+

विश्वकपमा १६ टिमले खेल्न पाउनुपर्थ्यो : सन्दीप लामिछाने

२०७६ वैशाख  ११ गते १९:४६ २०७६ वैशाख ११ गते १९:४६
विश्वकपमा १६ टिमले खेल्न पाउनुपर्थ्यो : सन्दीप लामिछाने

१० वैशाख काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले एक वर्षयता विश्वका अधिकांश ठूला टी–२० लिग खेलिसकेका छन् । उनी लण्ड्समा भएको खेलमा विश्व ११ को समेत हिस्सा थिए तर, आगामी महिना ईंग्ल्यान्डमा हुने क्रिकेटको कुम्भमेलामा नेपाली किशोरको स्पिन जादु हेर्न पाइने छैन ।

सन्दीप स्वयम् पनि विश्वकप खेल्न नपाउँदा निराश छन् । क्रिकेट अष्ट्रेलियाले हालै उनको एक अन्तर्वार्ता प्रकाशित गरेको छ, जसमा सन्दिपले १० वटा मात्रै देशले विश्वकप खेल्न पाउँदा उदियमान क्रिकेट राष्ट्रहरुलाई चोट पुगेको बताएका छन् ।

साथै उनले विश्वकपमा १४ देखि १६ टिम सहभागी गराइनुपर्ने धारणा पनि राखे ।

अहिले भारतमा आईपीएल खेलिरहेका सन्दिपले भने, ‘दुःखपूर्वक भन्नुपर्दा १० टिमको विश्वकपले मजस्ता धेरै खेलाडीहरुलाई मर्का परेको छ, जो यसको हिस्सा हुन सक्दैनन् । मलाई लाग्छ विश्वकपमा १४ देखि १६ राष्ट्रहरुको प्रतिनिधित्व हुनुपर्छ ।’

चार वर्षमा एकपटक आउने विश्वकप खेल्नु हरेक क्रिकेटरको सबैभन्दा ठूलो सपना हुने र आफ्नो पनि भएको सन्दिपले बताए ।

उनी भन्छन्, ‘२०२३ को विश्वकपमा पनि १० वटा टिम मात्रै हुनेछन्, जसले गर्दा हामीले विश्वकप खेल्नेबारे सोच्न मात्रै पनि केही समय पर्खिनुपर्ने छ ।’

सन् २००७ को विश्वकपमा १६ टिम खेलाइएको थियो । २०११ र २०१५ मा त्यसलाई घटाएर १४ टिममा झारियो । यस्तै सन् २०१९ र २०२३ मा भने १० टिमले मात्रै विश्वकप खेल्नेछन् । ८ टिम वान डे वरियतामा अगाडि रहेकामध्येबाट र २ टिमको छनोट क्वालिफायरबाट गरिन्छ । एकतर्फी म्याचलाई टार्नका लागि बलिया टिमलाई मात्रै खेलाउने नीति लिइएको आईसीसीको तर्क रहेको छ ।

सन्दिपले विश्वकप आफूले टिभीमा हेर्ने र साना राष्ट्रको समर्थन गर्ने बताए । उनले भने, ‘बलिया राष्ट्रहरुविरुद्ध कम आँकिएका राष्ट्रहरुले सशक्त प्रदर्शन गरेको हेर्न आतुर छु,’ उनले भने, ‘यदि त्यसो भयो भने हाम्रो जस्तो उदियमान क्रिकेट राष्ट्रलाई पनि ठूलो उत्प्रेरणा हुनेछ ।’

त्यसो त लामिछाने नेपालबाट टेस्ट क्रिकेट खेल्न चाहन्छन् । अफगानिस्तान र आयरल्यान्डलाई पछ्याउँदै नेपालले केही समयमा टेस्ट स्टाटस हासिल गर्नेमा उनी विश्वस्त छन् ।

सन्दीपले भने, ‘हामी दुई वर्ष अगाडिसम्म केही पनि थिएनौं । अहिले वान डे स्टाटस हामीसँग छ । भविष्यमा टेस्टको स्टाटस पनि प्राप्त हुनेमा ढुक्क छु । यदि १० वर्षपछि मैले नेपालको टेस्ट टिमबाट खेल्ने मौका पाएँ भने पनि त्यो मेरो लागि गौरवको क्षण हुनेछ ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय