+
+
Shares
प्राध्यापक राजेन्द्र शर्माको विश्लेषण :

‘गोर्खाली भनेर ढाँटे, नेपालीको राष्ट्रिय चरित्र ठगी हो’

देश उँभो लाग्न नसक्नुका यी हुन् ५ कारण

राजेन्द्र शर्मा राजेन्द्र शर्मा
२०७६ वैशाख ११ गते ७:२१

देशमा दुईतिहाई बहुमतको सरकार छ । तैपनि सरकारले राम्रोसँग काम गर्न किन सकिरहेको छैन ? यो स्थिर सरकार, बहुमतको सरकार वा दुई तिहाईको सरकारबाट केही पनि आश गर्ने अवस्था छैन । यो सरकारले केही गर्न सक्दैन । किनभने, भारतभक्ति र अमेरिका भक्तिको एउटा पराकाष्टा हामीले देखिरहेका छौं ।

मेरो दृष्टिकोणमा नेपाल बन्न नसक्नु वा सरकारले काम गर्न नसक्नुका पछाडि मुख्यतः ५ वटा कारण छन्ः

पहिलो– राजनीतिक दलहरु कार्यक्रमविहीन थिए । यिनीहरुसँग विकासको खाका, दृष्टिकोण वा भिजन थिएन । भिजनरहित यिनीहरुको हातमा सत्ता आयो । यो ०४७ सालदेखिकै कथा लगातार दोहोरियो ।

दोस्रो– युरोपियन युनियनजस्ता केही नाम चलेका, संयुक्त राष्ट्र संघ नै भनौं, यस्ता संस्थाहरुले नेपालको धर्म र जातमाथि अलि बढी नै खेलवाड गरे । खेले । उनीहरुले खेलेकोमा डलरको मोहमा राजनीतिक दलका नेताहरुसमेत त्यसमा पत्याउने सूचीमा पर्दिए र हाम्रो विकासको खाका जातिहरुमा, धर्महरुमा विभाजित भयो ।

हाम्रो नेपाली राष्ट्रिय चरित्रलाई संसारभरि बहादुर गोर्खालीको देश, बहादुर नेपालीको देश भनिन्छ भनेर नेताहरुले ढाँटे । पाठ्यपुस्तकमा पनि ढाँटे । हाम्रो राष्ट्रिय चरित्रचाहिँ भ्रष्टाचार गर्ने, ठग्ने हो

तेस्रो– हाम्रो आफ्नो राष्ट्रिय चरित्र जुन छ, त्यो नेपाली राष्ट्रिय चरित्रलाई संसारभरि बहादुर गोर्खालीको देश, बहादुर नेपालीको देश भनिन्छ भनेर हामीलाई सबै नेताहरुले ढाँटे । पाठ्यपुस्तकमा पनि ढाँटे ।

खासमा हाम्रो राष्ट्रिय चरित्र २००७ सालदेखि मसिनो ढंगबाट केलाएर हेर्दा के देखियो भने जब–जब जो नेपाली सत्तामा पुग्छन्, तिनीहरुले नेपाललाई ठगेको, भ्रष्टाचार गरेको, पैसा कमाएको र रातारात करोडपति भएको र देश कंगाल भएको मात्रै देखियो । त्यसैले हाम्रो राष्ट्रिय चरित्रचाहिँ भ्रष्टाचार गर्ने, ठग्ने हो । ठगीखाने राष्ट्रिय चरित्र हरेछ भन्ने यिनीहरुले प्रमाणित गर्दिए ।

चौथो– देशलाई माया गर्ने राष्ट्रवादी, खासैमा राष्ट्रवादी ‘स्टेटस् म्यान’को चरित्र भएको नेताहरु भएनन् । एकदमै हुँदै भएनन्, जीरो नै त नभनौं, एक÷दुईजनासँग ‘स्टेटस् म्यान’को चरित्र थियो । तर, तिनीहरुले त्यो चरित्र प्रदर्शन गर्न सकेनन् । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता केही मानिसहरु थिए । तर, उनीहरुले आफ्नो राष्ट्रवादलाई त्यो ‘स्टेटस् म्यान’ मा रुपान्तरण गर्ने आधार वा मौका पाएनन् ।

अनि पाँचौं नम्बर के हो भने एकखालको राजनीतिक सहमतिका नाममा जहाँ पनि भागवण्डा मिलाएर खाने ।

यसरी, पहिलो– कार्यक्रम र भिजनको अभाव, दोस्रो– धर्म र जातका नाममा विदेशीको चलखेल, तेस्रो– ठगीखाने राष्ट्रिय चरित्र, चौथो–‘स्टेटस् म्यानसीप’ को अभाव र पाँचौं राजनीतिक सहमतिका नाममा भागवण्डा । यिनै पाँचवटा कुराले हामीकहाँ त्रिकोणात्मक शक्ति निर्माण गरिरहेको छः एउटा शक्ति पोलिटिकल, अर्को शक्ति ब्युरोक्रेसी र तेस्रो शक्ति बिजनेस म्यान ।

राजनीतिकर्मी, व्यवसायी र ब्युरोक्रेट्स यी शक्तिलाई मिलाएर खाने खालको कानून, मिलाएर खाने खालको नियम र मिलाएर खानेखालको वातावरण बनाइरहेका छन् ।

यी सबैलाई पैसा चाहिएको छ । पैसा खुवाउन तत्पर व्यवसायीहरु छन्, थोरै खुवाएर धेरै कमाउने । अनि लगानी नै नगरी कमाउन चाहने राजनीतिक नेताहरु छन् । अनि पदमा बसेर मुसुक्क हाँसीहाँसी टेबलमुनि, माथि जताबाट पनि प्रशस्तै पैसा कमाउने हाम्रो ब्युरोक्रेसी, यी तीनवटाको एउटा ‘ट्रेंगल’ बनिरहेको छ ।

अब यो ‘ट्रेंगल’लाई ब्रेक गर्ने एउटा कठोर तानाशाह होस् वा कठोर क्रान्ति होस्, त्यो नभएसम्म नेपालको राष्ट्रिय चरित्र यसरी नै विकसित भएर जान्छ ।

यहाँ कुनै एउटा प्रदेशको मात्रै कुरा होइन, सातैवटा प्रदेशहरुमा हेर्दाखेरि के छ भने सरकारले दिन्छु भनेर बाचा बाँधेको बजेट दिन सकेको छैन । उनीहरुले कार्यक्रम गर्छौं भनेर विकासको जुन सूची बनाए, त्यो उनीहरुले गर्न सकेका छैनन् । साधन र स्रोतका बाँडफाँट कहिले र कसरी हुने हो, त्यसको अहिलेसम्म टुंगो लागेको छैन । संविधान बनेको तीन वर्ष भइसक्दा पनि अहिले मुलुकले कुनै खालको परिवर्तनको अनुभूति गर्न सकेन । यसका कारणहरु यिनै पाँचवटा मुख्य हुन् ।

अब यसरी नै विदेशीहरुले चलखेल गरिरहेसम्म, युरोपियन युनियन यहाँबाट नगएसम्म देश यस्तै रहिरहन्छ । जुन दिन हामीले युरोपियन युनियन, भारत र अमेरिकालाई हाम्रो देशबाट निकाला गर्‍यौं, अब हाम्रो देशको विकास हामी आफैं गर्छौं भन्न सक्दैनौं, त्यो दिनसम्म यो देश यस्तै रहिरहन्छ ।

(शर्मा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन विषयमा प्राध्यापन गर्छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?