Comments Add Comment

नेकपा स्थापना दिवस : पुष्पलालको जन्मथलोमा ‘हाइकमाण्ड’का नेता गायव !

१० वैशाख, रामेछाप । एक दिन अगाडिमात्र नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको प्रशंसामा लामो समय खर्च गरेका नेकपाका मुख्य नेताहरु त्यसको भोलिपल्टै पुष्पलालको जन्मथलोमा आयोजित पार्टी एकता दिवस कार्यक्रममा भने सामूहिक रुपमा गयल भएका छन् ।

नेकपा प्रदेश ३ ले एक महिनाअघिनै पुष्पलालको जन्मथलो भँगेरीमा ७० औं पार्टी स्थापना दिवसको विशेष कार्यक्रम तय गरेको थियो ।

नेकपा प्रदेश ३ ले वैशाख ९ गते संस्थापक महासचिव पुष्पलाल जन्मिएको ठाउँ रामेछापको भँगेरीमा प्रदेशस्तरीय कार्यक्रम तय गरेको थियो । सो दिन पार्टी केन्द्रीय सचिवालयलेनै प्रज्ञा भवनमा स्थापना दिवस मनाउने भनेपछि भोलिपल्टलाई सारिएको थियो । भँगेरीको कार्यक्रममा केन्द्रीय सचिवालयका कम्तीमा एक सदस्य सहभागी हुने भनिए पनि अन्तिममा नौ जनामध्ये कोही गएनन् ।

गाउँ गाउँबाट अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल आउने चर्चा सुनेर स्थानीय कार्यकर्ता भँगेरीमा आएका थिए । पछिल्लो पटक प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुने भनिए पनि नौ सदस्यीय सचिवालयका एकजना पनि नेता भँगेरी नपुग्दा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई प्रमुख अतिथि बनाइएको थियो । संस्थापक महासचिवको जन्मथलोमा आयोजित कार्यक्रममा हाइकमाण्डका नेता सहभागी नहुँदा नेकपाका कार्यकर्ताले खल्लो मानेका थिए ।

प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले केन्द्रीय सचिवालयका कम्तिमा एकजना नेता पार्टी स्थापना दिवसमा उपस्थित हुने भनिए पनि अन्तिममा समय नमिलेको प्रतिक्रिया दिए । उनले केन्द्रीय सचिवलायका नेतासँग अध्यक्ष नारायण दाहालले समन्वय गरेको र आफूले अन्य व्यवस्थापनको जिम्मेवारी लिएकाले थप जानकारी नपाएको बताए । तारिखको हिसाबले नेकपाको स्थापना २२ अप्रिलमा भए पनि २००६ साल वैशाख १० गतेनै स्थापना दिवस भएकाले भँगेरीको मंगलवारको कार्यक्रम महत्वपूर्ण रहेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

नेकपाका संस्थापक पुष्पलाल र राणा शासन विरोधी क्रान्तिका चार शहिदमध्येका एक गंगालालको जन्मथलो भँगेरीमा नेकपा प्रदेश कमिटीले पहिलो पटक पार्टी स्थापना दिवस मनाएको हो । कार्यक्रममा सहभागी हुन नेकपाका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य तथा प्रदेश अन्तर्गतका जनप्रतिनिधि र युवा विद्यार्थीहरु भँगेरी पुगेका थिए ।

जिल्ला एकीकरणमा असन्तुष्टि

पार्टी स्थापना दिवसमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य हरिवोल गजुरेलले पार्टी केन्द्रले जिल्ला पार्टीको पदाधिकारीमा गरेको निर्णय प्रति असन्तुष्टि व्यक्त गरे । उनले पार्टी नेतृत्वले एक वर्ष लगाएर फेरी पनि पुरानै निर्णय गरेको आरोप लगाए ।

‘पार्टीको जिल्ला नेतृत्वलाई कसरी लैजाने भन्ने विषयमा एकवर्ष सम्म बहस भयो । तर एक वर्ष पछि हामीले फेरी पहिलाकै अवस्थामा फर्किएर निर्णय गर्यो । यस्तो किन हुन्छ, यस बारेमा गम्भिर वहस गर्नु पर्छ’, गजुरेलले भने ।

उनले पार्टी भावनामा बगेर नचल्ने पनि बताए । पार्टी प्रति युवाहरुको आकर्षण घटेको पनि उनले गुनासो गरे । अब पुराना पुस्ताले पार्टी हाँक्न नसक्ने बताउँदै युवाहरुले पार्टीमा नयाँ बहस सुरु गर्नु पर्ने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै नेकपाकी ३ नं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुष्पलालको बिचार र दिनचर्यालाई नजिकबाट अध्ययन गरेर अघि नबढ्ने हो भने कम्युष्टि पार्टी अघि नबढ्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता डाक्टर वेदुराम भुषालले पुष्पलाल नेकपाको संस्थापक महासचिवमात्र नभएर बिचारक तथा सिद्धान्तकार रहेको बताए । उनले हालैमात्र जनताको बहुदलीय जनवाद विषयमा विद्यावारिधि गरेका हुन् ।

सभा शुरु हुनुअघि नेताहरुले रामेछापको भंगेरीस्थित पुष्पलालको जन्मस्थलमा रहेको गंगालाल र पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए । प्रजातान्त्रिक आन्दोलनका ४ सहिद मध्येका एक सहिद गंगालाल र कम्युष्टि पार्टीका संस्थापक महासचिव पुष्पलाल दाजुभाइ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment