Comments Add Comment

ताम्राकारको निधनले कांग्रेसको जागरण अभियान दुई साता पछि सर्‍यो

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । ताम्राकारको निधनसँगै नेपाली कांग्रेसको जागरण अभियानको मिति पर सारिएको छ ।

कांग्रेसले यही वैशाख ११ गतेदेखि देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको निधनका कारण जागरण अभियान दुई हप्ता पछि सारिएको छ ।

‘वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको जागरण अभियानलाई वैशाख २५ गते सारेका छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाइसकेको छ ।

को हुन् ताम्राकार ?

रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार २०४८ र २०५६ मा रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गिरिजाप्रसाद कोइराला निकट मानिने ताम्राकार कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनेका थिए ।

ताम्राकार विभिन्न समयमा स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्रीसमेत बनेका थिए ।

विगत दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका ताम्राकार पछिल्लो समय निमोनियाबाट पीडित थिए । चैत अन्तिम सातादेखि ललितपुरको अल्का अस्पतालमा आईसीयूमा भर्ना गरेर उनको उपचार हुँदै आएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment