Comments Add Comment

इटहरीका डीएसपीको लक्ष्य– बच्चाले पुलिस बोलाउन् !

कान्छो सहरको समस्या– पहिले यौनधन्दा, अहिले आर्थिक अपराध

११ वैशाख, इटहरी । काठमाडौंस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट करिब एक महिनाअघि मात्र इटहरीको कमाण्ड सम्हाल्न आइपुगेका डीएसपी समिरचन्द्र खरेल बडो गज्जपका प्रहरी अधिकारी रहेछन् । आकर्षक जुँगाका कारणले मात्रै होइन, समाजको विश्लेषणमा पनि खरेल प्रहरीमात्र नभई समाजशास्त्री जस्तै लाग्छन् ।

डीएसपी खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हुँदा इन्स्पेक्टरहरुलाई समाज पढाउँथें । अहिले उनले उदीयमान शहर इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेका छन् । इटहरी इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हालेको एक महिनामात्र भए पनि उनीसँग इटहरीजस्तै नेपालका ‘ग्रोइङ अर्बान सिटी’हरुको सुरक्षा चुनौती र विशेषताहरुबारे राम्रै सैद्धान्तिक ज्ञान रहेछ ।

यसै सन्दर्भमा हामीले इटहरीलाई आधार बनाएर प्रहरी नायव उपरीक्षक खरेलसँग नेपालमा पछि विकास भएका नयाँ शहरहरुको सुरक्षा समस्याबारे कुराकानी गरेका छौं ।

नेपाल प्रहरीमा रहेर काम गरिरहँदा डीएसपी खरेलको लक्ष रहेछ– प्रहरीलाई हेर्ने जनताको दृष्टिकोण बदल्ने ! खरेलले अनलाइनखबरसँग भने– हिजोको जस्तो ‘भात खाइनस् भने पुलिस बोलाइदिन्छु’ भन्ने अवस्था हुनुभएन । बाबुआमाले छोराछोरीलाई हप्काए भने ‘म पुलिसलाई खबर गर्छु’ भनेर बच्चाले भन्नुपर्‍यो !’

इटहरीजस्तै नयाँ विकसित भइरहेका कान्छा शहरहरुमा केही वर्ष अघिसम्म गुण्डागर्दी र यौन व्यवसायका समस्या देखिने गरेकोमा अहिले आर्थिक अपराध एवंं ठगीका घटनाहरु बढ्न थालेको डीएसपी खरेलले अनलाइनबरलाई सुनाए ।

प्रस्तुत छ, खरेलसँग अनलाइनखबरले गरेको रोचक कुराकानी–

डीएसपी साहेब इटहरीमा भर्खरै आउनुभएको रहेछ, प्रारम्भिकरुपमा अध्ययन गर्दा यहाँको सुरक्षा चुनौती के–कस्तो पाउनुभयो ?

मैले यहाँ आउनेवित्तिकै इटहरीको सुरक्षा समस्या के छ त भनेर अध्ययन गरें । सामान्यतः यहाँ तीनवटा चिजलाई बढी फोकस गरिएको रहेछ, एउटा– लागू औषध, अर्को गुण्डागर्दी र तेस्रोचाहिँ यौन धन्दा । मुख्य गरिकन यहाँका समस्याहरु यही हुन् भन्ने कुराहरु आए ।

आखिर यस्ता समस्या किन आए त भन्दा ‘ग्रोइङ अर्बान सेटलमेन’ भएका यस्ता वस्तीहरुमा हामीले हेर्‍यौं भने यही किसिमका प्रवृत्तिहरु देखिन्छन् ।
यो पनि पढ्नुहोस इटहरीले कति मान्छे थाम्न सक्ला ?

इटहरीमा अर्को विशेषता कहाँनेर जोडिन्छ भने योचाहिँ खासगरी पूर्वी नेपालको महत्वपूर्ण हब, अर्थात नाका हो । यसलाई हामीले सामरिक महत्वको दृष्टिकोणले पनि हेर्नुपर्ने हुन्छ । यहाँबाट पूर्वी नेपालको चाहे इलाम झापा जाने होस्, बिराटनगर जाने होस् वा संखुवासभा, भोजपुर जाने होस्, योचाहिँ महत्वपूर्ण नाका हो । यो ठाउँ नभइकन मानिसहरु जहाँबाट पनि आउने–जाने अवस्था छैन ।

त्यसपछि इटहरीको अर्को विशिष्ट अवस्था के छ भने यहाँ सुकुम्बासीहरुको अत्यधीक घनत्व छ । रिजाल टासीलगायत वडा नम्बर ५ मा हेर्‍यौं भने अधिकांश मानिसहरु सुकुम्बासी छन् । अरु वडामा पनि सुकुम्बासीको बाहुल्य छ । यी कारणहरुले गर्दा पनि हामीले यहाँ त्यो किसिमका अपराधहरु देख्छौं ।

विगतमा के थियो, मलाई थाहा छैन, तर भनिएजस्तो विकराल नै अवस्था चाहिँ होइन । तर, अहिले अलिकति बढ्दै गएको भनेको चाहिँ अर्कैखालको अपराध छ ।

कस्तो खालको अपराध ?

त्यो भनेको आर्थिक अपराध हो । ग्रोइङ सेटलमेन भएको हुनाले इटहरीमा आर्थिक गतिविधि १५/२० वर्षको तुलनामा ह्वात्तै बढेर गएको छ । यो अवस्था हुँदाखेरि पैसा फिर्ता गरेन भन्नेखालका बैंकिङ कसुरसम्बन्धी धेरै उजुरीहरु आउन थालेका छन् ।

लगानी गरेको हुन्छ, त्यसका आधारमा पैसा फिर्ता नआएपछि ठगिएँ भन्दै आउनेहरु छन् । हामीले अहिलेसम्म हेरेकोमा गैर बैंकिङ कारोबारहरुमै बढी ठगी हुने गरेको पाइन्छ । मान्छेले थोरै दुःख गरेर १/२ लाख रुपैयाँ कमाउँछन् । अनि बढी ब्याजको लोभमा कसैलाई दिन्छन् । जसले पैसा लिएको हुन्छ, उसको बिजनेस भइञ्जेल ब्याज पनि तिर्छ, पछि साँवा नै तिर्दैन । त्यस्ता घटनाहरु देखिएका छन् इटहरीमा ।

यहाँको अपराधको नयाँ एस्क्प्लोर चाहिँ हामीले के गर्‍यौं भने नेटवर्किङ । नेटवर्किङको माध्यमबाट पनि ठगिनेहरु इटहरीमा धेरै देखिए ।

जग्गासम्बन्धी विवादचाहिँ कत्तिको छन् ?

जग्गा किचोलोको विषय प्रहरीको अधिकारक्षेत्रभित्र नपर्ने भएको हुनाले हामीकहाँ आउँदैन । तर, इटहरीमा यस्तो समस्या पनि प्रशस्तै छ । हामीकहाँ पनि त्यस्ता केसहरु आइरहेका हुन्छन् । मैले एउटा केस कस्तो देखें भने जग्गा एउटाका नाममा छ, तर भोगचलन चाहिँ अर्कैले गरिरहेको छ । घर–सर नै बनाएर बसेको छ । जग्गावाला मान्छे आएर मेरो जग्गा खोई भन्दाखेरि अरु नै बसिरहेको अवस्था थुप्रै छन् । तर, योचाहिँ अहिले अदालत, उपमहानगरपालिका अथवा वडा कार्यालयहरुले हेर्ने भएकाले हामीले शान्ति सुरक्षाकै विषय आयो भने हेर्छौं, अन्यथा यहाँ आउनेलाई कानूनी सल्लाह दिएर उपमहानगरपालिकातिरै पठाइदिने गरेका छौं ।

स्थानीय तहमा कुन मुद्दा प्रहरीले हेर्ने र कुनचाहिँ जनप्रतिनिधिले हेर्ने भन्ने विषयमा दुविधा हुने गरेको छ कि छैन ?

हामीकहाँ समन्वयको समस्या छैन । कतिपय मानिसहरु वडाले अथवा उपमहानगरपालिकाको न्यायिक समितिले हेर्नुपर्ने मुद्दाहरु लिएर यहाँ आउनुहुन्छ । अनि हामी त्यसको कानूनी प्रावधान बताएर उतै पठाइदिन्छौं । कतिपय बेलामा प्रहरीकहाँ आउनुपर्ने मुद्दा लिएर मानिसहरु न्यायिक समितिमा पुग्नुहुन्छ । उहाँहरुले पनि सम्झाएर प्रहरी कार्यालयमा पठाइदिनुहुन्छ । त्यसैगरी न्यायिक समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने सन्दर्भमा पनि हामीले समन्वय गरिरहेकै छौं । यसमा कुनै समस्या छैन ।

तपाई नेपाल सरकारको सुरक्षा अधिकारी हुनुहुन्छ । नेपालको पूर्व–पश्चिम राजमार्गमा इटहरीमा जस्तै तीव्ररुपमा शहरीकरण बढिरहेको छ । यस्ता नयाँ बन्दै गरेका शहरहरुमा अब सरकारले के गर्नुपर्छ ? प्रहरीको संख्या थप्नुपर्छ या अरु कुनै सुरक्षाका उपायहरु अवलम्वन गर्न जरुरी छ ? यसमा तपाईको सुझाव के छ ?

मेरो बुझाइमा भन्नुहुन्छ भने सेक्युरिटी भन्ने वित्तिकै प्रहरीको संख्या मात्रै होइन । संख्या पनि हो, तर मात्रै चाहिँ होइन । सुरक्षा भनेको एउटा अवधारणा हो, यसलाई मानिसहरुले आत्मसात गर्न सक्नुपर्छ । अनुभव गर्न सक्नुपर्छ ।

जस्तो– म इटहरीमा आएपछि भएका अन्तरक्रियाहरुमा कस्ता प्रतिक्रिया आउने गरेका छन् भने इटहरी हिजोको जस्तो पूर्णरुपमा असुरक्षित र डरलाग्दो छैन । इटहरी सुरक्षित हुँदै गएको छ भन्ने सुनिएको छ । यसअघि हामीले यहाँ एकै दिनमा ३५ वटा होटलसम्म छापा मारेको र मुद्दा चलाएको रेकर्ड छ ।

तपाईले भनेको जस्तो यस्ता उदीयमान शहरहरुमा के गर्ने भन्दाखेरि हामीसँग तीनवटा एप्रोच हुन्छन्– एउटा प्रिभेन्टिभ एप्रोच (निषेधात्मक दृष्टिकोण) हो । यसका लागि अपराधको रोकथामका के–के उपायहरु हुन सक्छन्, त्यो गर्नुपर्छ । समुदायसँग सहकार्य गर्ने, स्थानीय सरकारहरुसँग सहकार्य गर्ने, पेट्रोलिङहरु बढाउने । सूचना संकलनका कामहरु गर्ने जस्ता रोकथाममा तरिकाहरु अपनाउनुपर्ने हुन्छ ।

दोस्रो भनेको एक्टिभ एप्रोच (सक्रियता) अर्थात ल इन्फोर्समेन्ट अर्थात कानून लागू गर्ने नै हो । कसैले गैरकानूनी काम गर्छ भने उसलाई कानूनको दायरामा ल्याउने । त्यो दायरामा ल्याउनलाई गर्नुपर्ने जेजे हुन्छ, प्रभाव र दबावमा नपरिकन हामीले काम गर्नुपर्छ । यसमा हाम्रो व्यवसायिक विश्वसनीयताको पनि कुरा हुन्छ । टेक्निकल्ली पनि व्यवस्थायिक विश्वसनीयता देखाउनुपर्छ ।

र, तेस्रो भनेको चाहिँ अभिमुखीकरण एवं जनचेतनामूलक कार्यक्रम हो । हामीकहाँ अहिले पनि हेर्‍यौं भने थारु बस्तीहरुमा जाँदाखेरि वालविवाह समस्याको रुपमा रहेको छ ।

हामीकहाँ कतिसम्म देखिएको छ भने ११/१२ वर्षको बालक पनि यौन हिंसा पीडिकका रुपमा देखिएका छन् । जस्तो– लागूऔषध खान थालिसकेको अवस्थामा हामी देख्छौं, त्यसको सुरुवात चाहिँ त्योभन्दा धेरै पहिला भइसकेको हुँदोरहेछ । १२ वर्षको उमेरदेखि नै उसले चुरोट खान सुरु गर्छ । यस्ता किसिमका कुराहरुमा जागरणको खाँचो छ ।

यौनजन्य हिंसाका घटनाहरुमा पनि के भयो भने मलाई यौन हिंसा हुन्छ भन्ने कुराहरु नै कतिपयलाई थाहा छैन । यो कुरा थाहा पायो भने उसले यौन हिंसाबारे जानकारी पाएर प्रतिकार गर्न वा रिपोर्ट गर्न सक्छ ।

यहाँले भन्नुभयो कि १०/१२ वर्षकै उमेरका यौनपीडक भेटिएका छन् । हालसालै काठमाडौंमा २ कक्षामा पढ्ने बालकले प्रेमपत्र लेखेर आत्महत्या गरेको समाचार पनि आएको थियो । हाम्रो समाजमा यस्तो किन भइरहेको छ ? यस्तो प्रश्न यौन मनोविज्ञलाई सोध्ने हो कि प्रहरीलाई सोध्दा हुन्छ ?

यसमा रिसर्चचाहिँ गर्नुपर्छ । अहिले यस्तै हो भनेर ठ्याक्कै भन्ने हो भने बढ्ता जान्ने भएको जस्तो हुन्छ । तर, मैले हेर्दाखेरि यसमा दुई तीन वटा कुराहरु देख्छु–

एउटा कारण के हो भने इन्टरनेटमा सहज पहुँच । अहिले इन्टरनेटमा यति सहज पहुँच छ कि जान्नुपर्ने कुरा, नजान्नुपर्ने कुरा र पछि जान्दा पनि हुने कुराहरु परिपक्व नहुँदै मानिसको पहुँचमा पुग्ने गरेका छन् ।

अहिले पनि म इटहरीमा राति गस्तीमा हिँड्दा के देख्छु भने खासगरी टीनएजका मान्छेहरु ११/१२ बजे राति घर बाहिर ठिंग उभिएर मोबाइल चलाइरहेका भेटिन्छन् ।

त्यतिमात्रै होइन, उसको घरमा गयो भने पारिवारिक अन्तर्घुलन, सामाजिक अन्तरघुलन नै छैन । सबैजना आ–आफ्नो मोबाइलमा व्यस्त छन् । यसले गर्दा परिवारभित्र कुनै अपनत्व छैन । त्यस्तो वातावरण नै छैन । यस्तो लाग्छ, मान्छे बस्नचाहिँ परिवार वा समाजमै बसेको छ, तर एक्लो छ ।
यो पनि पढ्नुहोस ‘करोडले पुग्दैन, इटहरीलाई अर्बौं चाहिन्छ’

एक्लो भइसकेपछि व्यक्तिको सोचाइलाई केले ड्राइभ गर्छ ? यस्तो भएकाले गर्दा मानिसहरुमा समस्या आएको हुन सक्छ । तर, यो चाहिँ मेरो एउटा अनुमान हो । यसमा त रिसर्च नै गर्नुपर्ने आवश्यकता देखेको छु मैले ।

अर्को कुरा, मैले अघि पनि भनें, इटहरीजस्तो अव्यवस्थित बसोबास भएका शहरहरुमा सबैलाई कामको आवश्यकता हुन्छ । सबैलाई रोजगारी चाहिएको छ । पैसा चाहिएको छ । राम्रो घर चाहिएको छ । गाडी चाहिएको छ । र, यसका लागि उनीहरु दौडधूप गरिरहेका हुन्छन् । त्यो दौडधूपका बेलामा उनीहरुले परिवारलाई समय दिन सकिरहेका छैनन् । परिवार कता जाँदैछ, थाहै छैन ।

त्यसैगरी कतिपय अपराधहरु चेतनाको अभावले हुने गरेका छन् । जस्तो– होलीका बेलामा भाङ खानैपर्ने भन्ने भ्रम छ । शिवरात्रीमा गाँजा खानैपर्ने भन्ने छ । यसो गर्‍यो भने त बच्चाले पनि सिकिहाल्छ नि । यस्तै यस्तै थुप्रै कारणहरुले गर्दा समाजमा अपराधका घटनाहरु बढ्ने गरेका छन् ।

डीसपी साहेबको कार्यकक्ष निकै साँघुरो देखिन्छ, यस इलाका प्रहरी कार्यालयको भौतिक पूर्वाधारको अवस्था कस्तो रहेको छ ?

इटहरी इप्रकाको यो भवन ०३२ सालमा बनेको हो । त्यतिखेर सहायक निरीक्षक हुँदाखेरि लगभग ७/८ जना दरबन्दी हुँदाखेरिको कार्यालय हो यो । अहिले यहाँ लगभग १६५ जनाको दरबन्दी छ ।

असई इञ्चार्ज हुँदाखेरिको अफिसमा अहिले कार्यालय प्रमुख डीएसपी छन् । डीएसपी कार्यालय प्रमुख मात्रै छैनन्, अहिले यो कार्यालय आफैंले मुद्दा चलाउँछ । अपराध अनुसन्धान सबै गर्छ । यसका लागि नेपाल प्रहरीको आफ्नै मापदण्ड र पूर्वाधार आवश्यक पर्छ । कष्टडी हुनुपर्‍यो । सीन अफ क्राइमलाई एनालाइसिस गर्ने रुम छुट्टै हुनुपर्‍यो । डकुमेन्टेसनको रुम हुनुपर्‍यो । इन्भेस्टिगेटिम इन्टरभ्युको रुम हुनुपर्‍यो । प्रशासन लगायत अरु विभिन्न हुनुपर्‍यो ।

परिवर्तित सन्दर्भ अनुसार अरु पनि प्रविधिहरुको प्रयोग गर्नुपर्ने हुन्छ । सीसीटीभीहरुको कन्ट्रोल रुम चाहियो । यो हिसाबले हेर्दाखेरि यहाँको पूर्वाधार एकदमै अपुरो छ ।


यो पूर्वाधारको इन्तिजाम कसले गरिदिन्छ त ?

अहिले स्थानीय सरकार पनि बनिसकेको अवस्थामा हामीले पूर्वाधार प्राप्तिको प्रयासचाहिँ गरिराखेका छौं । हामीलाई मुख्य पूर्वाधारको आवश्यकता भनेको जमीन हो । अहिले इलाका प्रहरी कार्यालय इटहरीका लागि हामी जमीनको खोजी गरिराखेका छौं ।

पुलिसको जमिन स्ट्राटेजिक लोकेसनमा मात्रै काम लाग्छ । इलाका प्रहरी कार्यालय इटहरीलाई बेलबारीमा राखेर हुँदैन । अर्थात् तरहरातिर राखौं भनेर पनि हुँदैन, त्यसको स्ट्राटेजिक लोकेसन नै हुन्छ । किनभने त्यहाँ नागरिकको सहज पहुँच चाहियो । प्रहरीको मोबिलाइजेसन पनि सहज हुने ठाउँमा चाहियो ।

त्यसकारण हामीले यसबारेमा इटहरी उपमहानगरपालिकासँग कुराकानी गरिरहेका छौं । जग्गा खोज्ने प्रयास भइरहेको छ । हामीले खोज्ने भनेको सामान्यतया सरकारी जग्गा, सार्वजनिक जग्गामध्येबाटै हो । मलाई लाग्छ, हामीले जग्गा प्राप्त गर्न सक्यौं भने त्यसैमा पूर्वाधार बनाउनुपर्ने हुन्छ ।

अहिले भैरहेको यही ठाउँलाई विस्तार गर्न मिल्दैन ?

यहाँ त जमिन नै पुग्दैन । यही भएको जमीन पनि ६ लेनको सडक बन्ने भनिएको छ, त्यसमा अलिकति जमीन जान्छ । बाँकी रहेको जमीन इलाका प्रहरी कार्यालयका लागि पर्याप्त हुँदैन । जस्तै केही नभए पनि हामीले दुई/तीनवटा ट्रकहरु समातेर राख्नुपर्‍यो भने पनि यहाँ ठाउँ छैन । हामीकहाँ विभिन्न विषयमा छलफल गर्न डेढ/दुईसय मानिसहरु आइरहेका हुन्छन्, त्यसैले हामीलाई पर्याप्त ठाउँ चाहिन्छ ।

डीएसपी साहेब, तपाईले यहाँ आउँदै गर्दा इटहरीबासीमा रोचक एवं रमाइलो पक्ष के पाउनुभयो ?

एउटा महत्वपूर्णचाहिँ मैले देखेको के हो भने नेपालका शहरहरुलाई सामान्यीकरण गरेर हेर्‍यौं भने इटहरीमा शिक्षित मानिसहरुको बाहुल्य देखें मैले । यसो भन्नुको अर्थ के हो भने यो चिज यस्तो हो भनेर भनिसकेपछि यहाँका मान्छेहरुले आत्मसात गर्नुहुँदोरहेछ ।

त्यो कुरालाई स्वीकार गर्न नसक्नेले तर्क दिने ! यहाँ मैले यो किसिमको वातावरण पाएँ । यस्तो वातावरण हुँदाखेरि के हुन्छ भने कतिपय कुरामा हामीले पनि तयारी गर्नुपर्ने हुन्छ । मैले त्यत्तिकै बोल्दिएर मात्र त भएन नि त । हामीले यस्तो हुन्छ भनेपछि किन हुन्छ भनेर प्रश्न गर्न पाउनु नागरिकको अधिकार हो । त्यो यसकारणले हुन्छ भनेर भन्नसक्ने हुनु मेरो तयारीको विषय हो । यो किसिमको वातावरण हुँदाखेरि हामीलाई पनि अन्तरक्रियाहरु गर्नका लागि र ‘अवायरनेस’ गर्नका लागि सहज भएको छ ।

अर्को महत्वपूर्ण के छ भने कम्युनिटीलाई हामी यस्तो गर्दैछौं भनेपछि उहाँहरु आइदिनुहुन्छ । हामीसँग एक्सेसको समस्या छैन । योचाहिँ मलाई इटहरीको राम्रो पक्ष लाग्यो ।

इटहरीबासीलाई अनलाइनखबरमार्फत के सन्देश दिन चाहनुहुन्छ ?

हामीले अहिले राष्ट्रियरुपमै ‘समुदाय–प्रहरी साझेदारी’ भनेर अभियान चलाइरहेका छौं । यही सन्दर्भमा हामी इटहरीका २० वटै वटामा समितिहरु बनाएर प्रवद्र्धनात्मक अभिमुखीकरण कार्यक्रममा लागेका छौं । यससन्दर्भमा म इटहरीबासीलाई दुईवटा कुरा आग्रह गर्न चाहन्छु–

मैले प्रहरीमा तीनवटा कुरा हुनुपर्छ भन्ने गरेको छु । एउटाचाहिँ सहयोगको कुरा । हामीलाई सहयोग गर्नुपर्‍यो, अनिमात्रै हामीले सफलता प्राप्त गर्न सक्छौं । दोस्रो, सहयोगले मात्रै पुग्दैन, सहकार्य पनि गर्नुपर्‍यो ।

र, तेस्रो, खबरदारीको कुरा । हामी पनि यही समाजबाट आएको हुनाले हामीमा पनि कमजोरीहरु हुन सक्छन् । यस्तोमा तिमीहरुले गरेका यी चिजहरु चाहिँ सच्याउनुपर्छ है भनेर समाजले भन्दिनुपर्छ हामीलाई ।

हामीले एप्रोच बदल्ने हो । हिजोको जस्तो ‘बाबु भात खाइनस् भने पुलिस बोलाइदिन्छु’ भन्ने अवस्था हुनुभएन । बाबुआमाले छोराछोरीलाई हप्काए भने ‘म पुलिसलाई खबर गर्छु’ भनेर बच्चाले भन्नुपर्‍यो । त्यो अवस्था आओस् भन्ने हाम्रो चाहना हो ।

यसका लागि हामीले समुदायसँग मिलेर काम गर्ने हो । समुदायले हामीलाई यसमा एक्सेस पनि देओस् ।

तस्वीरहरु: ध्रुव भट्टराई/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment