ४० हजार रुपैयाँमा किनेका हुन् ।

मुख्यमन्त्रीको परिवारले जस्तै इटहरीमा घडेरी किन्ने होडबाजी केही वर्षयता रोकिएको छैन । इटहरी नगरपाकिलामा कति मानिसहरुलाई भित्रिन दिने वा नियन्त्रण गर्ने भन्नेबारे उपमहानगरपालिकासँग कुनै रणनीति छैन । भलै मेयर चौधरी चाँडै नै भूउपयोग नीति लागु गरिनुपर्ने बताउँछन् ।

मेयरको चिन्ता

जनसंख्या बढ्दै जाँदा इटहरीमा अन्य भौतिक विकासका पूर्वाधारहरुको माग अत्यधीक बढेको इटहरीका मेयर चौधरीको भनाइ छ । ट्राफिक व्यवस्थापन इटहरीको चुनौती बनिरहेको चौधरीले अनलाइनखबरलाई बताए ।

जनसंख्याको चाप बढ्दै जाँदा भौतिक पूर्वाधारको क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि प्रभाव देखिन थालेको चौधरीको स्वीकारोक्ति छ ।

सामाजिक क्षेत्रमा जनसंख्या वृद्धिको असर कस्तो देखिँदै छ भन्ने अनलाइनखबरको प्रश्नमा उपमहानगरप्रमुख चौधरीको जवाफ छ, ‘सामाजिक समस्याका रुपमा बसाइँ सराइ भएर आएका आप्रवासी र रैथानेहरुको वीचमा कता-कता द्वन्द्वको मानसिकता देखिन्छ । किनभने, यहाँका प्राकृतिक सम्पदाहरु, वनजंगल, नदीनाला र सार्वजनिक जग्गाहरु मिचिएका छन् । उनीहरुका हिजोका सामाजिक सम्पदामाथि कहिलेकाहीँ हस्तक्षेप हुनेखालका अन्तरद्वन्द्वहरु पनि देखिन्छन् ।’

तथापि विभिन्न जातजाति मिसिएर बनेको मिश्रित समाजमा समाजिक विकास छिटो हुने र जातजातिहरु आपसमा मिलेर बस्ने नेपालीहरुको स्वभाव भएकाले इटहरीमा यस्ता समस्या समाधान गर्न सकिनेमा चौधरी विश्वस्त देखिन्छन् ।

नेकपाका प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरी भन्छन्- ‘हामी नेपालीहरु लामो समयदेखि विभिन्न जातजाति, भाषाभाषीहरु, विभिन्न धर्मावलम्बीहरु सामाजिक सदभावका साथ एकसाथ बस्दै आएका छौं । कहिलेकाहीँ देखिने सानातिना समस्या र द्वन्द्वहरुलाई हामी सकारात्मक ढंगले समाधान गर्दै अगाडि बढ्न सक्छौं ।’

तथापि सरकारले चाँडै भू-उपयोग नीति ल्याएर इटहरीको सहरीकरणलाई व्यवस्थित गर्नुको विकल्प नरहेको चौधरीले अनुभूति गरेका छन् । इटहरीको शहरीकरण अव्यवस्थित रहेकाले अब यसलाई व्यवस्थित गर्न अर्बौं रुपैयाँको बजेट आवश्यक पर्ने नगरप्रमुख चौधरी बताउँछन् ।


मेयर चौधरीका अनुसार इटहरीको अबको आवश्यकता भनेको कृषि उपजका लागि सुख्खा बन्दरगाह, यातायात व्यवस्थापनका लागि ४० किलोमिटरको रिङ रोड, खेलकूदका लागि रंगशाला र क्रिकेट स्टुडियमका साथै रंगशाला, अनि पूर्वाञ्चलकै लागि सम्मेलन केन्द्र भवन इटहरीमा आवश्यक छ । यसका साथै मेडिकल कलेज र अन्य सरकारी शैक्षिक संस्थासमेत इटहरीमा जरुरी छ ।
यो पनि पढ्नुहोस ‘करोडले पुग्दैन, इटहरीलाई अर्बौं चाहिन्छ’
संघीय सरकारले गत वर्ष इटहरी उपमहानगरपालिकालाई समानीकरणतर्फ २८ करोड र सशर्त अनुदानतर्फ १४ करोडसमेत गरेर ४२ करोड रुपैयाँ दिएको थियो । उपमहानगरपाकिलाले १ अर्ब ५० करोडको बजेट बनाएको थियो । तर, यसपालि करोडको बजेटले नहुने बताउँदै नगरप्रमुख चौधरीले अनलाइखबरसँग भने- इटहरीलाई अर्बौं रुपैयाँ चाहिन्छ ।

तराईका यी उदीयमान शहरमा देखापर्ने सामाजिक, राजनीतिक एवं सांस्कृतिक प्रभावहरुको छुट्टै विश्लेषणको खाँचो छ । जस्तो कि इटहरीमा धार्मिक व्यवसाय फस्टाएको छ । एकातिर धर्मकर्म र पुराण भजनको माहौल छ भने अर्कोतिर अपराधकर्म घट्नुपर्ने बढेको बढ्यै छ ।
यो पनि पढ्नुहोस भनौं भने बाहुनको डर ! पुराणले सांसदको निद्रा बिथोल्यो !
सुरसाको मुखजस्तै प्रतीत हुने इटहरीको फैलावट र भोकलाई हेर्दाखेरि दुईवटा प्रश्नहरु पैदा हुन्छन्- प्रथमतः झापादेखि कञ्चनपुरसम्म राजमार्ग आसपासमा इटहरीजस्तै गरी मोटाइरहेका शहरको जनसंख्या वृद्धि कहाँ पुगेर रोकिएला ? दोस्रो- उदीयमान शहरको विकासका लागि अर्बौं रुपैयाँको जरुरत देखिन्छ । तर, स्थानीय तहको यो आकांक्षा र मागलाई अब बन्ने नयाँ बजेटमार्फत् संघीय सरकारले कसरी सम्वोधन गर्ला ?

‘बिजनेस सिटी’ को सम्भावना

इटहरीमा वस्ती बढेसँगै ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाका चुनौतीहरु त छन् नै, तर यो पूर्वी नेपालको सम्भावनायुक्त र सुविधायुक्त शहर पनि हो । मेची र कोशीका पहाडहरुमा जानका लागि यो शहरलाई छुनैपर्ने हुन्छ । संखुवासभा, तेह्रथुम, धनकुटाको मुख्य द्वार नै इटहरी उपमहानगरपालिका हो ।

नेपाल वा भारतबाट बराहक्षेत्रमा तीर्थाटनका लागि आउने पर्यटकहरु इटहरीकै होटलमा बास बस्छन् । विराटक्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिले समेटका कोशी टप्पु बन्यजन्तु आरक्ष लगायतका पर्यटकीय स्थलहरु इटहरीबाट नजिकै पर्ने भएकाले इटहरी उपमहानगरपाकिला पर्यटकीय गन्तव्य वा बिसौनी बन्न सक्ने सम्भावना छ ।


बिराटनगर महानगरपालिका र धरान उपमहानगरपालिको वीचमा पर्ने यो बहरमा बजार विकास हुँदै जाँदा धरान र बिरानगरको बजारसमेत यसले आफूतिर तान्ने सम्भावना बढ्दो छ । विगतमा बिराटनगर वा धरानमा बस्न मन गर्नेहरु अचेल इटहरीतिर तानिन थालेका छन् ।

तथापि, इटहरीमा जसरी वस्ती बढिरहेको छ, यो शहरमा उद्योगधन्दा भन्दा व्यापार व्यवसाय बढ्ता देखिन्छ । त्यसैले इटहरी उपमहानगरपालिका बिराटनगरजस्तो उद्योगिक शहर बन्ने सम्भावना कम छ । धरानजस्तो ‘कल्चरल सिटी’ बन्ने सम्भावना पनि अलि कम देखिन्छ । बरु इटहरी ‘बिजनेस सिटी’ को बाटोमा अघि बढिरहेको छ ।

पूर्वी नेपालको मध्यभागमा रहेर पनि इटहरी बजार स्वास्थ्य र शिक्षाको हब बन्न नसकेको उपमहानगरपाकिलाका मेयर द्वारिकलाल चौधरीसमेत स्वीकार्छन् । इटहरीमा अस्पताल र कलेजभन्दा बढी होटल र सपिङ मलहरु बढी खुलेका देखिन्छन् । इटहरीको विशेषता नै सामान बेच्ने हो ।

इटहरीका थप तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment