Comments Add Comment

त्रिभुवन विमानस्थलमा यसरी हुन्छ रातभर काम, विहानसम्म तमाम

११ वैशाख, काठमाडौं । रन-वेमा निर्माणको कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक रातमा १० घण्टा बन्द हुन्छ । विमानस्थल विहान नै सुरुचारु भइसकेको हुन्छ । बेलुका १० बजेबाट विहान ८ बजेसम्म विमानस्थलमा त्यस्तो के काम गरिन्छ ? धेरैको यसमा चासो छ ।

हाल त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नतिको काम गरिँदैछ । यसका लागि बेलुकी १० बजे विमानस्थल बन्द गरिन्छ । १० बज्नु अघिसम्म ठेकेदार कम्पनीका सबै उपकरण र जनशक्ती तयारी अवस्थामा राखिएको हुन्छ । विमानस्थलमा ‘नोटाम’ लाग्नासाथै उपकरणहरु रन-वेमा दौडन्छन् ।

त्यसपछि रन-वेमा मिलिङ (जोत्ने) मेसिनले पुरनो पिच उप्काउने काम गर्छ । रातमा कति मिटर रन-वेमा काम गर्ने भनेर पूर्व योजना तयार गरिएको हुन्छ । त्यसअनुसार इन्जिनियर र प्राविधिले उपकरण चलाउनेहरुलाई परिचालन गर्छन् ।

मेसिनले तीन चरणमा १०/१० सेमि गर्दै रन-वे उप्काउँछ । त्यसबाट निस्किएको पुरानो पिच र माटो सिधै मेसिनबाट ट्रिपरमा लोड हुन्छ । त्यसपछि रन-वेमा फेरि पिच गरिन्छ । यसका लागि आधुनिक पेभलर मेसिनबाटै काम हुन्छ । रनवेमा काम १० बजेबाट विहान ६ बजेसम्म गरिन्छ ।

हरेकि दिन अवस्था हेरेर निश्चित मिटर रन-वेमा स्तरोन्नतिको काम गरिन्छ । विहान ६ बजेसम्म उप्किएको रन-वेमा फेरि पिच भइसक्छ । दुई घण्टा मा नै रन-वे फेरि उडानका लागि तयार भइसक्छ ।
भिडियो हेर्नुस्

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम यो काम निकै चुनौतीपूर्ण हुने बताउँछन् । ‘एक मिनेट मात्रै काममा ढिला हुँदा पनि विहान जहाज होल्ड गराउनुपर्ने अवस्था आउँछ,’ उनले भने,’राति खनिएको रन-वे विहान नियमित जस्तै गरेर उडानका लागि तयार राखिसक्नुपर्छ ।’

चिनियाँ कम्पनीले यो काम निकै संवेदनशील भएर गरिरहेको छ । पानी पर्ने अनुमान भएको दिन यहाँ काम गरिँदैन । काम सुरु भएपछि एक दिनमात्रै पूर्ण रुपमा काम रोकिएको थियो ।

सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको छ । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे हुनेछ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम गर्दैछ ।

नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार चैत १८बनाट सुरु भएको यो काम बढीमा ९० दिनभित्र सकाउने लक्ष्य छ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषर्ायाम लागेपछि निकै बढ्छ ।


चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेरिँदैछ ।

यो स्तरोन्नतिको काम पछि धाँजा फाट्ने समस्यालाई हट्ने दावी प्राधिरकणको छ । हाल रन-वेलाई भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइँदैछ ।

यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइनेछ । यो रिह्याबको काम गरे विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ ।

राति खोतलिएको धावनमार्ग छिटो तयार गर्न विशेष खालको अलकत्रा प्रयोग गरिँदैछ । छिट्टै पकड जमाउने खालको अलकता प्रयोग गरिने भएकाले समस्या नभएको प्राधिकरणको भनाइ छ ।

धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्रे) जिरो टु बाट सुरु भएको छ । विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत सुरू गरिएको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन । विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् ।


तस्वीरःशंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment